स्मार्टपार्कको नाममा लाखौ रकम झ्वाम्: स्मार्टपार्क हेर्न व्यास नगरवासी अब कता जाम् ?

माधब पौडेल
  • ख-
  • ख+

तनहुँको सदरमुकाम दमौली बजारको पुछारमा एउटा खुल्ला चौर थियो जस्लाई कसैले हेल्थ पोष्ट अगाडिको चौर वा खेल मैदान भन्थे, कसैले अनसन चौतारी नजिकैको चौर भन्थे । त्यो चौरमा विभिन्न कार्यक्रमहरु, खेलुकद प्रतियोगिताहरु हुन्थे । मानिसहरु नजिकैको चौतारीमा बसेर घरको छतमा बसेर, सरकारी कार्यलयका पिढिं, छिडिमा बसेर रमाईलो मानेर ती कार्यक्रम तथा प्रतियोगिताहरु हेर्थे ।

बर्षौदेखि त्यो क्रम चलिरहेको थियो एकाएक व्यास नगरपालिकाको बजेट चलाउनेहरुको दिमागमा के फुर्यो कुन्नि कहाँ यस्लाई खेल मैदान बनाउने ? यस्लाई त स्मार्ट पार्क बनाउनुपर्छ, बुढाबुढी केटाकेटी सबैको लागि उपर्युक्त स्थान बनाउनुपर्छ भनेर नगरपालिकाले लाखौ रकम विनियोजन गर्यो । भईरहेको खेलमैदान अर्थात चौरलाई कसरी स्तरोन्नति गर्ने सोच विचार नगरिकन स्मार्ट पार्क बनाउने नाममा लाखौं रकम छुट्याउदा नगरपालिकाको आवश्यकता, बजारक्षेत्रको प्राथमिकता के हो ?  त्यो बिचार नगरिकन बजारको नाली नबनाईकन, बजारको फुटपाथ व्यवस्थापन नगरिकन, बजारमा घरको छतबाट सडकमा पानी फ्याँक्ने समस्याकाे समाधान नगरिकन स्मार्ट पार्कको योजना अगाडि बढाईयो ।

दमाैली बजारमा रहेको त्यति चौरलाई खुल्ला राख्नुपर्छ भनेर जस्ले आवाज उठाए तिन्लाई या त राजनीतिक रंग दिदै भिन्न पार्टीको भनियो कि त आफ्नै पार्टीको विरोधी गुटको भनियो कि त सधै झैं आफ्नो गल्ति ढाकछोप गर्न भनिने विकास विरोधी वा आलोचक भनेर  विरोध गर्दागर्दै धमाधम निर्माण कार्य गरियो ।

सर्लक्क परेको चौरलाई कस्को ढु‌ंगा बिकाउन हो ? कस्लाई ठेक्का दिन हो ? बिचमा हिड्ने भाग छोडेर चौरलाई दुई भाग लगाएर केहि फिटको पर्खाल जस्तो लगाईयो । नेताले भाषण गर्न नपाएर हो वा व्यास नगरपालिका नबनेको  भाषण नभएर हो मन्च बनाईयो । स्मार्ट पार्क राम्रो बनाउनुपर्छ सफा सुग्घर राख्न पर्छ भनेर भित्तामा स्थानीय कला र संस्कृति देखिने चित्रहरु बनाईयो । बिहान बिहान कराँते खेल्ने बालबालिकाहरु, त्यो खेलमैदानमा खेलेर खेलाडी बनेकाहरु र बन्न चाहनेहरुलाई सोध्नुपर्छ दमौली बजारमा बचेखुचेको सबैको नजर पर्ने खेल मैदानलाई स्मार्ट पार्क बनाउदा खेलाडीहरुको कति छाती  चिरियो ?

स्मार्ट पार्क चिटिक्क सफा सुग्घर होला ! बालक, बृद्ध, महिला, अशक्त, अपागंको लागि त्यहाँ पुगेपछि मनोरन्जनका लागि केहि न केहि साधन होला, डिजिटल प्रविधिको युगमा वाईफाई होला भनेर धेरैले आशा गरे । केहि न केहि त होला नि भनेर सबै चुप्प लागे तर खेलाडीहरुको छातीमा चक्कुले चिरेर बनाईएको व्यास नगरपालिकाको स्मार्ट पार्कको अहिले अवस्था हेर्ने हो भने दयालाग्दो छ, उदेक लाग्दो रहेकोछ ।

”यस्तो नै बनाउनुथियो भने बरु पहिल्यै ठीक थियो नि , अहिलेको बिचल्ली भन्दा त पहिला धेरै राम्रो थियो नि ” छेउ छाउकाले सुने कुरा लगाईदेलान् भन्ने डरले सूस्तरी त जो कोहिले पनि भन्ने गर्छन् । हुन त शुरुमा दुवोको कार्पेट ओछ्याएर केटाकेटीका लागि खेल्ने सामाग्रीहरु राखेर खुल्ला चौर भएको पार्कका लाखौ लगानी नगरिएको होईन तर प्लाष्टिक, फाईवरका खेल्ने सामाग्री, प्लाटिकको दुवो कस्तो ठाउँमा राख्नुपर्छ भन्ने  ज्ञानले गर्दा ती सामाग्री र पार्क पनि विवादमा पर्यो नै लाखौका ती सामाग्रीहरु सोहि पार्कमा प्रयोग हुन पाएनन् ।

आज त्यो स्मार्ट पार्कभित्र छिरेर हेर्दा घाँसहरु उम्रिएका छन्, मान्छेका अलि कम गाई वस्तुका गोवरहरु प्रशस्त देखिन्छ । पान, भोलाका प्याकेटहरु, पानीका बोतलहरु देखिनु त सामान्य भएको छ । सुन्दर देखिने अनसन चौतारीमा बस्नेहरुलाई स्मार्ट पार्कमा हुर्किएका लामखुट्टेले टोक्नु, भलिबल कोर्ट र जनताभन्दा म माथि छु नि भनेर देखाउन नेताहरुका लागि बनाईएको मन्चले चौरलाई खासै राम्रो देखाएको छैन ।

वालमा गरिएको पेन्टिगं बिग्रेर गईसकेको छ भने पेन्ट गर्ने पेन्टर भुक्तानी नपाएर रोईरहेका छन् । बिचमा निर्माण गरिएको पर्खाल क्षतविक्षत हुने अवस्थामा छ । खेलाडीहरु चौर हेरेर टोलाईरहेका छन् र भनिरहेका छन् ”यस्तो बनाउनुभन्दा त पहिला नै ठीक थियो नि ।”  उक्त स्थानको फोटो खिच्न जाँदा एक जना बृद्ध भनिरहनुभएको थियो ”बाबु खिच्नुस् खिच्नुस् र देखाउनुस् स्मार्ट पार्क भनेको यस्तो हुन्छ है भनेर अनि बाबु लाखौको पार्क त खिच्नुभयो करोडौको पाटनको पार्कको पनि फोटो खिच्नुस् है!”‘

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?