आँबुखैरेनी ३ मा आमा समुहद्धारा साबुन उद्योग स्थापना

बाबुराम नेपाली
  • ख-
  • ख+

तनहुँ । आँबु खैरेनी गाउँ पालिका वडा नं ३ मा सरल लघु उद्यमी आमा समुहले साबुन उद्योगको स्थापना गरेको छ । गौरीमाया थापामगर , मधु भट्ट , सुमित्रा श्रेष्ठ , खेममाया थापामगर, तुलसी श्रेष्ठ , लिला भुजेल, रिना लामिछाने , सुशीला थापा, पिपला अछामी लगायत १० जना जागरुक महिलाहरू संगठित भरेर जनही रु. ३हजाररुपैया संकलन गरी शुरु गरिएको यो उद्योगको पुँजी नौ महिनामा करीब तिन लाख पुगिसकेको छ । आँबुखैरेनीमा साप्ताहिक रुपमा लाग्ने हाटबाजरामा स्थापना गरिएको सो उद्योगको मुख्य बजार त्यहीँ लाग्ने हाट नै हो । अहिले चलिरहेको आँबुखैरेनी महोत्सवमा सरल लघु उद्यमी आमा समुहद्वारा उत्पादित सामाग्रीको स्टल पनि राखिएको छ । दश दिनसम्म चल्ने यो महोत्सवमा यहाँ उत्पादित सबै प्रकारका साबुनहरुको अधिकतम बिक्री गर्ने लक्ष्य राखिएको छ ।
यस समुहले कम प्रयोगमा आउने तथा खेर जाने स्थानिय सामाग्रीहरुः तीतेपाती, निम, सुन्तलाको बोक्रा , घ्युकुमारी, चिउरी आदीको प्रयोग गरेर कपडा धुने तथा भाँडा माझ्ने तरल साबुन , श्याम्पु, हार्पिक, ह्याण्ड वास, कार वास, नुहाउने साबुन लगायतका साबुनजन्य पदार्थहरु बनाउने गरेको छ । आँधाजसो कच्चापदार्थ स्थानिय प्रयोग गरिएपनि आधाजसो कच्चापदार्थ तथा केमिकलहरु भारतबाट आयात गर्नैपर्ने स्थिति छ । बिदेशी साबुनहरु भन्दा गुणस्तरीय र कम मुल्यको भएपनि उनीहरुको प्रतिस्पर्धामा आउन नसकेको समुहको सचिब सुमित्रा श्रेष्ठ बताउनुहुन्छ । बिज्ञापन नगरिएको तथा उपभोक्तालाई आकर्षण गराउन नसकिएको कारणले बजार प्रबर्द्धन गर्न कठिनाई भएको छ । यस अघि कम गुणस्तरका यस्ता सामाग्रीहरु बजारमा आएकाले पनि ग्राहकहरु गुणस्तर प्रति शसंकित रहेको उहाँ बताउनुहुन्छ । उहाँको अनुसार सरकारले आवस्यक केमिकल र कच्चापदार्थ स्वदेशमै उपलब्ध गराएर गुणस्तरमा लगाम लगाउने हो भने नेपाल साबुनमा आत्मनिर्भर हुने तथा जनताले सस्तो तथा उच्च गुणस्तरका उत्पादन्हरुको उपभोग गर्न पाउने थिए ।
नेपालभरी धेरै जनालाई साबुन बनाउने तालिम दिइसक्नुभएको लाली गुराँस साबुन उद्योगका प्रोपाइटर तथा प्रशिक्षक सुस्मिता थापामगरले नौ महिना अगाडी आधारभुत तालिम प्रदान गर्नुभएकोमा यसै महिना ५ दिने सरफ उत्पादन तालिम दिनुभएपछि यहाँ सरफ पनि उत्पादन गर्न थालिएको छ । आँबु खैरेनी गाउँ पालिकाको संयोजकत्वमा प्रदान गरिएको सो तालिम हालसालै सम्पन्न भएको छ ।
नवलपुर निबासी सुस्मिता थापामगरले रु. तीस हजार लगानी गरी साबुन उत्पादन शुरु गर्नुभएकोमा त्यसकै मुनाफाबाट साबुन उद्योग सन्चालन गर्न सफल हुनुभएको छ । इच्छाशक्ति राखेर थोरैमात्रै मेहनत गरेरब्पनि यो उद्यम चलाउन सकिने बताउँदै उहाँले आफुले तालिम लिन तथा उत्पादन गर्न धेरै नै कठिनाई भोग्नेपरेकोले उद्यम गर्न चाहने महिलाहरुलाई सहज होस् भन्ने उद्देश्यले आवस्यक ठाउँहरुमा तालिम प्रदान गर्दै आउनुभएको छ । उहाँको अनुसार आत्मनिर्भर हुने चाहना भएका तर ठुलो लगानी गर्न असमर्थ हुनेहरुका लागि यो अति उपयुक्त बिकल्प हो । आठ दश जना संगठित भएर जनही दुई चार हजार जम्मा गरेर हप्तामा दुई या तीन दिन मात्र खटिने हो भने मासिक तीस देखि पैँतिस हजार सहजै कमाउन सकिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?