द्विपक्षीय तनाव चर्कँदा पनि भारत माल्दिभ्सप्रति नरम हुनुको कारण के हो ?

सर्वज्योति
  • ख-
  • ख+

क्षेत्रफलको हिसाबले तुलना गर्ने हो भने भारतको राजधानी दिल्ली माल्दिभ्सभन्दा करिब पाँच गुणाले ठूलो छ।

करिब १,२०० वटा टापु रहेको माल्दिभ्सको कुल जनसङ्ख्या करिब पाँच लाख २१ हजार छ।

त्यहाँ एउटा टापुबाट अर्को टापुमा पुग्न पानीजहाजको प्रयोग गरिन्छ।

द्विपक्षीय तनाव
हालै माल्दिभ्स सरकारले आफ्नो देशमा रहेका भारतीय सेनालाई स्वदेश फिर्ता हुन म्याद तोकेपछि दुई देशबीच तनाव चर्केको छ।

केही दिनअघि माल्दिभ्सका नयाँ राष्ट्रपति मोहम्मद मुइज्जु चीनको भ्रमण सकेर स्वदेश फर्केका छन्।

स्वदेश फर्केपछि राजधानी मालेमा मुइज्जुले माल्दिभ्स सानो देश भए पनि उसलाई धम्क्याउने लाइसेन्स कुनै मुलुकसँग नभएको टिप्पणी गरे।

मुइज्जुले नाम उल्लेख नगरे पनि उनको इशारा भारततर्फ नै रहेको भन्ने चर्चा व्याप्त छ।

त्यसको जवाफमा भारतले सार्वजनिक रूपमा अहिलेसम्म कुनै कडा प्रतिक्रिया जनाएको छैन।

माल्दिभ्सले भारतलाई मार्च १५ सम्म उसका सैनिकलाई फर्काउन समय दिएको छ।

भारत किन नरम ?
माल्दिभ्सको आक्रोशप्रति दिल्ली आखिर किन मौन छ त भन्ने प्रश्न भारतमा उठिरहेको छ।

के माल्दिभ्स भारतका लागि यति आवश्यक छ कि उसका आक्रामक वक्तव्यबारे दिल्ली मौन रहनु नै बुद्धिमत्ता हो ?
माल्दिभ्स आफ्नो भौगोलिक अवस्थितिका कारण खास रहेको छ। माल्दिभ्स हिन्द महासागरका ठूला समुद्री मार्गनजिकै पर्छ।

हिन्द महासागरमा तिनै मार्ग भएर अन्तर्राष्ट्रिय व्यापार हुन्छ र खाडी मुलुकहरूबाट भारतलाई तिनै समुद्री मार्ग भएर ऊर्जा आपूर्ति हुने गर्छ।
यो पृष्ठभूमिमा माल्दिभ्ससँग भारतको सम्बन्ध बिग्रिनु कुनै हिसाबले हितकर नहुने देखिन्छ।

हाल माल्दिभ्सका विपक्षी दलहरूको झुकाव भारतप्रति रहेको बताइन्छ। तर भारतको आक्रामक जवाफले माल्दिभ्सका आम नागरिक असन्तुष्ट हुन सक्ने जोखिम छ।

र, त्यस्तो अवस्थामा चिनियाँ प्रभाव सत्तारूढसहित विपक्षी दलहरूमा पनि बढ्न सक्छ।

माल्दिभ्स मुस्लिम बहुल देश हो। भारतमा हुने साम्प्रदायिक विवादहरूको असर माल्दिभ्समा पनि पर्छ।

नुपूर शर्माले इस्लामबारे गरेको टिप्पणीप्रति माल्दिभ्सले पनि प्रतिक्रिया जनाएको थियो।

हिन्द महासागरमा होडबाजी
पछिल्ला दशकमा हिन्द महासागरमा आर्थिक तथा सैन्य गतिविधिलाई लिएर होडबाजी नै चलिरहेको छ।

हिन्द महासागरमा चीनले आफ्नो उपस्थिति बढाउँदै लगेको अवस्थामा र माल्दिभ्सले उसको बलियो साथ पाउँदै गएमा टेक्ने खुट्टा दह्रो हुँदै जान्छ।
माल्दिभ्ससम्बन्धी जिज्ञासामा गत साता भारतीय विदेशमन्त्री एस जयशङ्करले भनेः “म यो कुराको ग्यारेन्टी दिन सक्दिनँ कि हरेक देश, हरेक दिन, हरेक व्यक्तिले हामीलाई समर्थन गरिरहन्छन् अथवा हामीसँग उनीहरू सहमत भइरहन्छन्।”

“कैयौँ मामिलामा हामीले बलियो सम्बन्ध बनाएका छौँ। राजनीतिमा उतारचढावको स्थिति भइरहन्छ। भारतबारे त्यहाँका आमनागरिकको धारणा राम्रो रहेको छ र उनीहरूलाई भारतसँग राम्रो सम्बन्ध हुनुको महत्त्व थाहा छ।”

जानकार के भन्छन् ?
भारतीय पूर्वराजदूतहरू पनि मुइज्जु सरकारको आक्रोशको जवाफ आक्रामक ढङ्गले नदिई समझदारीपूर्वक काम लिनुपर्ने सुझाव दिन्छन्।

द हिन्दू पत्रिकासँग पूर्वराजदूत राकेश सूदले भनेका छन्, “मुइज्जुले राजनीति गरिरहेका छन् र त्यसबाट उनी फाइदा लिन चाहन्छन्।”

“जानाजान उनले उक्साहटपूर्ण वक्तव्यबाजी गरिरहेका छन्। तर जस्ताको तस्तै जवाफ दिनु भारतका लागि ठीक हुँदैन। भारतले माल्दिभ्सलाई सामाजिक एवं आर्थिक हिसाबले आफ्नो महत्त्वबारे अनुभूत गराउनुपर्छ।”

मुइज्जुले पूर्वराष्ट्रपति इब्राहिम सोलिहको सरकारले माल्दिभ्सको सम्प्रभुता एवं स्वतन्त्रतासँग सम्झौता गरेको आरोप लगाउने गरेका छन्।
सोलिहको सरकारले भारतप्रति झुकाव राख्ने गरेको बताइन्थ्यो।

मुइज्जु माल्दिभ्समा भारतीय सैनिकको उपस्थितिविरुद्ध बोलिरहे र राष्ट्रपति बनेपछि उनले भारतीय सैनिक हट्नुपर्ने समयसीमा नै तोकिसके।

चुनावका बेला मुइज्जुले “इन्डिया आउट” भन्ने अभियान नै चलाए जसको समर्थनमा मानिसहरू पनि अगाडि बढे।

विगतमा इब्राहिम सोलिह सरकारले भारतसँग गरेका तीनवटा रक्षा सम्झौता माल्दिभ्सको सम्प्रभुताविरुद्ध रहेको मुइज्जु सम्बद्ध प्रोग्रेसिभ अलायन्सले बताउने गरेको छ।

मुइज्जु सरकार भारतसँग भएका ती तीनवटै सम्झौताबाट बाहिरिइसकेको छ।
साभारः बिबिसि

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्