अमेरिका निर्वाचनः इलेक्टोरल कलेज के हो, धेरै मत ल्याउने उम्मेदवार किन राष्ट्रपति नबन्न पनि सक्छ

सर्वज्योति
  • ख-
  • ख+

संयुक्त राज्य अमेरिकामा नयाँ राष्ट्रपति छान्न आगामी नोभेम्बर ५ मा (कार्तिक २० गते) मतदान हुन लागेको छ। तर त्यहाँ राष्ट्रपति निर्वाचित सर्वाधिक मत ल्याएर मात्र पुग्दैन।

अमेरिकामा मतदाताको प्रत्यक्ष मतबाट नभई इलेक्टोरल कलेज भनिने निर्वाचक मण्डलले राष्ट्रपति छान्छ। त्यहाँ राज्यहरूलाई मतभार दिइएको हुन्छ, अनि त्यसकै आधारमा परिणामको छिनोफानो हुन्छ।

तसर्थ धेरै सर्वसाधारण मतदाताको समर्थन पाउने उम्मेदवार पनि निर्वाचनमा पराजित हुने सम्भावना रहन्छ। उक्त प्रणाली र राष्ट्रपति निर्वाचित हुने प्रक्रियाबारे हामीले यहाँ चर्चा गरेका छौँ।

इलेक्टोरल कलेज के हो ?
यो निर्वाचनमा अधिकांश अमेरिकीहरूले डेमोक्र्याट उम्मेदवार कमला ह्यारिस वा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पलाई भोट हाल्ने छन्।

मतदाताले दिएको मत सीधै उनीहरूलाई जाँदैन। अर्थात् उम्मेवारहरूबीच राष्ट्रव्यापी प्रत्यक्ष प्रतिस्पर्धा हुँदैन, प्रत्येक राज्यमा छुट्टाछुट्टै प्रतिस्पर्धा हुन्छ।

जनताले दिएको मत उनीहरूलाई प्रतिनिधित्व गर्ने इलेक्टोरल कलेजअर्थात् निर्वाचक मण्डलमा रहने व्यक्तिहरूलाई जान्छ। यो समूहमा रहेका व्यक्तिलाई इलेक्टर अर्थात् निर्वाचक भनिन्छ। उनीहरूको काम राष्ट्रपति र उपराष्ट्रपति चयन गर्नु हो।

कुनै राज्यमा निर्वाचन जित्नु भनेको उम्मेदवारले सो राज्यसँग भएका सबै इलेक्टोरल कलेज मत हात पार्नु हो। अमेरिकामा ५० राज्य छन्। ती राज्यसँग भएको इलेक्टोरल कलेज मतको कुल सङ्ख्या ५३८ छ।

इलेक्टोरल कलेजको भेला प्रत्येक चार वर्षमा हुने निर्वाचन सकिएपछि केही सातामा आयोजना हुन्छ। त्यही भेलाले राष्ट्रपति र उपराष्ट्रपति छान्छ।

कम्तीमा २७० इलेक्टोरल कलेज मत पाउने उम्मेदवार राष्ट्रपति निर्वाचित हुन्छन्। निजसँगै उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेको व्यक्ति स्वतः निर्वाचित हुन्छन्।

ूकलेजू शब्दले राज्यका तर्फबाट मत दिने निर्वाचकहरूको समूहलाई बुझाउँछ। अमेरिकामा ती व्यक्तिलाई इलेक्टर भनिन्छ।

यो प्रणाली राष्ट्रपति निर्वाचनमा मात्र प्रयोग हुन्छ। अरू निर्वाचनमा लोकप्रिय मतका आधारमा नै परिणाम आउँछ।

इलेक्टोरल कलेजले कसरी काम गर्छ ?

प्रत्येक राज्यमा त्यहाँको जनसङ्ख्याको आकारका आधारमा इलेक्टोरल मतको सङ्ख्या तोकिएको हुन्छ।

क्यालिफोर्निया राज्यसँग सर्वाधिक ५४ इलेक्टोरल मत छ। कम जनसङ्ख्या भएका वाइओमिङ, अल्यास्का, नोर्थ डकोटा र वाशिङ्टन डीसीसँग न्यूनतम तीन-तीन मत छ।

सामान्यतया प्रत्येक राज्यमा सबैभन्दा धेरै मतदाताको प्रत्यक्ष मत पाउने पार्टीले राज्यभरिको इलेक्टोरल कलेज मत पाउँछ।

उदाहरणका लागि, यदि रिपब्लिकन उम्मेदवारले टेक्सस राज्यमा ५०।१ प्रतिशत मत ल्याए भने निजले उक्त राज्यका सबै ४० इलेक्टोरल कलेज मत हात पार्छन्। राज्यमा ठूलो मतान्तरले जित्ने उम्मेदवारले भनेको निर्धारित सङ्ख्याको इलेक्टोरल कलेज मत नै हो।

तसर्थ उम्मेदवारहरू देशभरि धेरै मतदातालाई आफ्नो पक्षमा उभ्याउनेभन्दा पनि मत जता पनि ढल्किन सक्ने भएकाले कडा प्रतिस्पर्धा हुने स्विङ स्टेट भनिने राज्यहरूमा विशेष मेहनत गर्छन्।

उम्मेदवारले केही राज्यहरूमा निकै कम मतान्तरबाट चुनाव जितेको र देशभरिको समग्र मत कम पाएको अवस्थामा पनि राष्ट्रपति बन्ने सम्भावना रहन्छ।

सन् २०१६ मा डोनल्ड ट्रम्पले देशभरिबाट पाएको मतको सङ्ख्या हिलरी क्लिन्टनको भन्दा ३० लाख कम थियो। सन् २००० मा जोर्ज डब्ल्यू बुशले एल गोरलाई पराजित गरेको भए पनि गोरले पाएको मत बुशकोभन्दा झन्डै पाँच लाख बढी थियो।

उन्नाइसौँ शताब्दीमा तीन उम्मेदवारहरू आफ्ना निकटतम प्रतिद्वन्द्वीको भन्दा कम लोकप्रिय मत पाएर पनि राष्ट्रपति निर्वाचित भएका थिए।

निर्वाचक मण्डलको सकारात्मक र नकारात्मक पक्ष
फाइदाः

उम्मेदवारहरूका लागि साना राज्य पनि महत्त्वपूर्ण हुन्छन्
उम्मेदवारहरूले देशैभरि भोट माग्न गइरहनुपर्दैन
पुनः गणना गर्नुपरेको अवस्थामा सहज हुन्छ किनभने प्रत्येक राज्यको छुट्टाछुट्टै गणना गर्न सकिन्छ

बेफाइदाः

कैयौँ मतदाताहरूले आफ्नो मतको अर्थ नभएको महसुस गर्छन्
स्विङ स्टेट भनिने अनिश्चित राज्यहरू निकै शक्तिशाली हुन्छन्
धेरै मत पाउने उम्मेदवारले पनि चुनाव हार्न सक्छ
फर्जी निर्वाचकहरू देखा पर्ने जोखिम रहन्छ

स्विङ स्टेट के हो ?

अधिकांश राज्यले प्रत्येक निर्वाचनमा एउटै पार्टीलाई जिताउँछन्।

त्यस कारण राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारहरूले स्विङ स्टेट भनिने परिणाम अनिश्चित हुने राज्यहरूमा आफ्नो ध्यान केन्द्रित गर्छन्।

सन् २०२४ को निर्वाचनमा एरिजोना, नोर्थ क्यारलाइना, जोर्जा, मिशिगन, नभाडा, पेन्सिल्भेनिया र विस्कन्सिनसहित सात राज्यमा उम्मेदवारहरूबीच उच्च प्रतिस्पर्धा हुने देखिएको छ।

यसपालि ती राज्यलाई ब्याटलग्राउन्ड अर्थात् सङ्ग्रामभूमि मानिएको छ। ती राज्यबाट प्राप्त हुने इलेक्टोरल कलेज मतले नै परिणाम छिनोफानो गर्ने आकलन गरिएको छ।

सर्वाधिक धेरै मत ल्याएर पनि राष्ट्रपति बन्न वञ्चित
कुनै उम्मेदवार देशभरि मतदातामाझ सर्वाधिक लोकप्रिय भएर पनि २७० इलेक्टोरल मत ल्याउन नसक्ने सम्भावना रहन्छ।

खासमा यसअघि भएका छवटा निर्वाचनमध्ये दुइटामा आफ्ना प्रतिद्वन्द्वीको भन्दा कम मत ल्याउने दुई उम्मेदवार राष्ट्रपति बनेका थिए।

सन् २०१६ मा डोनल्ड ट्रम्पले झन्डै ३० लाख मत कम पाएका थिए। तर तर इलेक्टोरल कलेजले उनलाई बहुमत दिएका कारण उनी राष्ट्रपति बने
सन् २००० मा जोर्ज डब्ल्यू बुशले आफ्ना प्रतिद्वन्द्वीको भन्दा पाँच लाख कम मत पाएका थिए।

यस्तो प्रणाली किन छानियो ?
सन् १७८७ मा अमेरिकाको संविधान निर्माण गर्दा देशभरिको लोकप्रिय मतबाट राष्ट्रपति निर्वाचित गर्ने व्यवस्था मिलाउन देशको विशाल आकार र सञ्चारको कठिनाइका कारण व्यावहारिक थिए।

त्यसैले संविधानका निर्माताहरूले प्रत्येक राज्यले इलेक्टर छान्न पाउने गरी इलेक्टोरल कलेज बनाए।

यस्तो प्रणालीमा साना राज्यहरूको मतले ठूलो मान्यता पाउने भएका कारण यो प्रणालीलाई त्यस्ता राज्यहरूले समर्थन गरे।

अनि दासहरूको बाहुल्य रहेका दक्षिणी राज्यहरूले पनि यो प्रणालीमा समर्थन जनाए।

अमेरिकामा त्यस बेला दासहरूले मतदानको अधिकार पाएका थिएनन् तर जनगणनामा उनीहरूलाई पनि पाँच जनाबराबर तीन जनाका दरले गणना गरिन्थ्यो। यसमा राज्यको जनसङ्ख्याका आधारमा इलेक्टोरल कलेज मतको सङ्ख्या निर्धारण हुने भएकाले उनीहरू रहने राज्यको प्रभाव बढी हुने अवस्था थियो।

के इलेक्टरहरूले आफ्नो राज्यमा विजयी उम्मेदवारलाई नै मत दिनुपर्छ ?

केही राज्यमा जो विजयी भएको भए पनि इलेक्टरहरूले सिद्धान्ततः आफूलाई मन परेको उम्मेदवारलाई मत दिन पाउँछन्।

तर व्यवहारमा भने इलेक्टरहरूले आफ्नो राज्यमा बढी लोकप्रिय मत पाउने उम्मेदवारनै समर्थन गर्छन्।

राज्यमा बढी मत पाउने उम्मेदवारलाई छोडेर अरूलाई मत दिने निर्वाचकलाई विश्वासघाती को सङ्ज्ञा दिइन्छ।

सन् २०१६ मा निर्वाचक मण्डलका सात जनाले परम्परा मिचेर अर्का उम्मेदवारलाई मत दिएका थिए। तर उनीहरूको मतका कारण अन्तिम परिणाम फेरिएन।

केही राज्यहरूमा यस्ता “विश्वासघाती” निर्वाचकलाई जरिबाना हुन वा उनीहरूलाई मुद्दा चल्न सक्छ।

फर्जी इलेक्टर भनेको के हो ?

सन् २०२० मा अमेरिकी मतदाताहरूमाझ फर्जी इलेक्टर शब्दावलीले निकै चर्चा पायो। ट्रम्पलाई समर्थन गर्ने रिपब्लिकनहरूले सातवटा राज्यमा चुनावी परिणाम उल्ट्याउन त्यस्ता निर्वाचक खडा गरेका थिए।

कतिपय स्थानमा त केसम्म भएको थियो भने त्यस्ता इलेक्टरहरू सरकारीजस्तै देखिने फर्जी कागज बनाएर निर्वाचक मण्डलमा चुनिएको व्यक्तिको रूपमा राज्यको संसद्‌ भवनमा डिसेम्बर १४ मा उपस्थित भएका थिए। त्यस दिन निर्वाचक मण्डलमा चुनिएका देशभरिका इलेक्टरहरू राष्ट्रपतिको निर्वाचनमा मत हाल्न भेला भएका थिए।

त्यसमा संलग्न भएका केहीविरुद्ध मुद्दा चलाइएको थियो र अझै पनि अनुसन्धान चलिरहेको छ।

दुवै उम्मेदवार मत बराबर भयो भने के हुन्छ <
यदि दुवै उम्मेदवारले पाएको मत बराबर भयो भने अमेरिकी संसद्को तल्लो सदनमा राष्ट्रपति छान्नका लागि मतदान हुन्छ।

यस्तो प्रक्रियाबाट अमेरिकामा एक पटक मात्रै राष्ट्रपति निर्वाचित भएका छन्।

सन् १८२४ मा चार उम्मेदवारहरूमा इलेक्टोरल कलेज मत बाँडिदा कसैको पनि बहुमत आएको थिएन।

यद्यपि अमेरिकाको राजनीतिमा अहिले दुई पार्टीको प्रभाव बढी छ। त्यसैले यसपालि त्यस्तो अवस्था आउने सम्भावना देखिँदैन।

साभारः बिबिसि नेपाली

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?