
वर्तमान नेपाली समाजमा निराशा, असन्तुष्टि र आक्रोशको भावना तीव्र रुपमा बढिरहेको छ। मुलधारका राजनीतिक दल र नेताहरू सुशासन, पारदर्शिता र जवाफदेहितामा चुक्दै जाँदा जनतामा विश्वासको संकट उत्पन्न भएको छ।
सत्ताको मोह, अवसरवाद र सिद्धान्तहीन राजनीति प्रति युवापुस्तादेखि आम जनतासम्म गहिरो विरक्ति देखिन्छ। देश लामो समयदेखि परिवर्तनको संक्रमणमा छ। सधैंभरि राजनीतिक उतारचढाव र अस्थिरताको भुमरीमा ढलपल ढलपल गरिरहेको देशमा स्वतन्त्र , सचेत र उत्तरदायी बुद्धिजीवीहरूको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ । तर विडम्बना यो छ कि बुद्धिजीवीहरु पनि स्वार्थी राजनीतिको आहालमा डुबेर बाँडिएका भाँडिएका छन् । जो राजनीतिको पोखरी बाहिर छन् ती असंगठित छन्, निष्क्रिय छन् , अन्यमनस्क रमिते छन् । अब देश डुब्ने खतरामा छ। बुद्धिजीवीहरु संगठित , सक्रिय भइ सत्य , न्याय र बिबेकका साथ अगाडि आउनुपर्छ । सत्ताको आश र त्रासबाट मुक्त भइ युग बदल्ने अठोट लिनुपर्छ ।
बुद्धिजीवीहरूले सत्ताको वकिल वा दलाल होइन, जनताको प्रतिनिधि र विवेकको आवाज बन्नुपर्छ। यथार्थको प्रतिविम्ब प्रस्तुत गर्ने, अनुचित कार्यको प्रतिवाद गर्ने र सत्य बोल्ने आँट राख्न जरुरी छ ।
निराश जनतालाई विकल्पको बाटो देखाउने, मार्गदर्शन गर्ने काम बुद्धिजीवीहरूको हो। शिक्षित वा बुद्धिजीवी वर्गले नागरिक शिक्षादेखि संविधान, सुशासन, लोकतन्त्र र मानवअधिकारका विषयमा जनतालाई बुझाउने प्रयास गर्नुपर्छ। छलफल , संवाद, लेखन, बहस र अनेकौं सार्वजनिक कार्यक्रमहरू मार्फत जागरण अभियान चलाउन सकिन्छ।
देशमा जताततै नकारात्मकता बढेको छ। यस्तोमा सकारात्मक सन्देश प्रवाह र ऊर्जा निर्माण गर्न जरुरी हुन्छ । इमानदार, सक्षम र दूरदर्शी युवाहरूलाई प्रोत्साहन गर्न, उनीहरूमा नेतृत्व विकास गर्न र सशक्त विकल्प निर्माणतर्फ बुद्धिजीवीहरूले सहयोगी र निर्णायक भूमिका खेल्नुपर्छ।
आन्दोलन, विरोध वा असन्तुष्टिको क्षणमा बुद्धिजीवीहरूले दार्शनिक धैर्यता र स्पष्ट दिशाबोध प्रस्तुत गर्नुपर्छ। समाजलाई कटुता र द्वन्द्वमा होइन, संवाद र सहमतिमा लैजान सहजीकरण गर्ने जिम्मेवारी पनि बुद्धिजीवीहरु कै हो।
बुद्धिजीवी हुनुको अर्थ केवल लेख्नु वा बोल्नुमा सिमित हुनु होइन। नैतिकता, पारदर्शिता, सेवा र ईमानदारीमा नमूना योग्य बन्न सके मात्र समाजमा विश्वासिलो र भरपर्दो बन्न सकिन्छ । ।
राजनीतिक नेतृत्व चुकिरहेको, असफल भइरहेको बेलामा बुद्धिजीवीहरू चुपचाप साक्षी बस्नु वा रमिते बन्नु पनि अर्को अपराध हो । समाजले बुद्धिजीवीहरूबाट मार्गदर्शन, प्रेरणा र विकल्पको आशा राखेको हुन्छ । यथास्थितिवादी सोचलाई चुनौती दिँदै, विवेक, मूल्य र परिवर्तनको पक्षमा दृढतापूर्वक उभिनु आजको सन्दर्भमा बुद्धिजीवीहरुको दायित्व र कर्तव्य पनि हो। यस्तो ऐतिहासिक जिम्मेवारी निर्वाह गर्ने भुमिकामा नेपाली बुद्धिजीवीहरु डटुन्, पछि नहटुन् । सत्ता वा स्वार्थ सामु नझुकुन्, नचुकुन् । (हुतमणि अधिकारी नेपाली कांग्रेस तनहुँको नेता हुनुहन्छ ।)