दशैं आयो, गयो, तिहार आयो, फेरि सकियो। तर चाडपर्वले दिने उत्साह, रौनक र भिडभाड भने वर्षौँयता हराउँदै गएको स्पष्ट महसुस हुन थालेको छ। पहिलेकै गाउँ, पहिलेकै घर र पहिलेकै बाटो भए पनि आजको गाउँमा त्यस समयको जीवन्तता छैन। देउसीभैलो गाउने युवा छैनन्, पिङ खेल्ने भीड छैन, न त घरघरमा घुम्ने भेटघाटको रौनक। चाडपर्व आउँछ, तर त्यो पहिलेजस्तो अनुभूति आउँदैन। बसाइँसराई बढ्दै गएपछि गाउँ एक्लिँदै गएको छ र गाउँ एक्लिँदा चाडपर्व पनि सुनसान बन्दै गएको छ।
आज धेरै गाउँ हेर्दा बाहिरबाट ठीक देखिए पनि भित्र भने खालीपन छ। मानिस घटेपछि गाउँ केवल घर र बारीको जमात जस्तो लाग्दो रहेछ, समुदाय र संस्कारको धड्कन हराएको महसुस हुन्छ। खेतबारी बाँझिँदा केवल माटो मात्र रित्तिँदैन, संस्कृति पनि सुस्त हुन्छ। यही कारणले आजका चाडपर्वमा हाँसोभन्दा सम्झना बढी, भीडभन्दा सून्यता धेरै, र भेटघाटभन्दा दूरी ठूलो देखिन थालिएको छ।
अब प्रश्न यहीँ उठ्छ के यो अवस्था बदल्न सकिँदैन ? अवश्य सकिन्छ, तर सोच र व्यवहार दुवै बदलिनुपर्छ। देश संघीयतामा गएको लगभग आठ वर्ष भइसक्यो। अधिकार, स्रोत र जिम्मेवारी गाउँसम्म पुगेको भनिए पनि धेरै ठाउँमा वास्तविक परिवर्तनचाहिँ देखिएको छैन। जनताबाट अनुमोदित भएर जिम्मेवारीमा पुगेका प्रतिनिधिले आफ्नो गाउँ समुदायको पहिचान पहिल्याउन, स्पष्ट योजना बनाउन र प्राथमिकता सही ठाउँमा टेकाउन सकेको अवस्था कति ठाउँमा मात्र छ। रणनीति बिना बनाइने योजनाले विकासको रूप लिँदैन, केवल कागजमै टाँसिएर बस्छ।
वास्तवमा गाउँमा सम्भावनाको कमी छैन। खेती, जडिबुटी, पशुपालन, स्थानीय सीप, घरबास, संस्कृति र पर्यटन यी सबै क्षेत्रमा उज्यालो भविष्य देखिन्छ। तर सम्भावना कागजमा मात्र देखेर पुग्दैन, त्यसलाई व्यवहारमा उतार्ने कार्यकारी पदमा आसिन नेतृत्व र सक्रियता चाहिन्छ। जबसम्म वडाबाट उठेको आवाज स्थानीय तहको एजेन्डा बन्दै जनतासँगै अघि बढ्दैन, तबसम्म गाउँको रौनक फर्कने छैन।
सहर तातिँदै जाँदा गाउँ चिसिँदै जानु, कुनै समाजको सकारात्मक संकेत होइन। सहरले सबैलाई अटाउन सक्दैन र गाउँविनाको देश कल्पना गर्न सकिँदैन। त्यसैले गाउँ बचाउनु भनेको केवल भौतिक संरचना बचाउनु होइन संस्कार, पहिचान, सम्बन्ध र भविष्य बचाउनु हो।
अब ढिलो नगरी स्थानीय सरकार, जनप्रतिनिधि र गाउँले समुदायले एउटै दिशामा सोच बदल्नु आवश्यक छ, गाउँलाई फेरि बसोबास, उत्सव, उत्पादन र आशाले भरिएको ठाउँ बनाउने लक्ष्यतिर। चाडपर्वको रौनक फर्किन सम्भव छ, तर त्यो भावना, प्रयास र योजना गाउँमै सुरु हुनुपर्छ।
गाउँ फर्कियो भने चाडपर्व फर्कन्छ, चाडपर्व फर्कियो भने संस्कार बाँच्छ। यसै प्रेरणासँग अबको यात्रा सुरु हुनुपर्छ गाउँलाई फेरि जीवन्त, चिरपरिचित र रौनकसहित जगाउने संकल्पका साथ।
गल गुरुगं, भानु १३ तनहुँ








