
असार ९ गते ठ्याक्कै बेलुका ८ः ५९ को समयमा तनहुँका धेरैजसो मिडियाकर्मीको हातमा रहेको मोवाईलमा एउटा म्यासेज आयो । म्यासेज लामै थियो, पूरै पढ्दा यस्तो लाग्थ्यो महर्षि बेदव्यासको तपोभूमि व्यास नगरपालिकाको कार्यालय भनेको जनताको काम गर्नको लागि हैन लुटि खाने वर्गको लागि स्थापना गरिएको रहेछ ।
त्यहाँ सबै त नभनौं कुर्चीमा बस्ने कर्मचारीको काम भनेको जनताको काम गर्नु होईन आफ्नो दुनो सोझ्याउनु मात्र रहेछ । कहिले तारासँगै जुन काण्ड, कहिले सोफा खरिद काण्ड, कहिले १ करोड १० लाखको खाजा, खाना खर्च काण्ड, कहिले ५० लाख बार्गेनिगं काण्ड अब हुदाँ हुदाँ १० लाख रुपैया औषधी खरिद काण्ड ?
तै पनि म्यासेज गर्ने मान्छेले व्यास नगरपालिकाको स्वास्थ्य शाखामा हुन खोजेको तर हुन नसकेको आर्थिक हिनामिनाको कुरा पढ्दा लाग्दथ्यो साच्चै हो र ? निजले पठाएको म्यासेजको केहि अंश यस्तो थियो…
पत्रकार तथा सञ्चारकर्मी मित्रहरू…
विषयः व्यास नगर अस्पतालमा औषधी खरिद प्रक्रियामा देखिएको गम्भीर घोटालाबारे जानकारी
म व्यास नगरपालिकाकै एक बासिन्दा। जनप्रतिनिधि। कर्मचारी हुँ । हालसालै सार्वजनिक भएको एक गम्भीर घोटाला सम्बन्धी तथ्यहरू तपाईंको जानकारीमा ल्याउँदै छु । तर मेरो पहिचान गोप्य राखिदिनु हुन विशेष अनुरोध गर्दछु ।
पछिल्लो व्यास नगर बोर्ड बैठकमा स्वास्थ्य शाखाबाट रु. १० लाख बराबरको औषधी खरिद भइसकेको, सामग्री अस्पतालमा आइसकेको र अब भुक्तानी दिनुपर्ने भनिएको थियो । भुक्तानीको फाइल तयार गरी, प्रमुख प्रशासकीय अधिकृत समेतबाट भुक्तानी आदेश भई लेखा शाखामा रकम निकासाका लागि हतारमा पेश गरिएको थियो ।
तर जब लेखा शाखाले केही शंका महसुस गरी औपचारिक रूपमा खरिद गरी अस्पतालमा बुझाइएको औषधीको पुष्टि गर्न खोज्यो, त्यो बेला औषधि खरिदमा गम्भीर आर्थिक घोटाला खुल्न आयोः
– औषधीको पूर्ण मात्रा खरिद गरी अस्पतालमा पुर्याइएको थिएन । अस्पतालमा अधूरो (झण्डै आधा) सामान मात्र दाखिला गरिएको पाइएको छ।
-अस्पताल इन्चार्जलाई बाँकी सामानको कुनै जानकारी छैन, न त कुनै स्पष्ट प्राप्तिको कागज प्रदान गरिएको छ।
– तर स्वास्थ्य शाखा तत्कालीन प्रमूखबाट पूरै रकमको भुक्तानी माग गर्दै कागजी प्रक्रिया मात्र पूरा गरी लेखा शाखामा अन्तिम भुक्तानीका लागि फाइल पेश गरिएको थियो — जुन स्पष्ट कागजी मिलावट र नियोजित घोटालाको प्रयास हो ।
आदि आदि………. (कृपया श्रोत गोप्य राखिदिनु होला)
पत्रकार भएको नातले सूचना दिने मान्छेले गोप्यता कायम गरिदिन आग्रह गरेको कुरालाई नकार्न पनि भएन । ओहो समाचार भेटियाे भनेर समाचारका बारेमा अध्ययन अनुसन्धान नगरिकन कसैप्रति पनि औला ठड्याउदै हतारमा प्रकाशित गर्नु पनि भएन ।
बिस्तारै बुझ्दै जाँदा त थाहा भयो व्यास नगरपालिकाभरि १० लाख काण्डको राम्रै चर्चा र परिचर्चा चलेको रहेछ । यतिबेला हटकेक बिषय बनेको रहेछ । फाहोर मैला विर्सजनको लागि जग्गा खरिद काण्डमा कर्मचारीको संलग्नताको बारेमा छानविन, कारवाही चलेको बेला यो काण्डलाई केहि व्यक्तिहरु मिलेर मुर्तरुप दिन लागेका रहेछन् तर लेखा शाखाको चलाखीले गर्दा रकम झ्वाम् पार्न नपाई भूमिगतरुपमा छानविन समिति बनाउनुपरेको रहेछ ।
धेरै मानिसहरुलाई लागेको छ ” भूमिगत नै सहि छानविन समिति त बन्यो, अब कारवाही त होला नि !” तर त्यो धेरै मानिसलाई पूरापूर विश्वास छ नगरपालिकाकै एकजना कर्मचारीको संयोजकत्वमा बनेको भूमिगत छानविन समितिले कसैलाई पनि कारवाही गर्दैन किनकि व्यासको ईतिहासले त्यहि बोल्छ ।
छानविन समितिले केहि न केहि त निचोड देला अनि फेरि बस्ने कार्यपालिकाको मिटिगंमा ”हैन माधब पौडेललाई कस्ले पुर्याउछ के यस्ता कुराहरु ? www.sarbajyoti.com मा कसरी समाचार छापियो ? ” मिटिगंमा १० लाख पचाउन खोज्ने कर्मचारीका बिषयमा भन्दा पत्रकारको बारेमा बढि छलफल गरिनेछ, दारा किटिने, मुड्कि बजारिनेछ ।
कार्यपालिका बैठकमा १० लाख काण्डको बारेमा कुरा उठाएकाहरुलाई झपारिनेछ । लेखक माधब पौडेल व्यास नगरपालिकाको वासिन्दा हो, व्यास नगरपालिकामा कार्यरत स्थापनाकालदेखि कर्मचारीको नाडि र विगत ८ बर्षदेखि जनप्रतिनिधिहरुको आँट देखेको छ भनेर विचार गरिने छैन ।
लेखकले ठोकेरै भन्छु व्यास नगरपालिकाको १० लाख काण्डमा कोहि दोष देखिने छैन । भूमिगत रुपमा बनेको छानविन समितिले जेसुकै प्रतिवेदन दिए पनि त्यत्तिकै सेलाएर जानेछ किनकि सबैलाई थाहा छ कर्मचारीले जनप्रतिनिधि हेरेर हिजो पनि भनेका थिए आज पनि भनेका छन् र भोलि पनि भन्नेछन् ”तारासगै जुन बिर्सेउ कि मायाले आजसम्म मैले लाएको गुन ?”