प्रिय पाठक,
आज देश सुनौलो मोडमा उभिएको छ र अगाडि बढ्ने प्रयास गरिरहेको छ। हामी सबैले यस क्षणको साक्षी बन्ने अद्भुत अवसर पाइरहेका छौँ।
तपाईँका नातिनातिनी, छोराछोरी, भाइबहिनीले गरेको यो परिवर्तनलाई सबैले अपनत्व लिनुभएको छ भन्ने आशा गरेको छु। आज मलाई नेपाली
हुनमा झन् धेरै गौरव लागेको छ। देश समुन्नत हुनुपर्छ र सबैले विकासको समान अवसर पाउनुपर्छ भन्ने ठानेका सबै नेपालीलाई मलाई जस्तै गौरव लागेको हुनुपर्छ।
नागरिकता बनाउन प्रशासन कार्यालय जाँदा होस् या न्याय खोज्न प्रहरीकहाँ, करारको सरकारी जागिर खान आवेदन दिँदा होस् या विदेश जान
अध्यागमनमा लाइन लाग्दा, कि त घुस बुझाउन सक्नुपर्यो या त कुनै नेताको झोलेको चाकरी गरेर रिझाउन पर्यो। देशका सार्वजनिक सम्पत्ति बेच्ने नेता, जनतालाई शरणार्थी बनाएर विदेश पठाउन कमिसन खाने नेता, तस्कर र गुण्डा पाल्ने नेता। बर्बाद भइसकेको थियो देश। कुनै न कुनै दलको फेता नसमाउँदासम्म मात्र नेपाली भएर स्वतन्त्र भएर सास फेर्न सक्ने स्थिति पनि समाप्त भइसकेको थियो।
सरकारी संस्थाहरू त परको कुरा, सेवाभावले स्थापित स्थानीय संस्था जस्तै विद्यालयरक्याम्पसको व्यवस्थापन समिति, खानेपानीरवनको उपभोक्ता समिति, भवनरसडक निर्माण समिति, रेडक्रसको समिति आदि सबैमा दलभित्रका गुटहरू भिड्ने र आफ्नो कार्यकर्ता व्यवस्थापन गर्ने थलो बनिसकेका थिए। सांसदरमेयर जस्ता जनप्रतिनिधि नै सामाजिक संस्थाको निर्वाचनमा आफ्नो गुटको प्यानलको सूची बोकेर खुलेआम लाइन लाग्ने गरेको घिनलाग्दो दृश्य सामान्य बन्न थालिसकेको थियो। नेताले अवसर र व्यवस्थापनको लौरो देखाएर जनतालाई तर्साइरहेका थिए। कर्मचारी दलका, पत्रकार नेताका, शिक्षक गुटका.. के चाहिँ बाँकी थियो ररु लोकतन्त्र र निर्वाचन बस् एक कर्मकाण्डमा परिणत भइसकेको थियो।
यस्तो स्थापित राजनीतिक संस्कारको फ्रस्टेसनबाट देश नै प्रताडित थियो। सबैलाई उकुसमुकुस भइरहेको थियो। यी विकृत दलका नेता र
कार्यकर्ताबाट डराएर बोल्न सक्ने स्थितिमा कोही थिएन। तर परिपक्व भनिएको पुस्ताले गर्न नसकेको काम Gen-Z पुस्ताले गरिदिएको छ। स्कुल र कलेज पढ्ने भाइबहिनीहरूले सुनौलो क्रान्ति गरिदिएका छन्। भदौ २३ र २४ मा स्वतःस्फूर्त जागेको नयाँ पुस्ताले गरेको परिवर्तनले नेपालको
राजनीतिलाई नयाँ बाटोमा डोहोर्याएको छ। नयाँ नेपाल निर्माणको आशा जगाएको छ। यो लेखमा केही मनका कुरा गरौँ, केही सिद्धान्त र दर्शनका कुरा गरौँ र भविष्यको विवेचना गरौँ भनेर आएको छु।
के यो परिवर्तनले लोकतन्त्रलाई खतरामा पार्छ ?
लोकतन्त्र भनेको अभिव्यक्ति र आवागमनको स्वतन्त्रता मात्र होइन, यो त मानिसले निर्भिक भएर समान हैसियतले आफ्नो सामाजिक र आर्थिक जीवन बाँच्न र उन्नत बनाउन पाउने उच्च कोटिको राज्यव्यवस्था हो। आफ्नो आम्दानीको केही हिस्सा करको रूपमा सरकारलाई बुझाएर त्यसलाई देशको सुरक्षा, विकास र उन्नतिमा लगाउने र सबैलाई अवसरको निर्माण गर्ने उत्कृष्ट व्यवस्था हो। आवधिक निर्वाचनबाट चुनिएका जनप्रतिनिधि र तिनीहरूमा निहित निष्पक्षता, निस्वार्थता र सेवाभाव लोकतन्त्रका आधारस्तम्भ हुन्। तर जब जनताले समान विकासका लागि डेलिगेट गरेको सत्तालाई जनप्रतिनिधिले आफ्नो शक्तिको भोक र सम्पत्तिको प्यास मेटाउने यन्त्रको रूपमा प्रयोग गर्न थाल्छन्, तब लोकतन्त्र नाम मात्रमा सीमित हुन पुग्छ। यस्तो लोकतन्त्रलाई मैले कर्मकाण्डी लोकतन्त्र भन्ने गरेको छु।
कर्मकाण्डी परम्पराले मानिसको ब्रेन वास गर्छ। निस्कनै नसक्ने चक्रमा फसाउँछ। यसबाट निस्किन असम्भव जस्तै हुन्छ। यस्तो कर्मकाण्ड उचित ढङ्गले तोडिएको उदाहरण विश्व इतिहासमा थिएन। राजामहाराजको निरंकुशताको अन्त्य गरेर नयाँ सुरुवात गरेको प्रसिद्ध उदाहरणका रूपमा फ्रान्सेली क्रान्तिलाई लिइन्छ। यस्तै हामीले ०६२/०६३ मै गर्यौँ। तर तानाशाहको अन्त्यपछि तानाशाही चरित्र भएका जनप्रतिनिधि र समाजमा गढेको तिनको मोनोपोली तोड्ने पहिलो उदाहरण नेपाल बनेको छ। केही समयअघि भएको बंगलादेशको क्रान्ति र हाम्रोमा सैद्धान्तिक भिन्नता छ। बंगलादेशमा एक दल र नेतालाई विस्थापित गरेर बनेको सरकारमा पुरानै तत्कालीन प्रतिपक्षको छायाँ छ। रिभेन्ज पोलिटिक्स चलिरहेको छ। नेताहरूको हत्या पनि भएको छ। तर हाम्रोमा एक जना नेताको पनि ज्यान गएन। आक्रमण गरे पनि आन्दोलनकारीले तिनीहरूलाई सुरक्षाबलको जिम्मा लगाएर महान् नैतिकताको प्रदर्शन गरे। यस्तो क्रान्ति नेपालीले मात्र गर्न सक्छन्। त्यसैले मलाई झन् गर्व लागिरहेको छ। आन्दोलनकारीले ससम्मान पूर्वप्रधानन्यायाधीशलाई अन्तरिम सरकारको जिम्मा लगाए। अनुभवी, कानुनका विज्ञ, हक्की तर व्यवहारिक पात्रलाई जिम्मा लगाए। त्यो ठूलो परिपक्वताको उदाहरण हो। नयाँ पुस्ता शान्त, स्थिर र समृद्ध देश चाहन्छ, यो सत्ता र शक्तिको भोको छैन भन्ने उदाहरण हो। यो अनुकरणीय छ। यसले विश्व इतिहासमै लोकतन्त्रको नयाँ परिभाषा लेखिदिएको छ। लोकतन्त्रलाई अपडेट गरिदिएको छ।

के पुराना दलहरूलाई निषेध गर्नुपर्छ ?
यो अपडेटेड लोकतन्त्र हो। जनताले आफ्नो मतबाट विचार र नेतृत्व छान्ने वा विस्थापित गर्ने अधिकार राख्छन्। हिजो भएका बेथिति र भ्रष्टाचारको निष्पक्ष छानबिन हुनुपर्छ। दोषीलाई कडा कारबाही हुनुपर्छ। तर निषेध कसैलाई गर्नु हुँदैन। हालको अवस्थामा यिनीहरूको जनमत र औचित्य समाप्त भइसकेको छ। तर लोकतन्त्र इन्क्लुसिभ हुन्छ। यसले कसैलाई निषेध गर्दैन। अब जागिसकेका जनताले यिनीहरूलाई स्वीकार गर्ने सम्भावना छैन, तर पनि आन्दोलन गर्ने पुस्ताले सबैलाई ढोका खुला गरेर अपडेटेड लोकतन्त्रको मर्म स्पष्ट पार्नुपर्छ।
तर यसो भनिरहँदा पुराना दलका सक्रिय कार्यकर्ताहरूले बुझून्, यदि प्रतिक्रान्तिको प्रयास गर्यौ भने देशले र इतिहासले क्षमा गर्ने छैन। दशकौँसम्म राज्य दोहन गरेको भन्दा पनि ठूलो महाभूल हुनेछ प्रतिक्रान्ति। स्कुले केटाकेटीसँग ईख राख्ने होइन। अब झोला बिसाएर र सही मार्गमा आउँदा राम्रोहुन्छ। मेयर हुने मेरो पालो, वडाध्यक्ष हुने मेरो पालो, सांसद हुने मेरो पालो भनेर बसेकाहरूको दशकौँको चाकरी निष्फल र निष्परिणाम बनेको छ। तिनीहरूमा ठूलो फ्रस्टेसन आउने वाला छ। यही छ प्रतिक्रान्तिको खतरा।
यस्ता पात्रहरूलाई सबैले बेलैमा चिनेर सामाजिक रूपमा सम्झाइ बुझाइ गर्न आवश्यक छ। यो क्रान्तिको मर्म र आवश्यकताबारे शिक्षित गर्नु आवश्यक छ। हिजो राजतन्त्र ढलेपछि दरबारको र गद्दीको निगाहमा पालिएकाहरूको रजगज जसरी समाप्त भएको थियो र त्यसको फ्रस्टेसन आजसम्म पनि कतिपयले पोखिरहेका नै छन्। सुधारिन नसक्ने झोले प्रवृत्ति भएकाहरूको पनि अब यही हुने सम्भावना छ। तर सबैले तिनीहरूलाई सही बाटोमा ल्याउन सहयोग गरौँ। सुधारौँ। तिनीहरू पनि हाम्रै दाजुभाइ दिदीबहिनी हुन्।
कन्सपिरेसी, पुराना उपलब्धि र टेक्निकलिटी
ओलीले राजीनामा दिएपछि लामो समयसम्म सरकार गठन हुन नसक्दा धेरै होहल्ला मच्चियो। राजावादीहरू र झोला बिसाउन नसकेकाहरू
(प्रतिगमनकारी र प्रतिक्रान्तिकारी) ले धमिलो पानीमा माछा मार्ने प्रयास गरिरहे। यिनीहरूको तीन मुख्य बाटा थिए र छन्।
१. कन्सपिरेसी २. पुराना उपलब्धि ३. टेक्निकलिटी
राजा आउने भए, राष्ट्रपतिलाई सेनाले नजरबन्दमा राख्यो, देश पाकिस्तान बन्ने भयो, सेनाले मध्यरातमा कु गर्दैछ, जेन(जीको नेता भारतीय हो,
नेपालको परिवर्तनमा डिप स्टेट को हात छ, शुशिला मोदीको पपेट हो, भारतीय सेनाले कब्जा गर्ने भो, आदि आदि। सामाजिक सञ्जालमा यस्ता हौवा फैलाउने बर्गेल्ती छन्। पत्ताएर यस्तो कुरामा रमाउने र डर फैलाउने पनि धेरै छन्। तर सबैले बुझौँ, यस्ता हावा कुराको कुनै अर्थ हुँदैन। यी सबै निराशावादी प्रतिगमनकारी वा प्रतिक्रान्तिकारी हुन्। हिजो ०६२/०६३ को आन्दोलनमा पनि यस्ता हल्ला फैलाएर फाइदा उठाउन खोज्ने धेरै
थिए।तर याद राखौँ, यो परिवर्तनमा तपाईँ हामी सबैको, सबै पुस्ताको फ्रस्टेसन पनि समावेश छ। अपनत्व लिनुपर्छ सबैले। सरकारलाई सहयोग गरौँ। सचेत बनाईराखौँ। यसैमा देशको भलो हुन्छ।
संसद् विघटन गरेर परिवर्तन मास्न खोजे भन्ने पनि धेरै छन्। याद गर्नुहोस् त्यो यही संसद् होइन जसले पढ्दै नपढी बिल पास गरेको थियो। कर्मकाण्डी लोकतन्त्रका सांसदहरू पनि कर्मकाण्डी नै थिए। देउवारओलीरप्रचण्ड निवासमा जे निर्णय हुन्थ्यो, त्यही अनुमोदन गर्ने गर्थे। के त्यसले आजको जनताको सर्वोच्चता प्रतिनिधित्व गर्थ्योरु पक्कै गर्थेन। तर यसो भनिरहँदा जनताको असली संसद्को मानमर्दन गर्न खोजिएको होइन है। नेपाली जनताले अबको निर्वाचनमा असली प्रतिनिधि पठाउनेछन् जसले कुनै नेताको पदको स्वार्थ पूरा गर्न ह्विप लगाउने परम्पराको विपरीत स्वतन्त्र भएर काम गर्नेछन्।
यो हुनेछ अपडेटेड प्रतिनिधिसभा
कतिपयले संविधानको यो धारा त्यो धारा भन्दै हाइपर(-मेकानिकल कुरा गरिरहेका छन्। सबैले विचार गरौँ कि संविधान भनेको शब्द होइन, जनताको मर्म र मत हो। नयाँ पुस्ताले यो संविधानको निरन्तरता आवश्यक छ भनेका छन्। संविधानविद्हरूले पनि यसलाई सम्भव भनेका छन्। भोलि संशोधन गर्ने र परिमार्जन गर्ने काम उचित ढङ्गले विज्ञको रायमा देशको दीर्घकालीन हितलाई ध्यानमा राखेर भइहाल्छ। आन्दोलनको मर्म र जनताको आवाजभन्दा ठूलो केही हुँदैन। अदालतले पनि त्यसको अपमान गर्दैन।
सबैले यो परिवर्तनको सम्मान गरौँ। नेपालको इतिहासले नयाँ मोड लिएको यो युगान्तकारी समयमा दुई-चार शब्द देखाएर टेक्निकलिटीमा अल्झिनु भनेको संविधानलाई कमजोर बनाउनु हो। आजसम्म भएका जनआन्दोलनको मर्मलाई सम्मान गर्ने सबैले यो परिवर्तनलाई पनि आत्मसात् गरे भने मात्र संविधान मजबूत हुन्छ। मेकानिकल कुरा गरेर जीवन्त संविधानलाई निस्प्राण मेसिन जस्तो बनाउने दुस्प्रयास नगरौँ।
धन्यवादका पात्र
यो परिवर्तनलाई स्वीकार गरेर नयाँ सरकार गठन गरेकामा राष्ट्रपति पौडेल धन्यवादका पात्र हुन्। उनले यसलाई बाध्यताको रूपमा नलिएर
आत्मसात् गरे भने एक असल पात्रका रूपमा उनको नाम इतिहासमा सुनौलो अक्षरले लेखिनेछ। पुराना दल र बाँकी रहेका झोलेहरूले राष्ट्रपतिलाई ब्ल्याकमेल गर्न पक्कै खोज्नेछन्। नयाँ सरकार गठन गर्दाको समयमा जस्तै दलको होइन, देशको अभिभावक बनेर काम गरेमा राष्ट्रपतिको साथमा सारा नेपाली उभिनेछन्।
शक्तिको हिसाबले अस्थिरताको समयमा सेनाले धेरै गलत निर्णय गर्न सक्थ्यो। संसारका विभिन्न देशमा त्यो भएको पनि छ। तर नेपाली सेनाभित्र
आमजनता र लोकतन्त्र प्रतिको सम्मान देख्दा नेपाली हुनुमा थप गर्व लागेको छ। प्रधानसेनापति सिग्देलले आफूलाई एक महान पात्रका रूपमा
नेपालको इतिहासमा स्थापित गराएका छन्।
सबैभन्दा ठूलो धन्यवादको हकदार नयाँ पुस्ता हो। दशकौँदेखि व्याप्त राजनीतिक विकृति अन्त्य गर्न सफल भयो यो जेनेरेसन। साथै, यो आन्दोलनमा ज्यान गुमाएका महान् शहीदहरू प्रति हार्दिक श्रद्धाञ्जली। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना। तपाईंहरूको योगदानको धरातलमा नयाँ नेपाल निर्माण हुनेछ।
अबको बाटो
नेपालले समग्र विश्वलाई नै उन्नत क्रान्तिको उदाहरण प्रस्तुत गरेको छ। २१औँ शताब्दिको राजनीतिक भविष्यको स्वर सगरमाथाको देशबाट उठेको छ। यो हामी सबैका लागि गौरवको विषय हो। आन्दोलनको क्रममा नष्ट भएका संरचनाको पुनर्निर्माण, भ्रष्टाचारको छानबिन र दण्ड, संविधान संशोधन र निर्वाचनले नेपालको भविष्यको बाटो तय गर्नेछ। विषय विज्ञको समूह बनाएर अन्तरिम सरकारले यो सबै गरोस्।
जेन-जी पुस्ताले पनि अब आफ्नो नियमित अध्ययनमा फर्केर सरकारलाई खबरदारी गर्दै आफूलाई बनाउने बाटोमा लागून्। आफू बने मात्र देश बनाउन सकिन्छ। पहिलेका क्रान्तिपछि भएका गल्ती अब दोहोर्याउनु हुँदैन। अबको राजनीतिमा क्रान्तिमा गरेको योगदानको आधारमा पद लिने र दिने गर्नु हुँदैन। यसो गर्दा नयाँ क्रान्तिको आवश्यकताको बीउ रोपिन्छ। निर्वाचनपछि विज्ञ र क्षमतावान मानिसलाई देश चलाउन दिऊँ। युवा पुस्ता आफू विज्ञ बन्ने बाटोमा मेहनत गरौँ।एक नेपालीले अर्को नेपालीलाई माया गरौँ, सहयोग गरौँ। सरकारलाई निरन्तर खबरदारी गरिरहौँ। यो अपडेटेड लोकतन्त्रलाई उन्नत बनाऔँ।
जय देश !
(कैलाश पाण्डे, तनहुँ दमौली हाल नेदरल्याण्डमा मोलिकुलर बायोलोजी बिषयमा विद्यावारिधि गर्दै छन्।)








