प्रचलित शब्द ‘नारी’ नर शब्दबाट व्युत्पत्ति भएको,मूल आधार संस्कृत भाषा रहेको, जुन शब्दको निर्माण, नृ+घीष नारी नरस्य समान धर्मा नारी, नृ+अ+धीन संंरचना रहेको तथा नर शब्दबाट नृत हुँदै नारी बनेको, नृतको परिभाषा संस्कृतमा यसरी उल्लेख छ ः नरा नृत्यन्ति कर्मसु अर्थात् पुरुषको कामको सहायता गर्ने मानिस नारी हो । यसमा कामको अर्थ यौनपूर्ति मात्र नभएर पुरुषका हरेक कर्ममा सहयोगीको रुपमा नारी मानिएको छ । नारीलाई जनाउने अर्काे शब्द स्त्री, स्त्राये या स्त्रायै धातुबाट व्युत्पत्ति भएको मानिएको छ जसको अर्थ लज्जा सहनशीलता, विनम्रता हुनजान्छ ,पाणिनिको व्याकरणले यो संरचना देखाउँछ । स्त्री शब्दको व्युत्पत्तिको अर्काे परिभाषामाः शब्द, स्पर्श रुप सगंधाना गुणानां स्त्रायान–संघातम–स्त्री, अर्थात् शब्द, स्पर्श, रुप, रस र गन्ध यी सवैको संयुक्त रुप नै स्त्री हो । नारीको विशेषतामा वात्सल्य, स्नेह, कोमलता, दया, सेवा भावको आधारमा मानव संसारको श्रृष्टि संञ्चालन भएको मानिएको छ । कामशास्त्रका अनुसार नारीका किसिम शङ्खिनी–शङ्को आकारको शरीर संरचना भएकी, पद्मीनी–कमलको फुल आकारको शारीरिक बनावट भएकी, चित्रिणी–मृगजातिको जस्तो देह भएकी र हस्तिनी–गजराजकी पत्नी हात्तीनीको जस्तो स्थूल शरीर भएकी मानिएको छ, यिनहरुका किसिम अनुसार कामको प्रकृति पनि फरक–फरक हुनेगर्दछ यदाकदा तिनको शरीरको प्रकृति अनुसार काम कर्म हुनेहुँदा केही त्यस्ता नारीहरुले संसारमा काम विषयक विकृत रुप समेत पैदा गर्नेगर्छन् । यस्ता अति कामुक नारीबाट संदा सजग रहनुपर्ने पनि हुन्छ ।
नारी शक्तिरुपिणी हुन्, यिनको सम्मान र सहयोगले संसार सुन्दर मानव जीवन सुखमय बन्छ भने अपमान, तिरष्कार, हेलाले जीवन नरक समान बन्दछ । समग्रमा नर र नारीको एकत्व विना सुन्दर संसारको परिकल्पना गर्न सकिदैन । संसार र मानव जीवन सुखी, समुन्नत र संमृद्ध बनाउन नारीलाई पुरुष सरह हक, अधिकार, जिम्मेवारी प्रदान गरेर सहयात्रा गरेमा मात्र परिकल्पनाको सुखी मानव जीवन र समुन्नत संसार बनाउन सकिन्छ । आजको समयमा नारीको त्यत्रो विशाल महत्वलाई विर्सेर, तिनलाई तिरष्कार गरेर, पुरुष जातिको हैकम कायम राखेर कामगरे समाजलाई पतनको दिशा तर्फ लगिदै छ, त्यो पतनलाई रोक्ने उपायको खोजीमा हाम्रो आफ्नै अतीतको नारीगौरवको खोजमा संसारको समाज लागेको छ, यो नै आजको नारी आन्दोलनको रुपमा परिवर्तन भएको मानिएको छ । नारीलाई अनेक किसिमले बुझ्ने र बुझाउने प्रयास गरिएको पाइन्छ । सारमा,नारी पुरुषका समान कर्मशील, सहधर्मिणी र पुरुषका सहयोगी स्त्री लिङ्गी मानव हुन् ।
मातृशक्तिको सिद्धान्तले राज्यको उत्पत्ति, निर्माण, सञ्चालन र विस्तार नारीशक्तिले गरेको मानेको छ । मानव उत्पत्तिसंँगै विकास भएका राज्यको अवधारणा सर्वप्रथम समाजमा आमाहरुले गरेको मानिएको छ । जसमा आमाहरु प्रमुख रहने र उनीहरुकै इच्छा र व्यवस्था देशको शासन चलाउने गर्दथे । नारीहरु सर्बेसर्वा हुने भएकाले उनीहरुले चाहेको पुरुषसँग शारीरिक सम्पर्क गरी प्रजनन् गरेर सन्तान जन्माउँथे । विवाहको प्रचलन विकास भइसकेको थिएन, अनेक पुरुषसँग यौनसम्पर्क राख्न नारी स्वतन्त्र थिए । नारी श्रेष्ठ भएकाले उनीहरुलाई देवी, शक्तिरुपिणी, माता,मदर, आदिशक्ति आदिका रुपमा मानिएको थियो । अहिले पनि उनीहरुका विषयमा विभिन्न धर्मग्रन्थहरुमा यी विषयका चर्चा रहेको पाइन्छ । नेपालमा पनि देवी, माता, आजिमा, कुमारी आदिरुपमा नारीशँिक्तलाई पुजिने प्रथा अझै पनि कायमै छ । राज्य उत्पत्तिको विभिन्न सिद्धान्त मध्ये मातृशक्ति सिद्धान्त वा नारितन्त्र एक सिद्धान्त मानिएको छ । यही सिद्धान्तलाई आधार मानेर हाल विश्वमा नारी समानता र नारीवादका विषयहरु सशक्त रुपमा उठेका छन् ।
राज्यको उत्पत्ति सिद्धान्त र मानव सभ्यताको यो इतिहासले जानकारी गराउँछ कि आदिम समाजमा नारी प्रधान थियो, नारीहरु सर्वशक्तिमान थिए, पुरुषहरुलाई नारीहरुले आफ्नो नियन्त्रणमा राखेका थिए । प्रजनन् र यौनिक क्रियाकलापमा उनीहरु स्वतन्त्र थिए, चाहेको योग्य पुरुषसँंग शारीरिक संम्पर्क गरी सन्तान जन्माउने गर्दथे, समयक्रममा नारीको शारीरिक अवस्था र प्रसुती कालमा कमजोर हुने प्रकृतिको फाइदा उठाउँदै पुरुष जातिले आँफूलाई बलिष्ठ, शक्तिमान र श्रेष्ठ सम्झेर आफ्नो हैकम जमायो, नारीलाई नियन्त्रणमा राख्यो, नारी श्रेष्ठता खोसियो, त्यो श्रेष्ठता पुरुष जातिमा स¥यो, त्यसपछि पुरुषप्रधान समाजको निर्माण भयो, नारी दमित र अपहेलित हुनपुगे । त्यो पुरुष प्रधानसमाज लामो समयसम्म चलिरह्यो, नारी दमित, अपहेलित विभिन्न अधिकारबाट बञ्चित हुँदैगए, उनीहरुको आफ्नो भन्ने बस्तु केही हुने भएन । नारीको त्यो गुमेको अधिकार प्राप्तिका लागि अनेकौ प्रयासहरु भए, त्यही गुमेको अधिकार प्राप्त गर्नका लागि गरिएका आधुनिक युगका अनेकौँ क्रियाकलापहरु नारी आन्दोलनका रुपमा आजको समाज र विश्व जगत्मा नारीका अधिकारलाई लिएर उठाइने विषय नारीवाद तथा यस नारीवादलाई लिएर गरिएको आन्दोलनलाई नारीवादी आन्दोलनको नाममा संसारमा परिचित भएको छ । नारिवाद लैङ्गिक समानताका आधारमा नारी अधिकारको वकालत गर्नु नै नारीवाद हो । अर्काे अर्थमा नारीवाद एउटा सामाजिक–राजनैतिक आन्दोलन हो जसको उद्देश्य नारीलाई व्यक्तिगत, सामाजिक, राजनैतिक, आर्थिक तथा कानूनी रुपमा लैङ्गिक भेदभावबिना सर्वपक्षीय समान अधिकारको स्थापना गर्नु हो । यसको मतलब स्त्री लिङ्ग भएका आधारमा नारीलाई पुरुष समान अधिकारबाट बञ्चित गर्न नपाइनु नै नारीबादको प्रमुख विशेषता हो । यसको अर्काे पक्ष आदीकाल काल देखि चली आएको पुरुषप्रधान समाजमा नारी प्रति चलाउने पुरुष हैकमवादको निर्मलीकरण र समन्वय गर्नु तथा नारी अधिकारको स्थापित गर्नु समेत हो । प्रकृतिले जीवन जगत्को मानिसमा बनाएको दुई लिङ्ग संसारमा मानव श्रृष्टिका लागि जसरी आवश्यक रहन्छन् ,त्यसै गरी प्रकृति प्रदत्त अधिकार र हक पनि दुवै लिङ्गीमा समान हुनुपर्छ भनी मानिको छ –नारीवादले । आजको संसारमा नारी अधिकारका लागि नारीवादको जन्म भएको हो, हिजोको समयमा प्रकृति प्रदत्त गुण नरनारी विना संसार संञ्चालन असम्भव हुनेभएकाले समान कर्मधर्मका आधार मानेर समानता थियो, यसको व्यवस्थालाई पुरुषजातिले असन्तुलन गरिदिँदा, सामाजिक व्यवस्थामा खलल हुनगई पुनः त्यो अधिकार प्राप्तिका लागि नारीवादको जन्म भएको मानिएको छ । नारीवादको जन्मसँगै यसको उद्देश्य प्राप्तिका लागि भएका र गरिएका आन्दोलनहरु नै नारी आन्दोलन हो । यो आन्दोलन संसारका विभिन्न देशहरुमा फरक–फरक समयमा त्यहाँका नारी चेतनास्तर र आवश्यकता अनुसार हुँदै आए, यो आन्दोलन विश्व परिस्थितिमा विभिन्न चार चरणमा भएका तथा समय अनुसार अधिकारको आवश्यकता र मागमा विविधता रहेको पाइन्छ । यिनै नारी विषयक विश्वमा भएको आन्दोलनलाई नै विश्वनारी आन्दोलनका नामले परिचित छ । यस नारी आन्दोलनका स्वरुप, यस विषयमा लेखिएका पुस्तकहरु–तिनका लेखकहरु, विभिन्न संञ्चार माध्यममा आएका विषयगत कुराहरु, यसमा अहम् भूमिका खेल्ने नारी व्यक्तित्वहरु, ती व्यक्तित्वका विषयगत क्षेत्रहरु सहितको संक्षिप्त विवरण अगाडिका लेख्यविषयहरु रहेका छन् । यी सबै नारीबादलाई प्राथमिकतामा राखेर गरिएका प्रयास र नारी श्रेष्ठता कायम राख्ने पहल कदमी हुन् ।
पूर्वीय दर्शनमा नारीको अवस्था र प्रमुख नारीहरु: पूर्वीयदर्शनको आधार र प्रमुख ग्रन्थ वेदका अनुसार चलेको समाजमा नारीको उच्चस्थान रहेको थियो, समाजमा नारीलाई उच्च सम्मान दिइन्थ्यो । त्यस समयमा नारीको स्थान सदा आदर्णीय र उच्च सम्माननीय रहेको सत्यतालाई विचार गरेर लिदा नारी श्रृष्टिकी अधिष्ठात्री देवी, माता–पिताकी असल छोरी, दाजुभाइकी पुजनीय दिदी–बहिनी, मामाकी प्यारी भाञ्जी, सासु–ससुराकी आदर्श बुहारी र पति–पुरुषकी असल धर्मपत्नी र सहधर्मिणी, सन्तानकी श्रृष्टिदात्री र पालनकर्ता ममताकी खानी एवम् असल गुरु, वृद्धवृद्धाका लागि आदर्श नर्स ,परिवार सञ्चालन र सुरक्षाका लागि महाकाली र गृहसञ्चान र धन निमित्त महालक्ष्मी तथा विद्याका लागि महासरस्वतीका रुपमा भूमिका निर्वाह गरेर जीवन र जगत्लाई नारीले सञ्चालन गरेकी हुन्छे भनिएको थियो । त्यस समयमा नारीको प्रमुख स्थान थियो, सोहि मन्यतामा समाज चलेर रहेको थियो । हेरौं, नारी महिमा विषयक केही उद्गारहरु:
‘यत्र नार्यस्तु पूुज्यन्ते, रमन्ते तत्र देवताः ।
यत्रै तास्तु नपूज्यन्ते सर्वास्तत्राफलाः क्रिया:।। मनुस्मृति ।।
अर्थात् जहाँ नारीको सम्मान हुन्छ त्यहाँ देवता पनि खुसी हुन्छन्, जुन घरमा नारीको उचित भूमिका रहँदैन तथा नारीलाई सम्मान गरिँदैन त्यस घरमा विद्या, वुद्धि र धन सवैको नास हुन्छ, त्यो घर मसान सरह हुन्छ भनी पूर्वीयदर्शनको नीतिशास्त्रमा नारीको महिमा मुक्तकण्ठले यसरी प्रशंसा गरेको पाइन्छ ।
पूर्वीयदर्शनको एक नीतिगत अंश विदुर नीतिमा नारीको महिमा र प्रशंसा यसप्रकार गरेको पाइन्छ ।
पूजनीय महाभागाः पुण्याश्च गृहदीप्तयः ।
स्त्रियः श्रियो गृहस्योक्तास्तस्माद्र्र्रक्ष्या विशेषतः ।। ६।११ ।।
अर्थात् नारीहरु घरकी लक्ष्मी हुन्, तिनीहरु अत्यान्त शौभाग्यशालिनी पूजा गर्न योग्य र शोभा हुन् । यिनीहरुको विशेष रुपले सेवा गर्नुपर्छ ।
वैदिककालमा प्रमुख नारीहरुमा देवमाता अदिति जो चारैवेदको प्रकाण्ड विद्वान थिइन्, देवसंमा्रज्ञी सची वा इन्द्रायणी देवताका राजा इन्द्रकी पत्नी सवै वेदको ज्ञाता थिइन्, सतीसतरुपा स्वयम्भु मनुकी पत्नी वेद समेतका धर्मग्रन्थकी ज्ञाता, विदुषी अरुन्धती वशिष्ठ ऋषिकी पत्नी विशिष्ठ विदुषी एवम् महासती थिइन्, त्यस्तै अन्य प्रसिद्ध नारीहरुमा ब्रम्हवादिनी विश्वभरा, ब्रम्हवादिनी अपाला, ब्रम्हवादिनी रोमशा, ब्रम्हवादिनी गार्गी जो राजर्षी जनकको विद्वत्सभामा महर्षि यज्ञवल्कलाई समेत शास्त्रार्थमा हराएकी थिइन्, विधुषी मैत्रेयी–प्रकाण्ड विधुषी जो यज्ञवल्ककी पत्नी थिइन्, कात्यायनी–राजा जनकको विद्वत्सभामा यज्ञवल्क आदिसँंग शास्त्रार्थ गर्न सक्षम विधुषी नारी, विद्योत्तमा– संस्कृत साहित्यका आदिकवि कालीदासकी पत्नी समेतका अनेकौ विधुषीहरुकाो उल्लेख भएको पाइन्छ ।
यी विधुषीका पूर्व देवपत्नी पुजनीय नारीहरुमा भगवान् शिवकी पत्नी पार्वती जो चारै वेद र सम्पूर्ण शास्त्रको ज्ञाता थिइन्, विष्णुकी पत्नी लक्ष्मी धनकी देवीको रुपमा लिइन्छ, सर्वशक्तिवान शक्तिरुपिणी महाकाली, महालक्ष्मी, महासरस्वतीको रुपमा दुर्गालाई नारी प्रमुख शक्तिको रुपमा सबै देवताले समेत आराधना र पूजा गरेर अशुर शक्तिको नास गरायकी थिइन् उनदलाई सर्वत्र पूजा गरिन्छ,,त्यस्तै विद्याकी देवीको रुपमा सरस्वतीलाई पुजिन्छ,। यी सबै पूर्वीयदर्शनमा मानिएका उल्लेख्य नारी हुन् , उनीहरु सदा लोककल्याण र नारीको संरक्षक तथा आन्दोलन कर्ता रहेका थिए भन्न सकिन्छ ।
पूर्वीयदर्शनमा सदा सुन्दरी रहने पञ्चकन्याका रुपमा अहिल्या, द्रौपदी, तारा, कुन्ती र मन्दोदरीको नाम लिइन्छ, रामकी पत्नी सीतालाई आदर्श नारीको रुपमा र कृष्णकी प्रीयसी राधालाई पनि उल्लेख्य नारीको रुपमा लिइन्छ । यिनीहरुको समाजमा अग्रणी भूमिका भएका र सर्वमान्य नारी थिए, सदा लोककल्याण र नारीको सुभलो चिताएर काम गर्दछन् भनिएको छ । पूर्वीयदर्शनमा नारीलाई जयन्ति, मङ्गला, काली आदि शक्तिको रुपमा मानिएको छ भने पुरुषलाई शिवको रुपमा लिइएको छ । नारी प्रकृति–शक्ति र बलवान पुरुषको रुपलाई शिव भनिएको छ, यिनीहरुको संयुक्त संरचना नै ईश्वरको प्रतिरुप मनिएकोले अर्धनारीश्वर भनिएको छ तथा नारी र पुरुष समान मानिएको छ । परिवार र समाज संञ्चालन गर्नका लागि नारीको बढी र प्रमुख भूमिका हुन्छ भनिएको छ–पूर्वीयदर्शनमा ।
बाइबलमा नारीको अवस्था र उल्लेख्य नारीहरु: पाश्चात्य दर्शनको प्रमुख आधार र विश्वका अधिकाँश मानिसले मानिने धर्म क्रिस्चियनको प्रमुख धर्मग्रन्ध बाइबलमा नारीलाई आमा, दिदीवहिनी, नोकर्नी, दासी तथा वेश्याको रुपमा रहेको उल्लेख गरिएको छ । त्यो पुरुषप्रधान समाज थियो भनिएको र नारी पुरुषको अनुसार रहनु र चल्नुपर्छ भनिएको छ । विशेष स्थानमा नारीको योगदान रहेको उल्लेख गरिएको पाइदैन । नारी आदर्शको मान्यता रहेको देखिएको छैन यो धर्मग्रन्थमा । जिससको आफ्नो वृत्तमा नारीहरु उल्लेख्य थिए, उनीहरुको काम पुरुषको आदर गर्नु थियो नकि समानता । नारीका विषयमा नियमहरु कढा थिए मुख्यतः यौनका मामलाम अझ कढा र नारी शुद्धताका पक्षमा कठोर थियो । बाइबलमा उल्लेख भएका प्रमुख नारीहरुमा म्यारी अफ नजारेथ जिससकी आमा जसले आध्यात्मिक एवम् धार्मिक पक्षमा महत्वपूर्ण भूमिका निर्वाह गरेकी, रुथ द मोवाइट जिससको जीवन रुपान्तरण गर्नमा महत्वपूर्ण योगदान दिएकी महिला, अन्य महिलाहरुमा मेरी.म्याग्डलेन, राचेल, हन्ना, इभ, डेवोराह, इस्थर, मिरियम, सराह, इलिजावेथ, प्रिसिलिया, मेरी अफ बेथानी, मार्था आदि प्रसिद्ध थिए । आदिम कालमा नारीहरुले बाइबलमा भएका कमिकमजोरी र पुरुष सरह नारीको अधिकार हुनुपर्छ, चर्चमा नारीको पनि समान हैसियतमा रहनुपर्छ भनिएको थियो । केहि नारीहरु शासनमा फराहको जस्तो हुनुपर्छ भनिएको छ, सराह पोमोरी जस्ता नारी पात्रको पनि उल्लेख पाइन्छ । थाल्स, सेक्रेटस,प्लेटो, एरिस्टोटल आदिको विचारमा पनि नारीहरु पुरुष भन्दा कमजोर हुने भएकाले यिनीहरुलाई महत्वपूर्ण कामको जिम्मेवारी तत्काल दिन नहुने उल्लेख भएको थियो । मेरी.म्याग्डलेनलाई तत्कालीन समाजमा वेस्याको रुपमा प्रयोग भएको थियो, उनले बेस्याहरुको नेतृत्व समेत गरेकी थिइन्, यसरी नारीलाई दासी र बेस्या बनाउन नहुने, नारीको स्वतन्त्र अस्तित्व र समान अधिकार हुनुपर्छ भनेर आवाज सहित आन्दोलित भएकी थिइन् । बाइबलमा नारी आन्दोलनको नेतृको रुपमा मेरी.म्याग्डलेनलाई लिने गरिन्छ, उनी पाश्चात्य जगत्की पहिला नारीवादी र नारी आन्दोलनकारी नेतृको रुपमा लिनसकिन्छ । पछि उनले इशुका उपदेशहरुका प्रवचन दिने काम समेत गरेकी थिइन् ।
बाइबलमा उल्लेख भएका विभिन्न विधाका प्रसिद्ध नारीहरुमा मिरिअ रुपवति सर्बमायन्य सुन्दरी र विधुषी, डेवोराहलाई न्यायादात्रीको रुपमा, इस्थरलाई महारानीको रुपमा, मेरी अफ नजारे लाई देवमाताको रुपमा, प्रिसिलालाई गुरुमाताको रुपमा मानिएको, उनमा विज्ञता तथा विशेष क्षमता रहेको थियो । यिनीहरुले समाजमा नारीको स्थान, समानता, शिक्षा, न्याय, नेतृत्व, सुरक्षा आदि प्रदान गर्ने गरेको उल्लेख पाइन्छ । बाइबलमा उल्लेख भएका यी नारीहरुको योगदानले विस्तारै इसाई समाजमा सचेतना बढ्दै गई नारी आन्दोलनलाई सहजता प्रदान गरेको लिनसकिन्छ ।
त्यस्तै इस्लाम धर्मको प्रमुख धर्मग्रन्थ कुरानमा नारीको स्थान महत्वपूर्ण रहेको मानिएको छ । नारीहरु आमा, श्रीमती, दासीका रुपमा उल्लेख भएको पाइएको छ । उनीहरु जुन रुपमा भएपनि समाजमा नारीको महत्वपूर्ण योगदान रहने विषय विभिन्न कथा र नैतिक शिक्षामा उल्लेख भएको पाइन्छ । टोराह र सराह प्रोफेट अब्राहमका पत्नीहरु थिए, उनीहरुले इस्लाम धर्मको प्रचार र प्रभाव पार्नमा महत्वपूर्ण योगदान दिएका मानिएको छ । कुरानमा उल्लेख भएका अन्य प्रसिद्ध नारीहरुमा खदिजाह विन्त, खुवायलिन,फतिमा विन्त मोहमद,मारियम विन्त, असियम विन्त, खव्लाह सहितका सहासी र बहादुर नारीको विषयमा कुरान र अन्य इस्लामका अन्य सहायक ग्रन्थहरुमा रहेको पाइन्छ । कठोर धार्मिक अनुशासनमा रहनुपर्ने अवस्था भएको समाजमा नारीको महत्वपूर्ण योगदान भएपनि घरायसी काम र पुरुषको सेवामा र धार्मिक कार्यक्रममा समय व्यतित गर्नुपर्ने भएकाले अधिकार र समानताका विषयमा आवाज उठाउने र आन्दोलन गर्ने विषय त्यस समयमा परको कुरा थियो । नारी स्वतन्त्रता र आन्दोलनको विषय यो धर्मग्रन्थ अनुसार चलेको समाजमा नारीका आफ्ना विषयमा कुरा उठाई समाजको विरोध गर्ने सहास नारीमा भएको पाइदैन । त्यो समाजमा पर्दाप्रथा र बुर्काको पहिरन नारीका प्रमुख पहिचान र विशेषता रहेको थियो. । नारीको स्थान वाहिरी समाजमा कमै भएको तथा पति–पुरुष र घरका अन्य सदस्यको सेवा नै प्रमुख कर्म रहको देखिन्छ । समग्रमा नारीको सम्पत्ति, शिक्षा, रोजगार, शासन समेतमा कुरा समेत नउठ्ने उनीहरुको स्थान देशको शासन, उद्योग, व्यापार, सेवा, नारी जागरण र समान अधिकारका पक्षमा कमजोर नै थियो भन्न सकिन्छ ।
यथासिंधुर्नादीनां साम्राज्यं सुषुवे बृषा ।
एवा त्वाम् साम्राह्येधि पत्यरस्तं परेत्य । । अथर्ववेद ।
पूवीयदर्शनको प्रमुख आधार महान् ग्रन्थ वेदको नारी विषयक महत्वको यो उद्गारः ‘नारी यज्ञका समान पुजनीय छन्, विवाह पछि नारीपतिका घरमा साम्राज्ञीका समान भएर रहने र सम्पूर्ण पृथ्वीको शासन गर्ने अधिकार तिनमा निहित छ’ भनी नारीको महत्व र अधिकारकविषयमा उल्लेख गरेको छ । ससारमा हिजो, आज र भोली तथा सदा कालमा नारीको महत्व,स्थान र भूमिका उच्च रहेका थियो, छ र रहिरहने छ ।
–विष्णुप्रसाद वाग्ले
भानु–६, हाल व्यास–२ दमौली








