यूएईको मध्यस्थतामा रूस र युक्रेनबीच २३० युद्धबन्दी आदानप्रदान

सर्वज्योति
  • ख-
  • ख+

रुसको कुर्स्क क्षेत्रमा किएभले अचानक आक्रमण गरेको दुई साता नबित्दै रूस र युक्रेनले शनिबार २३० जना युद्धबन्दीको आदानप्रदान गरेको घोषणा गरेका छन् । आदानप्रदानमा दुबैतर्फका बराबर युद्धबन्दी रिहा भएको मध्यस्थकर्ता संयुक्त अरब इमिरेट्स ९यूएई०ले जानकारी गराएको छ ।

कुर्स्कमा युक्रेनले आफ्नो आक्रमण बढाउँदै गर्दा र रूसले पूर्वी युक्रेनी शहर लक्षित आक्रमणको तयारी गरिरहेको समाचार आइरहेको समय यो आदानप्रदान भएको हो । युक्रेनी स्वतन्त्रता दिवसमा पनि यस्तो आदानप्रदान भएको थियो ।

दुवै देशले कैदी अदलाबदली सम्झौतामा मध्यस्थता गरेको यूएईप्रति आभार प्रकट गरेका छन् ।

‘हाम्रा अन्य ११५ देशभक्त सुरक्षाकर्मी आज घर फर्किसकेका छन्’, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, ‘यी सैनिक नेशनल गार्ड, आर्म्ड फोर्सेज, नेभी, स्टेट बोर्डर गार्ड सर्भिसका सैनिक हुन् ।’

उनले युक्रेनको झन्डा बेरेर बसेका मानिसहरूको फोटोसहित सन्देश जारी गरेका छन् ।

किएभले गत अगस्त ६ मा भएको कुर्स्क आक्रमणमा सयौं रूसी सैनिकलाई बन्धक बनाएको यसअघि बताएको थियो ।

मस्कोले उक्त आदानप्रदानको पुष्टि गर्दै कुस्कमा बन्दी बनाइएका ११५ सैनिकलाई फिर्ता गरिएको जनाएको छ ।

रूसी रक्षा मन्त्रालयले भनेको छ, ‘वार्ता प्रक्रियाको परिणामस्वरुप कुर्स्क क्षेत्रमा बन्दी बनाइएका ११५ जना रूसी सैनिकलाई किएभ शासनको नियन्त्रणमा रहेको इलाकाबाट फिर्ता गरिएको छ । ती सैनिक अहिले छिमेकी बेलारूसमा रहेका छन्, उनीहरूलाई ‘मनोवैज्ञानिक(चिकित्सा सहायता’ प्राप्त भइरहेको छ र चाँडै नै उनीहरूलाई स्वदेश ल्याइनेछ ।’

यूएईले रूसी सङ्घ र गणतन्त्र युक्रेनबीच नयाँ बन्दी आदानप्रदानमा सफलतापूर्वक मध्यस्थता गरेको जनाएको छ ।

किएभ र मस्कोबीच दुई वर्षभन्दा लामो युद्ध जारी रहे पनि युद्धका क्रममा विपक्षीको नियन्त्रणमा गएका कैदीहरूको पटकपटक आदानप्रदान पनि हुँदै आएको छ । (रासस/एएफपी)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?