तनहुँ । ‘प्रथम बागमती प्रदेशस्तरीय राष्ट्रिय प्रतियोगिता’ अन्तर्गत क्रिकेट पुरुषतर्फ गण्डकी प्रदेश फाइनल प्रवेश गरेको छ ।
चितवनमा जारी प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ६८ रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । आज सम्पन्न सेमीफाइनमा ओपनर इश्वर क्षेत्रीको व्यक्तिगत ६६ रनको योगदान र कमल परियारको उत्कृष्ट बलिङका कारण गण्डकीले दिएको १७५ रनको लक्ष्य भेट्टाउन मैदान उत्रिएको कर्णाली १६.४ ओभरमा सबै विकेट गुमाउँदै १०६ रनमात्रै बनाउन सकेको थियो ।
गण्डकीका लागि इश्वरले ३० बलको सामना गर्दै ८ छक्का र ३ चौकाको मद्धतले ६६ रन बनाए भने विपिन खत्रीले ३८, सुदिप खत्रीले २८ रन बाहेक अन्य खेलाडीहरुले भने दोहोरो अंक छुन सकेनन् । पहिलो व्याटिङमा उत्रिएको गण्डकीका भरपर्दा खेलाडी अर्जुन कुमाल भने दुई बल खेल्दै दिनेश अधिकारीको बलमा क्याच आउट हुन पुगे भने दिपक डुम्रे समेत दिनेशकै बलमा सून्य रनमा पेभिलियन फर्किए । चौथो क्रममा आएका करण पगेनी रन आउट भए । उनले समेत रनको खाता खोल्न सकेनन् । रनको खाता खोल्न नसकेका अर्का व्याट्स्म्यान कमल परियार समेत दिनेशकै बलमा धरापमा परे ।
कर्णालीका लागि दिनेशले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ३९ रन दिएर ५ विकेट हात पारे भने दिपेन्द्र रावतले २ विकेट लिए ।
यत जवाफी व्याटिङ गरेका कर्णालीका लागि सर्वाधिक रन विपिन रावलले बनाए । उनले २५ बलमा ३८ रन जोडे ।
गण्डकीका कमल परियारले ३.४ ओभरमा १९ रन खर्चिएर ४ विकेट हात पारे । विपिन खत्रीले ४ ओभरको स्पेलमा १ मेडन राख्दै १७ रन दिएर ३ विकेट लिए । त्यस्तै अंकित न्यौपाने र अमृत गुरुङले समान १–१ विकेट हात पारेका छन् ।
फाइनल खेल बैशाख १ गते हुने र खेलाडीहरुको आजसम्मको खेल र आत्मबललाई मुल्यांकन गर्दा गण्डकी प्रदेशले प्रतिायोगितामा उपाधी जित्न सक्ने प्रवल सम्भावना रहेको नेपाल क्रिकेट संघ तनहुँका अध्यक्ष एवं फाईनलमा पुग्न सफल गण्डकी प्रदेशका टिम मेनेजर मदन तिमल्सेनाले जानकारी दिएका छन् ।