
धार्मिक, प्राकृतिक, सांस्कृतिक, भौगोलिक रुपमा सम्पन्न व्यास नगरपालिका राजनीति गर्नेहरुको लागि पनि उर्वर भुमीको रुपमा परिचित रहेको छ । व्यास नगरपालिकामा जन्मने, हुर्कने र राजनीति गर्नेहरु प्रदेश सांसद, गण्डकी प्रदेश योजना आयोगको उपाध्यक्ष, प्रदेश मन्त्री, मुख्यमन्त्री, राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, संंविधानसभा सदस्य, संघिय सांसद, मन्त्री, उपप्रधानमन्त्री, सभामुख र राष्ट्रपति समेत भएका छन् । जुन हिसावले व्यासको तपोभुमी व्यासको आर्शिवाद लिएर विभिन्न पदमा विराजमान भएपनि ति व्यक्तिहरुबाट व्यास नगरपालिकाको विकासको लागि, व्यास नगरपालिकाको वासिन्दाको उन्नति प्रगतिका लागि गरेको काम शुन्य बराबर रहेको छ । न कुनै नेताले आजसम्म ऐतिहासिक तनहुुसुर क्षेत्रलाई सडक संजाल दरिलो बनाउन काम गरे न त्यसक्षेत्रमा पर्यटन प्रर्वद्धन गर्नका लागि योजनाबद्ध काम गर्न अग्रसर रहे । गरे त गरे भाषण गरेर यो गर्छु त्यो गर्छु भन्ने खोक्रा भाषण मात्र गरे ।
व्यास नगरपालिकाको अर्को ऐतिहासिक महत्व बोकेको शहिदहरुको गाउँका रुपमा परिचित पुलिमर्यागंको हालत तनहुँसुरभन्दा कत्तिपनि फरक रहेको छैन । भाषणहरुमा पुलिमर्यागंका गुरुगंहरुको प्रजातन्त्र स्थापनाको लागि योगदान यस्तो र उस्तो भनेपनि पुलिमर्यागंबाट फर्कदा दुलैपानीमा माछाको सुकुटी खाएर दमौली आईनपुग्दै सबैले पुलिमर्यागंलाई चटक्कै बिर्सने काम गरिरहेका छन् । प्रशस्त सम्भावना बोकेको गलेखाम कोट त व्यास नगरपालिकाको अभिन्न अंग हो भनेर चुनावताका मात्र याद आउने गर्दछ भन्ने कुरा जगजाहेरै छ । अलिकति बिकास भएको दमौली बजार नजिकैको मानहुँकोट हो त्यो पनि ठुला बडाहरुको जग्गा भएको कारणले विकास भएको हो मगरहरुको बसोवास रहिरहेको हुन्थ्यो भने मानहुँकोटलाई कसैले फर्किएर हेर्दैनथ्यो भन्ने कुरा दमौलीका बच्चा बच्चालाई पनि राम्ररी थाहा छ ।
त्यसैगरि व्यास नगरपालिका धार्मिक पर्यटनमा पनि प्रशस्त सम्भावना बोकेको क्षेत्र भएपनि त्यसको प्रचार प्रसार र भौतिक विकाका लागि हुनुपर्ने जति खासै काम नभएको कुरा कहि कतै छिपेको छैन । व्यास गुफा, पराशर, घाँसी कुवा, छाव्दि बराह, निर्बु बराह, छांग बराह लगायतका स्वदेश तथा विदेशमा नाम चलेको थुप्रै महत्वपूर्ण तिर्थस्थलहरु हुदाँ पनि पदमा पुगेका राजनीतिकर्मीले आँखा चिम्लिदिँदा ति स्थानहरुबाट प्राप्त हुनुपर्ने फाईदा व्यास नगरपालिकाका बासिन्दाले कहिल्यै पाउन सकेका छैनन् । मुक्तिनाथक्षेत्र, व्यासक्षेत्र र देवघाटघामक्षेत्रको धार्मिक सर्किट बनाउन सके पर्यटकहरुको ओईरो लाग्ने सम्भावना रहदा रहदै पनि ति धार्मिकं संघ संस्थाहरुमा राजनीतिक नियुक्ति र आसेपासेलाई पद दिलाउन भन्दा खासै सिन्को भाँच्ने काम कुनै नेताहरुले गरेको भेटिदैन ।
स्वस्थ्य सेवा प्राप्त गर्ने मामिलामा पनि व्यास नगरपालिकाका बासिन्दालाई सारै नै हेपिएको छ । साधारण औषधी उपचारको लागि पनि सदिऔंदेखि पोखरा, चितवन, काठमाण्डौ जानुपर्ने समस्याबाट यहाँका वासिन्दाले कहिल्यै मुक्ति पाउन सकेका छैनन् अब त कुनै नेता, सांसद तथा मन्त्रीले व्यास नगरपालिकाभित्र सुविधा सम्पन्न अस्पताल बनाउछौ भन्ने परिकल्पना सुनाए पनि डिपिआर रकम पचाउने दाउ होला… भनेर सोच्न सक्ने व्यास नगरवासी भईसकेका छन् । तनहुँको सदरमुकाम दमौली बजारमा बर्षौदेखि आफै विरामी रहेको दमौली अस्पताल सुधार गरि केहि विज्ञसहितको सेवा दिए ”नहुनु मामा भन्दा … निको ” भन्दै बस्नुहुन्थ्यो भन्ने जमात पनि प्रशस्तै रहेको छ तर दमौली अस्पतालको वृद्धि बिकासभन्दा फोटो सेसनको लागि नेतागणहरुको सवारी भईरहेकोे देख्दा व्यास नगरवासीले बर्षौदेखि कुरीकुरी गरिरहेका छन् । हजारौ रोपनी जग्गा व्यक्तिका नाममा दर्ता भईसक्दा पनि बिचरा दमौली अस्पताल २०, ३० रोपनी जग्गा नपाएर स्तरउन्नति हुन सकेको छैन । रह्यो कुरा व्यास नगरपालिकाले व्यास १० दुम्सिमा निर्माण गर्दै गरेको नगर अस्पतालको त्यो अस्पताल पनि यो जुनीमा ंसंंचालन होला र राम्रो सेवा लिन पाईएला भन्नेमा बच्चादखि बृद्धसम्म सबैको मनमा संशय रहेको छ ।
दरै, बोटे, गुरगं, मगर, बाहुन, क्षेत्री, नेवार, दलित लगायतका जातजातिको बसोबास भएको व्यास नगरपालिका कला, संस्कृति र मौलिकतामा धनी नगरपालिका हुदाहुदै पनि यस क्षेत्रलाई पर्यटकिय गन्तव्य बनाउने तर्फ कसैले पाईला चालेको देखिदैन । न व्यास नगरुपालिकामा एउटा गतिलो खेल मैदान छ न खेलमैदान बनाउनको लागि सार्वजनिक जग्गा बाँकी रहेको छ । यहाँ राजनीतिक दलका भाषण गर्न सभाहल र मन्चहरु निर्माण गर्ने गरिन्छ तर खेलमैदानको कुरा गर्यो सबैको कन्सिरिको रौं तात्ने गरेको कहिकतै छिपेको छैन । व्यास नगरपालिकाले फोहोर मैला विर्र्सजन केन्द्र स्थापनाको लागि जग्गा खोजेको त दशकौ भईसकेको छ ।
व्यास नगरपालिका जन्मने, हुर्कने र राजनीति गर्नेहरु वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल, पुर्वमन्त्रीहरु गोविन्दराज जोशी, कृष्णकुमार श्रेष्ठ किसान, अमरराज कैनी, संविधान सभा सदस्य रामचन्द्र पोखरेल, राष्ट्रिय योजना आयोगका पटक पटकका पुर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेल, राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थ, राष्ट्रिय सभाकी पुर्व सदस्य कलिला खान, गण्डकी प्रदेशका पुर्व मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरल, गण्डकी प्रदेशका पुर्व मन्त्री डोवाटे बि.क., गण्डकी प्रदेशका सांसद अशोक कुमार श्रेष्ठ, गण्डकी प्रदेशका पुर्व सांसद सरिता गुरुगं, गण्डकी प्रदेश योजना आयोगको पूर्व उपाध्यक्ष रघुराज काफ्ले लगायतका एक से एक महानुभावहरु भएपनि आजसम्म तनहुँ जिल्लाको सदरमुकाम दमौली रहेको व्यास नगरपालिकाले न एउटा गतिलो अस्पताल पाएको छ , न एउटा सरकारी क्याम्पस पाएको छ , न फोहोर सरसफाई केन्द्र वा डम्पिगं साईटको समस्या हल हुन सकेको छ । न केटाकेटीले फुटवल खेलौ, क्रिकेट खेलौ भने मैदान पाएका छन् । न यहाँका धार्मिक स्थलहरुले गतिलो भौतिक संरचना पाएका छन् न प्रचार प्रसार पाएका छन् । व्यासका ऐतिहासिक स्थलहरु हिजो भन्दा आज आजभन्दा भोलि हराउने र लोप हुने अवस्थामा पुग्न लागेको बैले देखिरहेका छन् ।
व्यासमा जन्मने, हुर्कने र राजनीति गर्नेहरु त थुपै भए सबै आफ्नो दुनो सोझ्याउनेहरुमात्र भेटिए । हुदा हुदा स्थानिय जनप्रतिनिधिहरु, कर्मचारीहरु पनि आफै मोटाउने ध्याउन्नमा लाग्दा व्यास नगरपालिकाको भलो गर्ने, शिक्षा, स्वाथ्य , कृषि, रोजगारीको बारेमा सोच्ने कोहि भएनन् । सबै यहाँका जनताहरुलाई चुस्ने मात्र भेटिए यहाँका जनताको सुविधाको लागि काम गर्ने कोहि भेटिएनन् । व्यास नगरपालिकाका बासिन्दालाई हेप्ने मात्र भेटिए माया गर्ने कोहि भेटिएनन् ।
शिक्षा, स्वाथ्य, कृषि, बेरोजगारी समस्याका बारेमा सचेत नागरिक बनेर बेलैमा आवाज उठाउन नसके व्यास नगरवासीको टाउको टेकेर अब आउने नेताहरुले पनि यसरी नै व्यास नगरवासीलाई चुसिरहने छन् । व्यास नगरवासी विविधतायुक्त गाउँ शहर, समृद्ध मेरो व्यास नगर भन्दै मख्ख परिरहने छन् ।