प्रधानमन्त्रीको ललिपपमा नभुली तनहूँबाट पौडेल युगको अन्त्य गर्नु जरुरी !

  • ख-
  • ख+

रमेश पौडेल । तनहूँ जिल्ला कांग्रेस नेता धेरै भएको जिल्लाको रुपमा देशभर परिचित छ । पंचायतकालमा श्रीभद्र शर्मा, गोर्वद्धन शर्मा, तारापति भट्टराई, पदमबहादुर आले, बिष्णुविर आलेको राज र नाम चलेको थियो भने प्रजातन्त्र र लोकतन्त्र आएपश्चात रामचन्द्र पौडेल, गोविन्दराज जोशी, अमरराज कैनी, शंकर भण्डारी, रामचन्द्र पोखरेल, गोविन्द भट्टराई, प्रदिप पौडेल, धुव्र वाग्ले, बैकुण्ठ न्यौपाने, रघु पौडेलको राज र नाम चलेको थियो र ति मध्ये धेरैको आजपर्यन्त पनि छ । प्रजातन्त्र प्राप्तिपछि माथि उल्लेखित नामहरुमा गोविन्द भट्टराई, प्रदिप पौडेल, रघु पौडेल बाहेक लगभग लगभग सबैजनाले धेरथोर सत्ताको राप तापको लाभ लिईरहनुुभएको छ ।
तनहूँबाट सबैभन्दा बढि सत्ताको राप ताप लिने नेताको लिनुपर्दा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नाम आउदछ । २०४८ देखि हालसम्म भएका निर्वाचनहरुमा २०७४ को पराजय बाहेक प्रत्येकपल्ट तनहूँवासीले उहाँलाई विजयी पनि बनाईरहेका छन् ।
नैतिकवान् , चरित्रवान् पौडेल ”गाउँमा नै बसुँ बसुँ बनाउछु” भन्नुहुन्छ, कृषि क्रान्तिको कुरा गर्नुहुन्छ तापनि ३०, ३२ बर्षको अवधिका उहाँका काम कारवाही र व्यवहार अनि जिल्लाको स्थिति हेर्ने हो भने स्वभाविकरुपमा हुनुपर्ने विकास निर्माण र बाढि पहिरो जान सजिलो बनाउने सडकका संजालहरुले जिल्ला जेलिनु बाहेक खासै काम भएको देखिदैन । त्यत्रो राष्ट्रियस्तरमा पहिचान बनाएको नेताको जिल्लामा न कुनै एउटा गतिलो सरकारी अस्पताल छ न कुनै सरकारी क्याम्पस स्थापनाका लागि पौडेलले पहल नै गर्नुभएको छ । ”हुदाँखादाको सामुदायिक क्याम्पसलाई सरकारी बनाउँ जिल्लावासीलाई सस्तो र सर्वसुलभदरमा शिक्षा दिउँ” भन्दा च्याँखे थाप्दै ‘‘क्याम्पसको अध्यक्ष फलानोलाई बनाउनै पर्छ” भन्दै २, ४ दिन दमौली बजारमा बसेर दवाव दिनुभन्दा उहाँले खासै योगदान दिन चाहानुभएको छैन । वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको पहलमा भएको देखिने काम भनेको दमौली बजारबाट हेर्दा पारिपट्टि देखिने हाईड्रो पावर रहेको छ त्यो पनि कसैको घरभाडा लगाउन, आफन्त तथा कार्यकर्ता भर्ति केन्द्रको रुपमा परिणत भएको कुरामा कसैको दुईमत रहेको छैन । यस्ले सम्पूर्ण तनहूँवासीको जीवनमा के कस्तो परिवर्तन ल्याउछ त्यो हेर्नको लागि त केहि समय पर्खनु नै पर्दछ ।
वरिष्ठ नेता पौडेलले मंसिर ४ गतेको लागि निर्वान मिति घोषणा भएपश्चात शंकर, गोविन्द, प्रदिप, धुर्वलाई ”ल बाबु हो म अभिभावक बन्छु अब तनहूँमा कांग्रेस कसरी जोगाउनुपर्छ ? जिल्लाको बिकास कस्ले गर्न सक्छौ अगाडि बढ” भन्नुपर्नेमा आफै तम्सनुले तमाम तनहूँवासीको मन खिन्न भएको ग्राउण्ड रियालिटी रहेकोछ । प्रतिनिधि सभा सदस्यको लागि टिकट बाँड्ने क्रममा देशभर जम्मा जम्मी आफ्ना तर्फबाट ३ जनालाई टिकट दिन सफल नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेल एक कदम अगाडि बढेर मतदातासग ”म प्रधानमन्त्री बन्छु” भनि ललिपप फ्याँक्दै तनहूँवासीको भोट फकाउने बाटोमा हिडिरहनुभएको छ । तालु नै खुईले पनि, कपाल नै पुरै सेतो भएपनि ”पौडेलदाई युवालाई छोडिदिनुस् न म हुन्छु उमेदवार ‘ भनेर रोईकराई गर्दा पनि नछोडेर ७९ बर्षको भए भन्दै ८२ बर्षको उमेरमा मत माग्दै वरिष्ठ नेता पौडेल घरदैलो चाहरिरहनुभएको छ ।

नेपाली कांग्रेसका अनुयायीहरुले पनि तनहूँबाट शंकर भण्डारी, रामचन्द्र पोखरेल, गोविन्द भट्टराई, प्रदिप पौडेल, धुर्व वाग्ले , बैकुण्ठ न्यौपाने, रघु पौडेल , लक्ष्मी आचार्य युगको उदय गराउनका लागि पनि पौडेलदाई विश्राम दिन जरुरी रहेको छ किनकी ”पुरानो पात नझरिकन नयाँपात पलाउदैन” अनि ”रुखको छहारीमा बस्दा एक दुई दर्को पानी त ओत्न सक्छ तर धेरै बसियो भने सेप लाग्न सक्ने सम्भावना पनि उत्तिकै रहन्छ” । शंकर भण्डारी, रामचन्द्र पोखरेल, गोविन्द भट्टराई, प्रदिप पौडेल, धुर्व वाग्ले , बैकुण्ठ न्यौपाने, रघु पौडेल , लक्ष्मी आचार्य मध्येका अधिकांश नेताहरु सेप लागेर सप्रिन नपाएको जगजाहेर छ त्यसैले तनहूँबाट पौडेल युगको अन्त्य गराउनको लागि सबैजना लाग्नुपर्ने कुरा तमाम कांग्रेसी शुभचिन्तकहरुले बुझ्न जरुरी रहेको छ ।

(लेखकको निजी विचार)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्