अफगानिस्तानका पुरातात्त्विक क्षेत्रमा ‘लुट मच्चाउन बुल्डोजर चलाइँदै’

सर्वज्योति
  • ख-
  • ख+

अफगानिस्तानका दर्जनौँ पुरातात्त्विक स्थलहरूलाई व्यवस्थित रूपमा लुटपाट गर्न दिनका लागि ध्वस्त पारिएको अमेरिकाको शिकागो विश्वविद्यालयका शोधकर्ताहरूले बताएका छन्।

उनीहरूले आफूहरूले गरेका भूउपग्रहबाट खिचिएका तस्बिरहरूको विश्लेषणले त्यस्ता घटनाहरूको पहिलो निश्चित ‘फोटोग्राफिक’ प्रमाण उपलब्ध गराएको बताएका छन्।

त्यस्तो कार्यको थालनी अघिल्लो सरकारकै पालामा सुरु भएको र सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि पनि जारी रहेको उनीहरूको भनाइ छ।

उनीहरूले बताएअनुसार त्यसरी ध्वस्त पारिएका संरचनाहरू कांस्य युगको उत्तरार्द्ध र फलामे युगका समेत रहेका छन्। त्यो भनेको एक हजार ईसापूर्वभन्दा अगाडिको बेला हो।
उनीहरूले पहिचान गरेका धेरैजसो पुरातात्त्विक क्षेत्रहरू उत्तरी अफगानिस्तानको बल्ख क्षेत्रका हुन्। त्यो क्षेत्र दुई हजार वर्षअघि ब्याक्ट्रिया शासनको केन्द्र थियो।

यो छैटौँ शताब्दी ईसापूर्वमा अचेमेनिड साम्राज्य अन्तर्गत प्राचीन अफगानिस्तानको सबैभन्दा धनी र धेरै जनसङ्ख्या भएको क्षेत्र थियो।

ईसापूर्व ३२७ मा अलेक्जेन्डर द ग्रेटले यस क्षेत्रलाई जितेका थिए र अचेमेनिड शासकलाई पराजित गरेपछि रोक्साना नामक ब्याक्ट्रिअन महिलासँग विवाह गरेका थिए।

प्राचीन रेसम मार्गमा अवस्थित क्षेत्र


ऐतिहासिक पूर्व-पश्चिम रेसम मार्गमा अवस्थित यस क्षेत्रको केन्द्रीय सहर बक्त्र (अहिले त्यसलाई बल्ख भनिन्छ)  जोरास्ट्रिअन र बौद्ध शिक्षाको केन्द्र थियो। त्यो पछि एउटा महत्त्वपूर्ण इस्लामिक सहर हुन पुग्यो।

शिकागो विश्वविद्यालयको सेन्टर फर कल्चरल हेरिटेज प्रिजर्भेशनका खोजकर्ताहरूले अफगानिस्तानमा २९ हजार भन्दा बढी पुरातात्त्विक क्षेत्रहरूको पहिचान गरेका छन्।

उनीहरूले स्याटेलाइट तस्बिर र अन्य उपकरणहरूको सहायतामा ती क्षेत्रहरूको पहिचान गरेका हुन्।

तर सन् २०१८ पछि उनीहरूले बाल्ख क्षेत्रमा नयाँ अवस्था देखेका छन्।

उनीहरूले ती तस्बिरहरूमा धब्बाहरू पहिचान गरेको बताएका छन्। ती बुल्डोजरहरू भएकोमा उनीहरू विश्वस्त छन्।

त्यसको कारणबारे उनीहरू के भन्छन् भने तिनीहरू कहिले देखा पर्छन् र कहिले हराउँछन् अनि हिँड्दा बाटो बनाउँदै गएको जस्तो देखिन्छ।
उक्त सेन्टरका निर्देशक गिल स्टेनले ती भर्खरै डोजर लगाइएको क्षेत्रहरू पछिल्ला तस्बिरहरूमा देखा परेको बताए।

उनका अनुसार ती क्षेत्रहरूमा लुटेराहरूले खनेका खाडलै खाडल छन्।

मूलत: मानिसहरूलाई व्यवस्थित रूपमा यी क्षेत्रहरू लुट्न सजिलो बनाउन ती विशाल क्षेत्रहरू खाली गराइँदै थिए, उनले भने।

उनको टोलीका अनुसार सन् २०१८ र २०२१ को बीचमा १६२ वटा प्राचीन बस्तीहरू एक साताभित्रै अचम्म पार्ने दरमा ध्वस्त भएको छ र तालिबान सत्तामा आएपछि पनि ३७ वटा क्षेत्रमा त्यस्तो अभ्यास जारी छ।
सम्भावित लुटेराहरूलाई जानकारी प्राप्त नहोस् भनेर ती अनुसन्धानकर्ताहरूले त्यसरी ध्वस्त बनाइएका स्थानहरू भने प्रकाशित गरेका छैनन्। धेरै स्थानहरूको दस्तावेजीकरण गर्ने कार्य प्रारम्भिक चरणमै रहेको छ।

त्यसको अर्थ शोधकर्ताहरूलाई ती स्थानहरूमा के गाडिएको छ भन्ने थाहा छैन। त्यहाँ मुख्यतस् ढिस्काहरू, किल्ला, प्राचीन पौवाहरू, नहर प्रणालीहरू रहेका छन्।

तर केवल ९७ किलोमिटर टाढा रहेको तेला टेपेमा २,००० वर्ष पुरानो ब्याक्ट्रिअन सुनको भण्डार फेला परेको थियो।

हिल अफ गोल्डू भनिने स्थानमा सुनका गहना, एउटा जटिल खालको मुकुट र सिक्कासहित २०,००० दुर्लभ वस्तुहरू थिए।

त्यसलाई अहिले अफगानिस्तानको हराएको खजाना भनिन्छ।


साभारः बिबिसि

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्