
काठमाडौं । पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डो थप दुई वर्ष साउदी प्रो लिग क्लब अस नासरमा रहने भएका छन् । २०२३ मा म्यानेचेस्टर युनाइटेडबाट अल नासर पुगेका रोनाल्डोको यही जुनमा सम्झौता सकिँदै थियो ।
सम्झौता सकिएपछि रोनाल्डोले क्लबसँग सम्झौता नवीकरण गर्ने वा नगर्ने भन्ने अनिश्चित थियो । तर, सम्पूर्ण अनिश्चिततालाई चिर्दै अझै दुई वर्षसम्म रोनाल्डो अल नासरमै रहने भएका छन् । रोनाल्डो स्वयंले सामाजिक सञ्जालमा लेख्दै यसको पुष्टि गरेका हुन् ।
उनले लेखेका छन्, ‘नयाँ यात्राको सुरुवात, उस्तै जोस,उस्तै सपना । आउनुहोस् हामीसँगै मिलेर इतिहास बनाऔँ ।’
सम्झौता नवीकरण भएसँगै रोनाल्डोले क्लबबाट वार्षिक रूपमा १७८ करोड पाउन्ड (करिब २९ अर्ब रूपैयाँ) पाउनेछन् । त्यस्तै साप्ताहिकरूपमा ५६ करोड नेपाली रूपैयाँ पाउनेछन् ।
यतिमात्रै होइन, रोनाल्डोले क्लबबाट पाउने सुविधाहरूको लामै सूचि छ । उनले हरेक गोलमा ८० हजार पाउण्ड पाउनेछन् भने दोस्रो वर्षमा यो २० प्रतिशत बढेर जानेछ । हरेक गोल असिस्टमा ४० हजार पाउण्ड पाउने र दोस्रो वर्षमा यो पनि २०% ले बढ्नेछ ।
क्लबले साउदी प्रो लिग जितेमा ८ करोड पाउन्ड पाउने तथा गोल्डेन बुट जितेमा ४ करोड पाउनेछन् । एसियन च्याम्पियन्स लिग जितेमा ६.५ करोठ पाउण्ड पाउनेछन् । उनको निजी जेटको खर्च ४ करोड पाउन्डसम्म क्लबले नै व्यहोर्नेछ भने साउदी र एसियन बजारका नयाँ कम्पनीहरुसँगको सम्झौतामा ६० करोड पाउण्ड सुनिश्चित भएको छ ।
त्यस्तै क्लबको १५% स्वामित्व (करिब ३३ करोड पाउण्ड) पाउनेछन् । सम्झौता नवीकरण गर्दा बोनस २४.५ करोड पाउण्ड पाउनेछन् भने दोस्रो वर्षमा ३८ करोड पाउण्ड पाउनेछन् ।
रोनाल्डोले साउदीमा १ सय ११ खेलमा ९९ गोल गरिसकेका छन् । उनको कप्तानीमा पोर्चुगलले भर्खरै नेशन्स लिगको उपाधि दोस्रोपटक जितेको थियो । फाइनल खेलमा स्पेन विरुद्ध उनले एक गोल समेत गरेका थिए ।