काठमाडौं। रोमाञ्चक खेलमा लेवनानलाई हराउँदै नेपाल वाफ महिला च्याम्पियनसीपको फाइनलमा प्रवेश गरेको छ । साउदी अरवको जेद्दाहस्थित किंग अब्दुलाह स्पोर्ट्स सिटी स्टेडियममा नेपालले लेवनानलाई २-१ ले पराजित गर्दै जोर्डनसँग दुई दिनपछिको फाइनल भिडन्त सुनिश्चित गरेको हो ।
दोस्रो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा कर्नर किकबाट रिफ्लेक्ट भएको बललाई प्रिती राईले उत्कृष्ट गोल गर्दै नेपाललाई जितको बाटो देखाइन् ।
खेलको ३८ औं मिनेटमा पुजा रानाको आत्मघाती गोलमार्फत लेवनानले अग्रता लिएको थियो । खेलको ७६औं मिनेटमा सावित्रा भन्डारी (साम्बा) ले चलाखीपूर्ण गोल गर्दै नेपाललाई बराबरीमा फर्काएकी थिइन् । खेलको अन्तिम समयमा प्रीतिले गोल गर्दै नेपाललाई फाइनल पुर्याइन् ।
अब नेपालले उपाधिका लागि जोर्डनसँग खेल्नेछ ।
साभारः नेपाल प्रेस