नेपालले क्यानडालाई हराउँदै बनायो तीन कीर्तिमान

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार खेलिएको दोस्रो खेलमा क्यानडालाई चार विकेटले हराएको हो ।

नेपाली टोलीको जितमा तीन ब्याट्सम्यान कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले अर्धशतक बनाए । जितसँगै नेपालले तीन खेलको शृंखलामा २–० ले अग्रता हासिल गरेको छ । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपालले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ८५ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४५।१ ओभरमा ६ विकेट गुमाएर दुई सय ८७ रन बनाउँदै विजयलक्ष्य पार गरेको हो ।

ीबहmष् कगलचष्कभ दबलप
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले पूरा गरेको यो दोस्रो ठूलो विजयलक्ष्य हो । यसअघि सन् २०२३ को मार्च ९ तारिखमा खेलिएको पपुवा न्यू गिनीविरुद्धको खेलमा नेपालले दुई सय ९८ रनको लक्ष्य पूरा गरेको थियो । त्यो खेलमा नेपालले पपुवा न्यू गिनीलाई ५२ रनले हराएको थियो ।

क्जष्खबm ऋझभलत
केवल ६४ रनमा दुई विकेट गुमाएपछि दबाबमा परेको नेपाललाई त्यसपछि कप्तान रोहित र यू–१९ राष्ट्रिय टोलीका कप्तान देवले जिततर्फ डोर्याएका थिए । यी दुई कप्तानले टोलीका लागि एक सय ५० रनको साझेदारी गरेका थिए । कप्तान रोहितले ८७ रनको योगदान गरे । देवले पनि महत्वपूर्ण ७६ रन बनाए । ओपनर ब्याट्सम्यान अनिल शाहले पनि टोलीको खातामा ५० रन थपेका थिए । भीम सार्कीले २३ र पवन सर्राफले १४ रन जोडेका थिए ।

कुशल मल्ल र सोमपाल कामी नौ–नौ रनमा अविजित रहे । नेपालले अतिरिक्त रुपमा पनि नौ रन पाएको थियो । क्यानडाका बलर हर्ष ठाकेर र ईश्वरजोत सोहीले दुई–दुई विकेट लिए । साद बिन जाफर र दिलप्रित बाजवाले पनि एक–एक विकेट हात पारे ।

पहिले ब्याटिङ गरेको क्यानडाका लागि भने ओपनर एरोन जोन्सनले ६५ रन बनाएका थिए । नवनित धालिवालले ४६ र श्रेयष मोभाले ४० रन जोडेका थिए । परगत सिंहले पनि टोलीको खातामा महत्वपूर्ण ३८ रन थपेका थिए । नेपाली टोलीका बलर रोहित पौडेल र कुशल मल्लले दुई–दुई विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले पनि एक–एक विकेट हात पारेका थिए । आकाशको सिनियर टोलीबाट यो ‘डेब्यू’ खेल हो ।

सूर्य तामाङ र रिजन ढकालले भने बिहीबार सम्पन्न क्यानडाविरुद्धको पहिलो एकदिवसीय खेलमार्फत सिनियर टोलीमा ‘डेब्यू’ गरेका थिए । क्यानडाविरुद्धको जारी शृंखलामा ‘डेब्यू’ गरेका तीनैजना खेलाडीले विकेट लिइसकेका छन् । रिजनले भने बिहीबारको खेलमै विकेट लिएका थिए ।

नेपालले आफ्नो पहिलो विकेटको रुपमा ओपनर ब्याट्सम्यान आसिफ शेखलाई गुमाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ शेख १० रन बनाउँदै आउट भएका थिए । उनको विकेट क्यानडाका बलर ईश्वरजोत सोहीले लिएका हुन् । ४.५ ओभरमा उनी आउट हुँदा नेपाली टोलीले ५५ रन बनाएको थियो । आसिफ शेख र अनिल शाहले ओपनिङ विकेटका लागि महत्वपूर्ण साझेदारी गरेका थिए ।

नेपालले दोस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अनिल शाहलाई गुमाएको थियो । उनी अर्धशतक बनाउँदै आउट भएका हुन् । उनको विकेट पनि ईश्वरजोतले लिएका थिए । सोहीले अनिललाई एलबीडब्लूको धरापमा पारेका थिए । पेभेलियन फर्किनुअघि अनिलले केवल २० बलमा तीन छक्का र सात चौकाको मद्दतले ५० रन बनाएका थिए । उनी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा कम बलमा अर्धशतक पुरा गर्ने ब्याट्सम्यान पनि बनेका छन् ।

अनिलले आसिफ शेखको कीर्तिमान तोडेका हुन् । आसिफ शेखले सन् २०२३ को मार्च १३ तारिखमा कीर्तिपुर मैदानमै खेलिएको आईसीसी क्रिकेट वल्र्ड कप लिग–२ अन्तर्गतको पपुवा न्यू गिनीविरुद्धको खेलमा २१ बलमा अर्धशतक बनाएका थिए । अनिलले भने २० बलमै अर्धशतक पुरा गरेका हुन् । ६.३ ओभरमा अनिल आउट हुँदा नेपालले ६४ रन बनाएको थियो ।

नेपालले तेस्रो विकेटका रुपमा देव खनाललाई गुमाएको थियो । उनी ७६ रन बनाउँदै आउट भएका थिए । उनले ८१ बलको सामना गरी दुई छक्का र सात चौका पनि हिर्काए । उनलाई क्यानडाका बलर हर्ष ठाकेरले आफ्नो बलिङमा आफैले क्याच लिएका थिए ।

३३.५ ओभरमा देव आउट हुँदा नेपालले दुई सय १४ रन बनाएको थियो । देव र कप्तान रोहित पौडेलले टोलीका लागि एक सय ५० रनको साझेदारी गरेका थिए । नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि गरेको यो सबैभन्दा ठूलो साझेदारी पनि हो ।

यसअघि सन् २०२३ को फेब्रुअरी १४ तारिखमा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै भएको नामिबियाविरुद्धको खेलमा तेस्रो विकेटका लागि रोहित पौडेल र कुशल भुर्तेलले एक सय ३३ रनको साझेदारी गरेका थिए । शनिबारको खेलमा देवले केवल ५६ बलको सामना गरी दुई छक्का र चार चौकाको मद्दतले आफ्नो अर्धशतक पूरा गरेका थिए । देवले २४औँ ओभरको अन्तिम बलमा अर्धशतक पूरा गरेका थिए । देव यू–१९ राष्ट्रिय टोलीका कप्तान पनि हुन् ।

नेपालले चौथो विकेटका रुपमा भीम सार्कीलाई गुमाएको थियो । उनले २१ बलमा चार चौकाको मद्दतले २३ रन बनाएका थिए । उनलाई क्यानडाका बलर दिलप्रित बाजवाले विकेटकिपर श्रेयष मोभाद्वारा क्याच गराएका थिए । ३९.३ ओभरमा उनी आउट हुँदा नेपालले दुई सय ५३ रन बनाएको थियो ।

नेपालले पाँचौँ विकेटका रुपमा कप्तान रोहित पौडेललाई गुमाएको थियो । उनी ८७ रन बनाउँदै आउट भएका थिए । रोहितले पेभेलियन फर्किनुअघि एक सय एक बलको सामना गरी चार छक्का र आठ चौका पनि हिर्काएका थिए । रोहितको विकेट क्यानडाका बलर साद बिन जाफरले लिएका थिए । जाफरले उनलाई विकटकिपर श्रेयष मोभाद्वारा क्याच गराएका थिए । ४०.२ ओभरमा रोहित आउट हुँदा नेपालले दुई सय ६१ रन बनाएको थियो ।

यसैगरी नेपालले छैटौँ विकेटका रुपमा पवन सर्राफलाई गुमाएको थियो । पवन १४ रन बनाउँदै आउट भएका हुन् । उनलाई क्यानडाका बलर ठाकेरले विकेटकिपर मोभाद्वारा क्याच गराएका थिए । ४१.५ ओभरमा पवन आउट हुँदा नेपालले दुई सय ६७ रन बनाएको थियो । त्यतिबेला नेपाललाई जितका लागि १९ रन आवश्यक थियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको क्यानडाको पहिलो विकेट आकाश चन्दले लिएका थिए । यू–१९ राष्ट्रिय टोलीका तिब्रगतिका बलर आकाशले क्यानडाका ओपनर ब्याट्सम्यान नवनित धालिवाललाई विकेटकिपर आशिफ शेखद्वारा क्याच गराएका थिए ।

मैदानमा जमिसकेका नवनितले ४६ रन बनाएका थिए । उनले पेभेलियन फर्किनुअघि ६० बलको सामना गरी आठ चौका हिर्काएका थिए । १८.२ ओभरमा नवनित आउट हुँदा क्यानडाले एक विकेट गुमाएर ९४ रन बनाएको थियो ।

क्यानडाको दोस्रो विकेटका रुपमा ओपनर एरोना जोन्सन पेभेलियन फर्किएका थिए । उनी ६५ रन बनाउँदै रनआउट भएका थिए । उनले केवल ६२ बलमा दुई छक्का र १० वटा चौका पनि प्रहार गरेका थिए । २२.२ ओभरमा जोन्सन आउट हुँदा क्यानडाले एक सय २६ रन बनाएको थियो । नवनित र जोन्सनले ओपनिङ विकेटका लागि ९४ रनको साझेदारी गरेका थिए ।

क्यानडाको तेस्रो विकेट कप्तान रोहित पौडेलले लिएका थिए । उनले क्यानडाका तेस्रो नम्बरका ब्याट्सम्यान परगत सिंहलाई ३८ रनको ब्यक्तिगत स्कोरमा सोमपाल कामीद्वारा क्याच गराएका थिए । परगतले पेभेलियन फर्किनुअघि ३८ बलमा ६ चौका हिर्काएका थिए । ३१.२ ओभरमा परगत आउट हुँदा क्यानडाले एक सय ७९ रन बनाएको थियो ।

क्यानडाको चौथो विकेट पनि कप्तान रोहित पौडेलले नै लिएका थिए । उनले एकै ओभरमा दुई विकेट लिएका हुन् । उनले क्यानडाका चौथो नम्बरका ब्याट्सम्यान निकोलस किर्तनलाई २० रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा स्टम्पिङ गराएका थिए । निकोलस किर्तनले पेभेलियन फर्किनुअघि २९ बलमा दुई चौका हिर्काएका थिए । ३१.५ ओभरमा किर्तन आउट हुँदा क्यानडाले एक सय ८० रन बनाएको थियो ।

क्यानडाको पाँचौँ विकेट सूर्य तामाङले लिएका थिए । सूर्यले सिनियर टोलीबाट पहिलो विकेट लिएका हुन् । उनले सिनियर टोलीबाट क्यानडाविरुद्ध बिहीबार भएको खेलमा ‘डेब्यू’ गरेका थिए । उनले आफ्नो पहिलो विकेटका रुपमा क्यानडाका हर्ष ठाकेरलाई पेभेलियन फर्काएका हुन् ।

सूर्यले हर्षलाई विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । पेभेलियन फर्किनुअघि हर्षले ६ रन बनाएका थिए । ३४.५ ओभरमा हर्ष आउट हुँदा क्यानडाले पाँच विकेट गुमाएर एक सय ९३ रन बनाएको थियो । क्यानडाको छैटौँ विकेट कुशल मल्लले लिएका थिए । कुशल मल्लले क्यानडाका दिलप्रित बाजवालाई १९ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । पेभेलियन फर्किनुअघि दिलप्रितले ३८.४ ओभरमा दिलप्रित आउट हुँदा क्यानडाले दुई सय १३ रन बनाएको थियो ।

क्यानडाको सतौँ विकेट कुशल मल्लले लिएका थिए । कुशल मल्लले क्यानडाका कप्तान साद बिन जाफरलाई एक रनको ब्यक्तिगत स्कोरमा पवन सर्राफद्वारा क्याच गराएका थिए । कुशल मल्लले लिएको यो दोस्रो विकेट हो । ४०।४ ओभरमा साद बिन जाफर आउट हुँदा क्यानडाले दुई सय १६ रन बनाएको थियो ।

क्यानडाको आठौँ विकेट पवन सर्राफले लिएका थिए । पवनले क्यानडाका साहिद अहमदजाईलाई १३ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । ४४.५ ओभरमा साहिद अहमदजाई आउट हुँदा क्यानडाले २ सय ३९ रन बनाएको थियो ।

क्यानडाले नवौँ विकेटका रुपमा विकेटकिपर ब्याट्सम्यान श्रेयष मोभालाई गुमाएको थियो । उनको विकेट सोमपाल कामीले लिएका थिए । सोमपालले उनलाई ४० रनको ब्यक्तिगत स्कोरमा भीम सार्कीद्वारा क्याच गराएका थिए । उनी अन्तिम ओभरको अन्तिम बलमा पेभेलियन फर्किएका थिए ।

नेपाल र क्यानडाबिच तीनवटा एकदिवसीय खेलको शृंखला आयोजना हुन लागेको हो । यसअघि बिहीबार खेलिएको पहिलो खेलमा नेपाली टोलीले क्यानडामाथि सात रनको रोमाञ्चक जित हासिल गरेको थियो । नेपाल र क्यानडाबिचको तेस्रो खेल सोमबार कीर्तिपुर मैदानमै खेलिने छ ।
साभारः रातोपाटी

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्