दल्सिङे राजाको दुइटा सिङ

बाबुराम नेपाली
  • ख-
  • ख+

एकादेशमा दलसिङ नाम गरेका राजा थिए । उनकोटाउकोमा दुइटा सिङ थियो र त्यसलाई गोप्य राख्नको लागि उनको कपाल काट्न धेरै टाढा देखि नाई बोलाइन्थ्यो र कपाल काटिसकेपछि त्यस नाइलाई राजाको सिङको बारेमा कसैलाई केही नभन्नु यदि भनेको पाइएमा मृत्युदण्ड दिने कबुल गराएर छोडिने रहेछ । त्यही क्रममा एक जना भकुन्दे नाम गरेको नाइलाई बोलाएर राजाको कपाल काट्न लगाइएछ । आफुले थाहा पाएको गोप्य कुरा कसैलाई भन्न नपाउँँदा भकुन्देलाई उकुसमुकुस भएछ । उ एकान्त जङ्गलमा गएर एउटा सालको रुख मुनी बसेर दलसिङे राजाको दुइटा सिङ भनेछ केही दिनपछि एउटा गाउँले आएर त्यो सालको रुख काटेर घरमा लगेर ढिकि बनाएछ । त्यस ढिकीमा धान कुट्ने बेलामा दल्सिङे राजाको दुइटा सिङ भन्ने आवाज आउँदो रहेछ , त्यसपछि लुँडीघान ले कल्ले भन्यो, कल्ले भन्यो ? भनेर सोध्दोरहेछ । अनि ढिकीले भकुन्देले भकुन्देले भन्दोरहेछ । अब त्यो दल्सिङे राजा सम्म पुग्यो कि पुगेन थाहा हुन सकेन किनकी कथा यहाँ पुगेपछि हामी बेस्सरी हाँस्यौं । तर मलाई यो कथा सम्झाउने प्रसङ्गले भने मेरो अन्तरात्मा धेरै पटक रोएको छ ।
मेरो गाउँमा कम्युनिष्ट पार्टीका एकजना नेता हुनुहुन्छ । सारै स्पष्टवक्ता त्यो भन्दा बढी उहाँको वर्णन गर्न चाहिन । मेरो घरमा र उहाँको घरमा एकै घरबाट भैँसीको दुध आउँथ्यो । मेरो घरमा त अझैसम्म आइरहेको छ । हामीलाई दुध पुर्‍याउने बाबुले मेरो घर अगाडी आइपुग्ने भएकोले मेरो घरमा दुध पहिले दिन्थे अनि मात्रै उनको घरमा दुध दिन्थे । एक दिन ती स्पष्टवक्ताले मेरो घरमा दुध पहिले दिने थाहा पाएपछि त्यसको घरमा पहिले दुध दिनेभए मेरो घरमा नल्याउनु भनेछन् । ती किशोरको मस्तिष्कमा के र कस्ता प्रश्न उब्जिए होला ?
मेरो गाउँमा एउटी कम्युनिस्ट नेतृ हुनुहुन्छ , स्पष्टवक्ता । उहाँले पनि मैले दुध खाने घरबाट नै दुध खानुहुँदो रहेछ र उहाँले पनि त्यसै भन्नुभएछ जसरी अघिल्लो नेताले भन्नुभयो ।
यी दुवै घटना भकुन्देले सोझै नभनेर रुखनुनी बसेर सुनाउँदा ढिकीले भनेको हो । ती नौसिङ्गे राजारनीलाई यसकुराको हेक्का छैन ।
यी दुवै कथाहरु सुनेर तपाईंहरु मैले भकुन्देको कथा सुनेर हाँसे झैं हाँस्नु भयो ?
तर मलाई भकुन्देको कथा सुनाउने घटना अर्कै हो । माथिका कथाहरु त प्रसङ्ग मिलेको भएर मात्रै सुनाइदिएको ।
हाम्रो गाउँ प्रगतिशील कम्युनिस्टहरु प्रचुर मात्रामा पाउने गाउँ हो । यहाँ अर्को पनि एकजना घाघडान कम्युनिस्ट नेता हुनुहुन्छ । उहाँ यति उदार हुनुहुन्छ कि दलितहरू सँग सारै नजिक हुनुहुन्छ । एकदिन ती घाघडान कम्युनिस्टको घरमा एउटा पुजा गरिएछ । दलित प्रति उदार सो कम्युनिस्टको घरमा एकजना दलित व्यक्ति पुजाको तयारीकै समयमा पुग्नुभएछ । ती उदार नेताले च्याप्प ती दलितको हात समाउनुभएछ अनि तानेर अलि पर लगेर ती दलितलाई पुजास्थलको नजिक नगइदिन अनुरोध गर्नुभएछ । कति महान उहाँ । यो कथा पनि मलाई भकुन्देले सोझै भनेको होइन है ।
माओवादीले जनयुद्ध शुरु गर्‍यो । बिभेद्को विरुद्ध बुलन्द आवाज उठायो। कतिपय ठाउँमा दलितको हातबाट सामुहिक भोजन गरायो । त्यही युद्ध लडेका योद्धाहरु अहिले कर्मकाण्डी पुजाको आयोजना गरी दलितलाई ससम्मान बिभेद गरिरहेका छन् । माओवादी नेतृत्व गण तथा उदयीमान नव नेतृत्व गण तपाईंहरुले हालसालै घरदैलो अभियान संचालन गरेर थुप्रै जनताहरुलाई प्रशिक्षित गरेर पार्टीमा समाहित गर्नुभयो । तिनीहरुलाई कम्युनिस्ट को मुल नितीको बारेमा बुझाउनुभयो ? तपाईंको प्रशिक्षणमा कम्युनिस्टका तथा माओवादका आधारभुत सिद्धान्त र मान्यताका विषयमा बहस हुँदैनन् ?
मोबाइलको रिङब्याक टोनमा जातिय भेदभाव हटाउने नारा गुन्जिरहँदा यी खालका भेदभावजन्य क्रियाकलापको साक्षी भएर बस्नुपरेको अवस्थामा पिडा घुट्क्याएर मौन बसिएन भने सामाजिक सदभाव भड्किएला ।

प्रस्तुत कथा काल्पनिक हो । यदि कसैसँग मिल्न गएमा त्यस घटनालाई नदोहोर्‍याउन सजग गराइन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्