व्यासको डम्पिगं साईट समस्या सामाधानको लागि उपर्युक्त टेकनथुम्कि कि पोखरी भन्ज्याङ्ग ?

माधब पौडेल
  • ख-
  • ख+

त्यसो त देशका अन्य शहरहरु हेरि कचौरा जत्रो देखिने तनहुँको दमौली बजारको फोहोर मैलाको समस्यालाई घैलाभन्दा ठुलो बनाईएको छ । २०४८ मा नगरपालिका बनेपनि सफा र स्वच्छ व्यास नगर बनाउन न कसैले पहल गर्यो न त पहल गर्दा कसैले साथ दियो त्यसैको कारणले व्यास नगरपालिकाको फोहोर मैलामाथि आजपर्यन्त फोहोरी राजनीति भईरहेको छ । झन् पछिल्लो समय व्यास नगरपालिकाले बर्षौदेखि खरिद गर्न खोजिरहेको पोखरी भन्ज्यांगकै जग्गा किन्ने निर्णय गरेसगै ”जेसुकै गरुन् सरसफाई केन्द्र वा डम्पिगं साईट बनाउन्” भन्दै समर्थन र ”एय ! अरु ठाउँमा निःशुल्क जग्गा पाउने विकल्प हुदाहुदै जनताले तिरेको कर जहाँ पायो त्यहि खन्याउने ? , अहिले किन्न लागेको जग्गा भन्दा तलको बस्ति, पानीका मुहानहरुको ख्याल गर्नुपर्दैन ?” भन्दै विरोधका स्वरहरु पनि सुनिन थालेका छन् ।
त्यसो त व्यासले व्यास १३ पोखरी भन्ज्यांगको जग्गा खरिद गर्ने निर्णय गर्नुभन्दा अगाडि नै व्यास १० मंगली गैराको जग्गा किन्ने असफल प्रयास भने नगरेको होईन । सरसफाई केन्द्र निर्माणका लागि जग्गा खरिद गर्न खोजिएको स्थानभन्दा तल पचासौ पानीका मुहानहरु, दर्जनौ ईनारहरु हुदाँ हुदै पनि उक्त जग्गा खरिदका लागि गरिएको जोडबल र माथापच्ची सबैले देखेकै हुन । त्यो भन्दा रोचक कुरा त के रह्यो भने केहि महिना अगाडि व्यास नगरपालिकाले एकाएक अर्को व्यवस्था नभईन्जेलसम्म नकुहिने फोहोर नउठाउने निर्णय गरेर सबैलाई गलाउने र ”जे जसरी भएपनि जग्गा किन्नुस् ” भन्ने पार्न खोजेको रणनीति बाँडिचुडि खान पल्केका विभिन्न दलका टाउके, भोलि राजनीतिक हानी पुग्छ भनेर बोल्न डराउने सो कल्ड नेताहरुले बुझि बुझि बुझ्न नचाहेपनि केटाकेटीले पनि राम्रैसग नबुझेका भने होईनन् ।
प्रत्येक कुरामा विरोध गर्ने बानी ठिक होईन भनेर चुप्प लागेपनि व्यास नगरपालिकाले लामो समयदेखि रोजिरहेको जग्गा खरिद गर्ने जुन निर्णय गरेको छ त्यसले व्यास नगरपालिकालाई दिर्घकालिन प्रभाव पार्ने देखिएको छ । नेपालका १, २ बाहेकका अन्य शहरहरुमा सरसफाई केन्द्र, डम्पिगं साईट, फोहोर विर्सजन केन्द्र जे जे नाम दिएर डम्पिगं साईट स्थापना गरेपनि तिनीहरुको ट्रायक्ट रेकर्ड कत्तिपनि राम्रो छैन भने हाल जग्गा खरिद गर्न थालिएको जग्गाभन्दा तल्लोभागमा बस्ति र प्रशस्त पानीका प्रशस्त मुहानहरु भएको कारण जग्गा खरिद गरिहाले पनि फोहोर व्यवस्गथापन केन्द्र राख्न त्यति सजिलो छैन । ल मानौ बिरोधका आवाजहरु त जहाँ पनि सुनिन्छन् नि त्यसो भन्दैमा फोहोर विर्सजन केन्द्र वा सरसफाई केन्द्र बनाउदै नबनाउने त ? सधै नगरपालिकालाई कचौरा जत्रो शहरको फोहोर मैलाको व्यवस्थापन गर्न सकेनौ है भन्दै गिज्याईरहने, घोचिरहने त ? भन्ने प्रश्न पनि उठ्न सक्छ । कस्ले भनेको छ र फोहोरमैलाको उचित व्यवस्थापन नगर्ने ? फोहोर मैलाको उचित व्यवस्थापन गर्नुपर्छ भन्ने कुरामा कुनै दुईमत छैन तर फोहोरमैलाको सरसफाई केन्द्रको नाममा जुन हिसावले स्थानहरु छनौट गरिदै गईएको छ त्यस्ले गम्भिर प्रश्न उधिनेर छोडेको छ । ल ठिक छ व्यास १० मंगली गैराको जग्गा फोहोर विर्सजन केन्द्रको लागि उचित थियो भने किन त्यहि नै बनाउनको लागि प्रयास भएन ? ठिक थिएन भने के उद्देश्यका साथ उक्त क्षेत्र छनोट गरिएको थियो ? केहि बर्ष अगाडिसम्म व्यास ५ को टेकन थुम्किमा फोहोर विर्सजन केन्द्र स्थापना गर्ने भनेर उक्त स्थान जाने सडक निर्माणमा लागि खर्च गरेको नगरपालिकाले कस्का कारणले उक्त क्षेत्रका बासिन्दाहरुसग वार्ता सफल गराउनतिर ध्यान दिएन ? त्यतिमात्र हो र व्यास १ करगंकाठमाथि खेमराज अधिकारी लगायतले १ बर्षसम्म निः शुल्क नकुहिने फोहोर विर्सजनका लागि २० रोपनी जग्गा दिने भनेर टोल विकास संस्थाको स्विकृत लिएर नगरपालिकामा निवेदन दिदाँ नगरपालिकाले विरोधका आवाज निकाल्नेहरुसग किन सरसल्लाह गर्न उचित ठानेन ?
नेपालीको मनोभावना नै जनप्रतिनिधि हुन् वा कर्मचारी जस्ले असल नियत वा खराव नियतले काम गर्न खोजेपनि विरोध गर्ने संस्कारै बनेको छ । त्यसैले एक पटक सबैले गम्भिर भएर सोच्न जरुरी भएको छ हाल खरिद गर्न लागिएको जग्गा निविर्वाद हुन सक्ला त ? निः शुल्क बर्षौबर्षसम्म सरसफाई केन्द्रको लागि उपर्युक्त व्यास ५ टेकेनथुम्किमा रहेको सार्वजनिक जग्गामा देखिएका केहि विवाद समाधानका लागि बिशेष पहल गरि उक्त स्थानमा ”सरसफाई केन्द्र” स्थापना गर्ने कि जनताले तिरेको करबाट स्थानियले विवाद गरेको करोडौको जग्गा खरिद गर्ने ? आखिर विरोधका स्वरहरुलाई मत्थर पारेर फोहोर विर्सजन गर्नु नै पर्ने भएपछि जनताले तिरेको कर खर्च नगरिकन निः शुल्क पाउने, दमौली बजारबाट नजिक जग्गा नै उपभोग गर्ने कि ? दिर्घकालिन रुपमा स्थायी समाधान, ढुवानी खर्चको हिसाव र दुरीको हिसावले पनि व्यास ५ पतेनीभन्दा केहि माथिको टेकनथुम्कि र टेकनथुम्किभन्दा झण्डै दोब्बर दु्रीको व्यास १३ पोखरी भन्ज्यांगको जग्गा मध्ये कुन सरसफाई केन्द्रको लागि कुन उपर्युक्त हुन्छ सोच्ने कि ? बरु पोखरी भन्ज्यांगमा जग्गा खरिद गर्ने पैसाबाट टेकनथुम्किको विकास गर्न सके उक्त क्षेत्रमा बिकास निर्माणका कामले गति पनि पाउने त्यतातर्फ पनि विचार गर्ने कि ? होईन जग्गाधनी ईश्वरराज पन्थले भनेजस्तै (फेसबुक स्टाटस हाल पन्थले सो फेसबुक स्टाटस मेट्नुभएको छ ।) विवादका वावजुद पोखरी भन्ज्यांगको जग्गा खरिद गरि केहि दलालहरुलाई चलखेल गर्ने मौका दिने हो भने केहि भन्नु छैन किनकी मान्छेहरु नगरपालिकालाई घच्घच्याउदा घच्घच्याउदा थाकेर चिया पसलतिर भन्न थालेका छन् ”व्यासले न शिक्षाक्षेत्रमा केहि गर्न सक्यो न स्वास्थ्य क्षेत्रमा केहि गरेको देखियो जे सुकैको चक्कर होस् कति विरोध गर्ने छोडिदिउँ जे गर्छन् गरुन् एउटा डम्पिगं साईट बनाउन् ।”
फोहोर मैला सरसफाई केन्द्र निर्माण गर्न खोज्ने नगरपालिकाको प्रयासलाई कदापि बिरोध गर्न मिल्दैन तर अलिकति बिरोधका स्वरहरु सुनिदैमा त्यसलाई समाधान गर्नेतर्फ पाईला नचालि ”जग्गा किनीहालौ पछि जे होला होला !” भन्ने तर्कले नगरवासीले तिरेको करको सहि सदुपयोग होला त ?

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्