पालुङ्टार र आँबु खैरेनी जोड्ने पक्कि पुल निर्माण हुँदै

बाबुराम नेपाली
  • ख-
  • ख+

तनहुँ । तनहुँ जिल्ला आँबु खैरेनी गाउँ पालिका वडा नं. १ सत्रसय पोखराटार र गोरखा जिल्ला पालुङटार नगरपालिका वडा नं. ८ दीउलीघाट बीचको मर्स्याङ्दी नदीमा मोटरेबल पुल बनिरहेको छ । पहिले पहिले हिउँदमा मात्रै डुङ्गाद्वारा आवतजावत गर्न सकिने यस स्थानमा करीब पाँच दशक अगाडी झोलुङ्गे पुल बनेको थियो । दायाँबायाँ जाली वा बार नभएको सो पुल जिर्ण बन्दै गएपछि चार दशक अगाडी सो भन्दा अग्लो झोलुङ्गे पुलको निर्माण गरियो । दिउलीघाटमा झोलुङ्गे पुल बन्नुभन्दा अगाडी अकला मन्दिरको अगाडी ढुङ्गाहरु तथा बाँस र सालको काठको सहायताले हिउँद तथा वर्षा शुरु हुनुभन्दा अगाडिसम्म आवतजावत गर्न सहज हुनेगरी अस्थायी पुल बनाइन्थ्यो । तत्कालीन बृटिश सेनाका मेजर नर बहादुर बाचेको प्रविधिक ज्ञानको सहयाताले स्थानिय सामाग्री र श्रमको सदुपयोग गरेर बनाइने सो पुल वर्षाको बाढीले बगाउने हुनाले प्रत्येक वर्ष बनाउनुपर्थ्यो ।
डुङ्गा , अस्थायी पुल, झोलुङ्गे पुल हुँदै वारिपारी गर्ने गोरखा र तनहुँका बासिन्दाहरुले अब भने पक्की पुलमा यात्रा गर्ने अवसर पाउने भएका छन् । २०७७ सालमा ठेक्का सम्झौता भएर काम शुरु भएर २०८१ सालमा हस्तान्तरण गर्ने लक्ष्य रहेकोमा वर्षामा आउने बाढी तथा अरु समयमा मर्स्याङ्दी जलविद्युत परियोजनाको ड्यामको पानी तालिने कारणले समयमा हस्तान्तरण गर्न नसकिने सम्भवना रहेको त्यहाँ कार्यरत कर्मचारी सुर्य अर्याल बताउनुहुन्छ । यस पुलको बजेट तथा ठेकेदार कम्पनीको विषयमा जानकारी माग्दा सम्बन्धित दुवै वडामा कुनै तथ्यांक नरहेको सम्बन्धित वडाध्यक्षहरुले बताउनुभयो । पुल निर्माण क्षेत्रको हेरचाह गर्दै आउनुभएको सुर्य अर्यालले दिनुभएको जानकारी अनुसार ५५ मिटरका २ स्पान राखेर बनाइने पुलको लम्बाई जम्मा ११० मिटर छ । बीचमा एउटा पिलार र दुबै छेउमा एक एक गरी दुइटा अबुट्मेन्ट राखेर बक्स गडर ब्रीज मोडेलमा बन्दै गरेको यो पुल ११ मिटर चौडा हुनेछ ।

यो पुल पालुङ्टारको दक्षिणी तथा पुर्वी भेगको बिकासको ढोका बन्नेछ १ यस पुल निर्माण गर्ने निकायले पुलको दायाँबायाँ दुवैतर्फ दुई दुई किलोमीटर सडक कालोपत्र गरिदिने संकल्प गरे पनि तनहुँ तर्फ बाटो निश्चित गर्न नसकिएको आँबु गाउँपालिका वडा नं. १ का वडाध्यक्ष प्रेम बहादुर गुरुङ बताउनुहुन्छ । साविक पोखराटारको बाटोमा स्थानियले अवरोध गरेपछि त्यहाँ कालोपत्रे गर्न नसकिने भएकोले बैकल्पिक बाटोको खोजी भैरहेको वडाध्यक्ष गुरुङले बताउनुभयो । यस बिषयमा सरोकरावाला तथा स्थानिय नेता दिपक बिक को भनाइ अनुसार पोखराटार पहिले सुकुम्बासी बस्ती हो र २०५१ सालमा मात्र यहाँका बासिन्दाहरुले लालपुर्जा पाएका हुन् । अहिलेको बाटो त्यही बस्तीको बीचबाट बनेको छ । यो बाटो १५ मिटरको मापदण्डमा मात्रै बनाउने हो भनेपनि दायाँबायाँका सबै घर भत्काउनु पर्ने हुन्छ र बाटो फेरि घुमेर बस्ती मुनीबाट नै जाने भएकोले राजमार्गको मापदण्ड अनुसार बाटो छोड्ने हो भने सबैजना ३० वर्ष अगाडी झैं सुकुम्बासीको अवस्थामा पुग्ने भएकोले बैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरिएको हो । उपभोग गर्न मिल्ने जग्गा नै बाँकी नरहेपछि जग्गाको भाउ बड्नु तथा बिकास हुनुको अर्थ नरहेको बि.क. बताउनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्