बौद्धिक साख गिराउँदो एनआरएन

अतुल कोईराला
  • ख-
  • ख+

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले औपचारिक संस्थापनको दुईतिहाइ कालमा सम्पूर्ण नेपाली जातिमै आश जगायो, नेपालको समृद्धि र सांस्कृतिक एकताका लागि । रोजीरोटीका लागि बिदेसिएका नेपाली साँच्चै नेपाल बनाउन भनेर कम्मर कसिरहेका छन् भन्ने सन्देश गइरह्यो । सक्षमहरूले आफ्नो कमाइ नेपाल पठाएर उद्यमशीलतामा लगाउने भए भन्ने भाष्य बन्दै गयो ।
भाइचाराको अपूर्व भावना पनि घनीभूत भयो । नेपालीले नेपालीलाई पर्दा हदैसम्म सहयोग गर्छन् भन्ने प्रामाणिक घटनाहरू अनगिन्ती भए । ८७ देशमा फैलेको सञ्जाल, १ लाखभन्दा बढी पञ्जीकृत सदस्य र नेपाल सरकारले दिएको उच्च पहिचान सँगसँगै एनआरएन नागरिकता, लगानीमैत्री कानुनजस्ता अनेक उपलब्धि यस संस्थाको गौरवगाथामा समेटिए ।

यी यावत् गुण, चरित्रले एनआरएन शब्द हरेक नेपाली मनमा उच्च सम्मानको पर्याय हुनुपर्ने थियो । तर छ त त्यस्तो ? एनआरएनको व्यवहारबाट नेपालमै बसिरहेका जनताले कस्तो फरक व्यवहार सिक्ने ? नेपालका नेताले के फरक अपेक्षा गर्ने ? एनआरएनको उपस्थिति आगे नेपाली अर्थतन्त्र र सामाजिक व्यवहारमा कस्तो परिवर्तनको अपेक्षा गर्ने ?

अहिले एनआरएनको नाम सुन्नेबित्तिकै अधिकांश नेपालीले यस्ता टिप्पणी गर्न थालेका छन्, जसका आधारमा हम्मेसी मान्छे ‘म प्रवासी हुँ’ भनेर चिनाउनै हिचकिचाउने अवस्था बन्दै छ । कुनै बेला एनआरएन नेताहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्नेबित्तिकै मुलुक बनाउन फर्केका रोल मोडलका रूपमा हेरिन्थे । ती नेतामध्ये अधिकांश ४०–६० वर्षबीचकै सक्रिय उमेरमा छन् । आज एनआरएन अभियान गम्भीर संकटमा छ, तर ती नेता धृतराष्ट्र बनेर बसिरहेका छन् । अझ उनीहरूमध्ये कतिपय अब एनआरएनए फुटाए हुन्छ भनेर उक्साएर हिँड्नमै मस्त छन् । केही पर्ख र हेरको अवस्थामा छन्, दूषित राजनीतिक हस्तक्षेपले अभियानलाई जहाँ पुर्‍याउँछ त्यहीँबाट आफ्नो दुनो सोझ्याउने उनीहरूको दाउ देखिन्छ । हिजो एनआरएनकै बिल्लाका कारण एक घण्टाबीच चाहेको नेता भेटी व्यक्तिगत वा गुटगत फाइदाको पोयो बाँध्ने ती नेताहरू संस्थालाई जगहँसाइको माध्यम बनाउन पछाडि हट्नेवाला देखिँदैनन् ।

केही साताअघि अन्तर्राष्ट्रिय रूपमै चर्चित पुराना पत्रकारले आफ्नो नियमित टिप्पणीका क्रममा व्यक्त गरेको भनाइको आशय थियो— यी एनआरएनहरू नेपालमा लगानी गरेरभन्दा पनि नेपालको कमजोरी खोतलेर आफूलाई धनी बनाउन मात्र छिरेका हुन् । साँच्चै भन्दा, एनआरएन अभियानका प्रणेता भन्नुपर्ने दाजुहरूसँग यस्तो टिप्पणी ओकल्ने सार्वजनिक व्यक्तित्वलाई मुखभरिको जवाफ दिने हिम्मत छैन । त्यस्तो हिम्मत राख्ने ठाउँ नै राखेका छैनन् । हुन्थ्यो भने, आज एनआरएन यो हबिगतमा हुँदैनथ्यो । उनीहरू भेला भएर झगडियाहरूका टुप्पी समाइहाल्थे, दूधको दूध पानीको पानी छुट्याइहाल्थे ।
विग्रहको चित्र

यो प्रश्नको उत्तर नेपाली समाजको सामाजिक अध्ययनको दृष्टिकोणबाट खोज्नुपर्छ । आजको दिनमा एनआरएनमा संलग्नतालाई राजनीतिक औजार मान्ने सकल बन्धुहरूमध्ये अधिकांश नेपालमा दलीय राजनीतिको घृणित चरित्र विकास हुने क्रममै बिदेसिएका हुन् । उनीहरूमध्ये धेरैले आफ्नो चरित्र नेपालमै बनाइसकेर कमाउनै भनेर विदेशको यात्रा तय गरेका हुन् । थोरैले पढ्ने मौका पाए तर त्यो पढाइको सिकाइलाई नेपालकै धङधङीले झोल्याएको छ ।

विकसित समाजको सिकाइले जरैदेखि हुर्कन पाएको भए चारित्रिक विकास अधकल्चो हुँदैनथ्यो । एकातिर उनीहरू घण्टादारी ज्यालाको कहरमा पिल्सिरहेका हुन्छन्, अर्कातिर गाउँको वडाध्यक्षदेखि सदरमुकामको सांसदसम्म के गर्दै होला भन्ने तर्कनाले पछ्याइरहेको हुन्छ । असाध्यै दोमन र विरोधाभासमा बाँच्ने प्रवासी नेपालीको पहिलो पुस्ता यस्तै छ । जो विदेशको पसिनामा स्वदेश नहुँदाको विरह गाइरहेको हुन्छ, उसले अनुकूलता र सपना हुर्काउने अवस्थाभर असाध्यै अपनत्वको व्यवहार गर्छ । तर जब प्रतिकूलता र प्रतिस्पर्धाको माहोल बन्छ, ऊ विग्रहमूखी मात्रै बन्छ । एनआरएन पहिलो पुस्ता यति बेला विग्रहमूखी दशाबाट गुज्रिरहेको छ, जसले गर्दा एनआरएन अभियानका राम्रा उपलब्धिहरू धरापमा परेका छन् ।

एनआरएनमा पहिलो २० वर्षे कालखण्डमा चलेका नेताहरूको निर्माण आधारमा केही त्रुटि छन् भनेर सायदै बहस भएको छ । उनीहरू पहिलो पुस्ताका प्रवासी हुन् । उनीहरूको सोच प्रक्रियामा घरदेखि नै बोकेर लगेका गुण–अवगुण छन् । गुणमध्ये सबैभन्दा प्रभावशाली हो— सामूहिकता । तर सामूहिकता त्यस्तो चारित्रिक अवयव हो जुन उत्पादनशील बाटोमा विकास भएन भने प्रत्युत्पादक हुन्छ । त्यसले विनाशकारी द्वन्द्व मात्रै निम्त्याउँछ । नेपालमा राजनीतिक दलहरूको सामर्थ्य विनाशकारी गुटगत शक्ति निर्माणमा खेर गइरहेजस्तै दशा एनआरएन अभियानमा झाँगिएको छ । नेपाली बिदेसिएर सुध्रिए भन्ठानिरहेकाहरू अहिले निराश हुनुको कारण यही हो । सीमित नेपालीले केही करोड कमाएको कथा फलाकेर अब त्यो निराशा हट्ने गुन्जाइस देखिँदैन ।

एनआरएनको यही पहिलो पुस्ताका सन्तानलाई के आधारमा नेपाल फर्काउने अर्थात् ‘रिभर्स माइग्रेसन’ बढाउने भन्ने बहस बितेका दशकमा निकै चलेको छ । तर रिभर्स माइग्रेसन झन्झन् चुनौतीपूर्ण बन्दै गइरहेको छ । यसका दुई कारण छन्— पहिलो पुस्ताको कमजोर व्यवहार र नेपालबाट तीव्र भइरहेको युवा पलायन । अस्थिर राजनीति र विशृंखलित अर्थतन्त्रका कारण मुलुकको भविष्यप्रति विश्वास गुम्दै गइरहेको अवस्थामा युवा वर्ग न नेपाल र्फकन चाहन्छ न यहाँ टिक्नै सक्छ । यो कटु सत्य हो । यो अवस्थाप्रति एनआरएन स्वयम् पनि जिम्मेवार छ । उसले नेपालको राजनीतिक वर्गलाई चरित्रगत सामर्थ्यबाट चुनौती दिन सक्ने औकात नै बनाउन सकेन । उसले आफ्नो मामिलामा खुलेआम, बेलगाम दलीय हस्तक्षेप भित्र्याउने काम गर्‍यो । नेतृत्व चयनमा स्वस्थ प्रतिस्पर्धालाई ठाउँ नदिई त्रिअध्यक्षीय त्रिशंकु समाधान लदाउने काम गर्‍यो । पछिल्लो समय हुँदै नभएको धाँधलीलाई बहाना बनाएर संस्था नै क्षत–विक्षत पार्ने उपक्रम चल्दै छ ।

अबको बाटो के ?

गएको अक्टोबरमा सम्पन्न एनआरएनए विश्व सम्मेलनले यस अभियानमा सल्केको दूषित राजनीतिलाई चुल्याएर पोख्ने काम गर्‍यो । यो साँच्चै एउटा उत्कर्षमा थियो । मतदानमा नवीन प्रविधि अपनाउन विश्वप्रसिद्ध कम्पनीको सहायता लिइएको हेक्का नराखेर अति सामान्य त्रुटि हुँदा त्यसकै फेरो समातेर संस्थाको अस्तित्व नै खण्डित पार्ने दुष्प्रयास भइरहेको छ । र, त्यो कार्यलाई संरक्षण दिएको छ सरकारले । सरकारले बुझ पचाइरहेको छ । यसमा अदालत पनि मिसिइसकेको छ । चुनाव जितेर आएका पदाधिकारीले चलाएको एनआरएनलाई नवीकरण गर्न परराष्ट्रमन्त्रीले लगातार आनीकानी गरेपछि अदालत तानिएको हो, जुन स्वाभाविक छ । यसमा अदालतले कस्तो उपचार गर्ला, हेर्न बाँकी नै छ । तर व्यवहारको उपचार गर्नेचाहिँ एनआरएनको वास्तविक अभिभारा रहेको इमानदार वर्गले हो, जसलाई प्रतिनिधित्व गर्ने दायित्व वर्तमान नेतृत्वको हो ।

नेपालको कुल जनसंख्याको झन्डै एकचौथाइ प्रवासमा छ । त्यसले जोडेको अर्थक्षमता नेपालको जीडीपीभन्दा निकै ठूलो भएको अनुमान छ । त्यसमा दोस्रो पुस्ताको सम्भावना जोड्ने हो भने नेपाली प्रवासी समुदायलाई नेपालको व्यापक रूपान्तरणको कडीका रूपमा अर्थ्याउन मिल्छ । यस्तो विराट् सम्भावना र स्रोतलाई अवमूल्यन गर्न–गराउन मिल्दैन ।

त्यो कसरी त ?

एनआरएन नेतृत्व यो पटक धेरै निश्चयात्मक हुन जरुरी छ । उसले अब दोस्रो पुस्ताका एनआरएनलाई नेपालमा उद्यमको जग बसाल्न र लगानी गर्न प्रोत्साहित गर्नुपर्छ । त्यसको एउटा प्रमुख उपाय बन्न सक्छ— हन्ड्रेड मिलियन प्रोजेक्ट, जसको विस्तारित स्वरूपले नेपालमा पूर्वाधार विकास र उद्यमशीलतामा उभार ल्याउन सक्छ । तुलनात्मक लाभ एवं दीर्घकालीन आपूर्ति सम्भाव्यताका क्षेत्र पहिचान गरेर स्वदेशी तथा विदेशी युवालाई मिसाएर जोइन्ट स्टार्टअप थालनी गर्न सकिन्छ, जसमार्फत कालान्तरमा विश्वभर फैलन र रुचाई नसक्ने नेपाली ब्रान्डहरूको निर्माण होस् । मुलुकमा व्यापारघाटा न्यूनीकरण दैनिक उपभोगभन्दा बाहिरका उच्च मूल्यका उत्पादनहरूको बजारीकरणबाट सम्भव छ । जति बढी आर्थिक वृद्धिका गतिविधिमा एनआरएन संलग्न हुन्छ, उसको उपादेयता उति नै बढी साबित हुन्छ ।

नेपालमा उत्पादनमूखी पूर्वाधारको ठूलो समस्या छ । सडक सञ्जाल, बजार विस्तार र व्यवस्थित बस्ती विकासमा नेपालीले विदेशमा कमाएको पैसा एकीकृत वित्तीय कोषबाट लगानी गर्नुपर्ने खाँचोप्रति खासै ध्यान दिइएको छैन । मुलुकमा व्यवस्थित सहरीकरणको परिपाटी अझै सुरु भइसकेको छैन । विप्रेषणलाई दैनिक उपभोगमा सकेर राज्यलाई आयातमूखी करमा निर्भर राख्ने अवस्थालाई न्यूनीकरण गर्न सक्नुपर्छ । यो एउटा ठूलो स्कोप हो । एनआरएनले यसमा काम गर्नुपर्छ ।

नेपालमा सामुदायिक शिक्षाको बेहाल छ । सामुदायिक शिक्षालाई सीप, जीविका कौशल, प्रभावकारी विषयगत सिकाइ र अन्तर्राष्ट्रिय भाषा अध्ययनसँग जोड्नप्रति कसैको ध्यान छैन । एनआरएनले केही सामुदायिक विद्यालयलाई अपनाएर निश्चित समयावधिभित्र अन्तर्राष्ट्रिय गुणस्तरको नमुना शिक्षालयमा परिणत गर्न सक्छ ।

हुन त एनआरएनले बैंकिङ, जलविद्युत् क्षेत्रमा गरेका केही काम सफलै छन् तर त्यो चल्तीको शैली हो । जहाँ तत्काल आर्थिक प्रतिफल आउँछ, त्यसमा होमिएर मात्र देश विकास हुन्न । अधिकतर तुलनात्मक लाभका क्षेत्रमा रचनात्मक लगानी नगरेसम्म खासै फरक पर्दैन । समग्रमा भन्दा, नेपालमा कमाई भित्र्याएर रचनात्मक लगानी गर्ने विषय नै मूल प्राथमिकता बन्नुपर्छ । त्यो सम्भव छ, तर लगानीमुखी आत्मविश्वास निर्माण गरेर मात्र ।

साभारः कान्तिपुर दैनिक

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्