जेनजी आन्दोलनको मर्म र भावनालाई आत्मसात गरौं, परिवर्तनलाई स्विकार र सम्मान गरौं- हुतमणि अधिकारी

हुतमणि अधिकारी
  • ख-
  • ख+

नेपालको राजनीतिक इतिहासमा गएको २०८२ भदौ २३ र २४ गते (तदनुसार सेप्टेम्बर ८–९, २०२५) को जेन जी आन्दोलन एउटा ऐतिहासिक , महत्वपूर्ण र नयाँ मोड साबित भएको छ। यो आन्दोलन युवा पुस्ताको अगुवाइमा सम्पूर्ण नेपाली जनताको आक्रोश र असन्तोषको विस्फोट थियो, जसले मुलधारका राजनीतिक दल र तिनका मुल नेतृत्वको स्वार्थका कारण देशमा व्याप्त कुशासन , भ्रष्टाचार, नेपोटिज्म र लोकतन्त्रको विकृत रूपलाई चुनौती दियो। सामाजिक सञ्जाल प्रतिबन्धलाई ट्रिगर बनाएर सुरु भएको यो आन्दोलनले सरकार सन्चालनको शैली बिरुद्ध दशकौँदेखि जम्मा भएको जनआक्रोशलाई सडकमा उतार्‍यो, जसका कारण करिब ७६ जनाको ज्यान गयो, सयौं घाइते भए र खर्बौँको सम्पत्ति स्वाहा भयो।
निर्वाध अभिव्यक्ति स्वतन्त्रता , सुशासन र भ्रष्टाचारको अन्त्यका लागि आह्वान गरिएको यस आन्दोलनको मुल मर्म र भावना थियो—गणतन्त्र र लोकतन्त्रलाई नेता तन्त्र र दल तन्त्रमा रूपान्तरण गरेर जनतालाई ठग्ने प्रथाको अन्त्य। अब प्रश्न यो छ कि नेपालका ठूला तथा पटक–पटक सत्तामा पुगेका पुराना दल र तिनको नेतृत्वले यसबाट पाठ सिकेर कस्तो कस्तो सुधार गर्नुपर्छ? यो संक्षिप्त लेखमा जेन जी पुस्ताका साथै आम नेपाली जनताका अपेक्षा अनुसारको परिवर्तनका लागि पार्टी तथा सरकार सन्चालनका नीति, शैली र व्यवहार केन्द्रित सुझाव प्रस्तुत गरिएको छ।

१. नीतिगत सुधार:
# पारदर्शिता र समावेशितालाई प्राथमिकता:
पालैपालो सत्तामा रजगज गरेका दलहरूले दशकौँदेखि नीति निर्माणमा माथिल्लो वर्गको हितलाई मात्र ध्यान दिँदै आएका छन्, जसले युवा पुस्तालाई बेरोजगारीको र सुविधा बिहिन बिपन्न जनतालाई झन् झन् आर्थिक असमानताको दलदलमा फसाउँदै लगेको छ। जेन जी आन्दोलनले कुशासन , भ्रष्टाचार र नेपोटिजम विरुद्धको आवाजलाई मुख्य मुद्दा बनाइ दशकौं देखि सत्तामा जरा गाडेर बसेका दलहरुको हैकमलाइ केही घन्टामै धुलिसात् पारिदियो। यसबाट पाठ सिकेर ती दलहरूले आफ्नो नीति र आचरणमा सुधार गर्नु अनिवार्य देखिन्छ । होइन भने अबको निर्वाचन पछि पुराना राजनीतिक दलको अस्तित्व नेपालको राजनीतिबाट ओझेल पर्ने निश्चित छ।

# भ्रष्टाचार नियन्त्रण र जवाफदेहिता:
दलहरूले आफ्ना नेताहरूको सम्पत्ति छानबिनलाई अनिवार्य बनाउनुपर्छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग , सम्पत्ति शुद्धिकरण बिभाग, राष्ट्रिय अनुसन्धान बिभाग जस्ता निकायलाई दलहरुको प्रभाव र दबाबबाट स्वतन्त्र बनाउनु पर्छ। भ्रष्टाचारविरुद्धको अभियानलाई दलगत राजनीतिबाट मुक्त गर्नुपर्छ। साथै नीति निर्माणमा डिजिटल प्लेटफर्महरूबाट जनसहभागिता बढाउनु पर्छ, अभिव्यक्ति स्वतन्त्रता माथि हमला, सामाजिक सञ्जाल प्रतिबन्ध जस्ता गल्ती दोहोरिन नसक्ने कानुनी सुनिश्चितता निश्चित हुनुपर्छ । ।

# युवा रोजगारी र आर्थिक समावेशिता:
नेपालमा युवा बेरोजगारी दर २० प्रतिशतभन्दा माथि छ, जसले आन्दोलनलाई इन्धन दियो। दलहरूले नीति बनाएर विभिन्न क्षेत्रमा अनिवार्य रुपमा युवा कोटा लागू गर्नुपर्छ। साथै, रेमिट्यान्समा आधारित अर्थतन्त्रलाई विविधिकरण गर्दै कृषि , उद्योग , पर्यटन, जलविद्युत र प्रविधि क्षेत्रमा लगानी बढाउनुपर्छ। गुरु योजना सहित युवा रोजगार तथा उद्यम बिकास कार्यक्रमलाई स्थायी बजेट प्राथमिकतामा राख्ने नीति योजना कार्यक्रमको सुनिश्चित प्रबन्ध गर्नुपर्छ।

# निर्वाचन पद्धतिमा सुधार:
अत्यन्त ठूलो बलिदान र संघर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई दल तन्त्र र नेता तन्त्रबाट बचाउन निर्वाचन प्रणालीमा परिवर्तन आवश्यक छ। समानुपातिक प्रतिनिधित्व बढाएर युवा , महिला र पछाडि परेको वर्गलाई बढी स्थान दिनुपर्छ। पैसाले भोट किन्ने परिपाटी अन्त्य गर्न इलेक्ट्रोनिक भोटिङ सिस्टममा जानुपर्छ । राजनीतिक स्थिरताका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी , सांसदहरुले मन्त्री बन्न नपाउने जस्ता प्रावधान संविधानमा व्यवस्था गर्न सकिन्छ ।
आगामी फागुन २१ मा हुने मध्यावधि निर्वाचनमा दलहरूले तीन पटक संसदमा पुगिसकेका तथा भ्रष्टाचारमा संलग्न पुराना नेतालाई टिकट नदिने नीति पालना गर्नुपर्छ। नयाँ र अनटेस्टेड नेताहरूलाई निर्वाचनमा उतार्नु पर्छ।
यस्ता नीतिहरूले जनताको असन्तोषलाई सम्बोधन गर्दै दलहरू प्रति गुमेको विश्वास आर्जन हुन सक्छ ।

२. शैलीगत सुधार:
# नेतृत्वको नयाँ दृष्टिकोण
पुराना दलहरूको नेतृत्व शैलीमा एउटा प्रमुख समस्या छ- उमेर र अनुभवको नाममा युवा पुस्तालाई उपेक्षा गर्नु। अनि आफुहरु पटकपटक गरि आजीवन जस्तै सरकार र पार्टीको उच्च पदमा बसिरहन लोभ गर्नु, परिवार अनि आफन्तलाइ पद र अवसर प्रदान गर्न नाजायज – निर्लज्ज हरकत गर्नु । जेन जी आन्दोलनले प्रमाणित गरेको छ कि – दलहरूले केटाकेटी भनेर उपेक्षा गरेका युवाहरू अब निष्क्रिय मतदाता होइनन्, सक्रिय परिवर्तन कर्ता हुन्। समयको पदचाप बुझेर दल र नेताहरूले नयाँ सोच शैली अङ्गीकार गर्नुपर्छ ।
# युवा सहभागिता र युवा संवाद :
दलहरूले आफ्ना संरचनामा युवा उपस्थितिलाई बलियो बनाउनुपर्छ। उदाहरणका लागि, पार्टीका केन्द्र देखि स्थानीय तहका समितिमा ४० बर्ष मुनिका ४० प्रतिशत योग्यता , क्षमता , योगदानको मापदण्ड निश्चित गरि शिक्षित र प्रविधि पोख्त युवाहरुको प्रतिनिधित्व अनिवार्य गर्नु। जेन जी पुस्ताका युवाहरूको सहभागितामा नियमित संवाद , अन्तरक्रिया गरेर सामयिक नीति निर्माण र परिमार्जन गर्नुपर्छ। सामाजिक सञ्जाललाई विरोध र आक्रोश पोख्ने थलोको रूपमा नभई संवाद र सुझावको माध्यम बनाउनु पर्छ।
# पारदर्शी निर्णय प्रक्रिया:
दलहरूमा आन्तरिक लोकतन्त्र कमजोर छ, जसले दातावाद , नातावाद , बंशवादका आडमा नेपोटिजमलाई बढावा दिन्छ। अब हरेक महत्त्वपूर्ण निर्णयमा शीर्ष नेताहरुले स्वार्थ समुहको कोटरीबाट होइन पार्टीको बिधानले निश्चित गरेको आधिकारिक समिति र सदस्यहरूबाट गोप्य मतदान गराइ उम्मेदवारी तय गर्ने , बिबादित बिषयमा आबस्यक निर्णय लिने प्रणाली लागू गर्नुपर्छ ।

ठूला राष्ट्रिय तथा सार्वजनिक महत्त्वका बिषय र मुद्दामा  मास बेस्ड पब्लिक ओपिनियन लिइनुपर्छ । प्रविधिको प्रयोगलाई व्यापक बनाइनुपर्छ । उदाहरणका रुपमा सोसल मिडिया ,  डिस्कर्ड वा एपबाट पोलिङ गराउन , राय सुझाव संकलन गर्न सकिन्छ । यसले आन्दोलनमा देखिएको ‘डिजिटल डेमोक्रेसी’ लाई मुलधारमा ल्याउँछ।
# संघीयताको वास्तविक कार्यान्वयन  र स्थानीय शासनको सुदृढीकरण :
अहिले मुलुकमा रहेको केन्द्रिकृत मानसिकता र शैलीले स्थानीय जनतामा असन्तोष बढाएको छ। दलहरूले प्रदेश र स्थानीय तहमा अधिकार विकेन्द्रीकरण गर्दै सक्षम  नेतृत्वलाइ अगाडि बढाउनुपर्छ  । उम्मेदवार छनोटमा प्राइमरी इलेक्सन अनिवार्य गराइनु पर्छ।
यस्तो  शैलीले दलहरूलाई पुरानो ‘टप–डाउन’ मोडलबाट ‘बटम–अप’ तर्फ लैजान्छ जसले उनीहरूको लोकप्रियता र बिस्वस्नियता बढाउन सहयोगी हुन्छ ।

३. व्यवहारगत सुधार
# नैतिकता र जन उत्तरदायित्व :
आन्दोलनले नेताहरूको व्यवहारलाई निशानामा राख्यो—जसमा विलासी जीवनशैली, सामन्ती प्रवृत्ति  र जनतासँगको दूरी प्रमुख थिए। यसबाट पाठ सिकेर दलहरूले निम्न व्यवहार अपनाउनुपर्छ:
# नैतिक नेतृत्व: नेताहरूले आफ्नो जीवनशैलीलाई सरल बनाउनुपर्छ। नेपोबेबी ट्रेन्डले देखाएजस्तै, परिवारवादलाई त्यागेर योग्यतामा आधारित पद वितरण गर्नु, भ्रष्टाचारमा संलग्नहरूलाई पार्टीबाट बिदा गर्नु अनिवार्य छ।
# जनता मैत्री कार्यक्रम : सडकमा आउने आक्रोशलाई रोक्न दलहरूले नियमित जनसंवाद कार्यक्रम चलाउनुपर्छ। आम जनताले बिकास आयोजना साथै शिक्षा , स्वास्थ्य , कृषि , रोजगार , यातायात , पुलिस प्रशाशन, अदालत  लगायत  सरकारी तथा सार्वजनिक सेवामा बेहोर्नु परेका समस्या र तत् सम्बन्धि  गुनासा  सम्बोधनमा तदारुकता देखाउनु पर्छ। आन्दोलनका घाइते र शहीद परिवारलाई सहयोग गर्दै विश्वास पुनर्स्थापित गर्नु का साथै  अन्तरिम सरकारले गरेको जीवनभरि निःशुल्क स्वास्थ्य उपचार , घाइते , आश्रित र  पिडित परिवारलाई शिक्षा स्वास्थ्यको व्यवस्था , आजीवन जीवन निर्वाह भत्ता , योग्यता क्षमता अनुसारको रोजगार , जस्ता कार्यक्रमलाई समर्थन गर्नु पर्छ।

# सहिष्णुता र एकता: आन्दोलनमा देखिएको लुटपाट , आगजनी ,   हिंसा तथा  नरसंहारलाई दोहोरिन नदिन सरकारका साथै  दलहरूले पनि नागरिक तह,  सुरक्षा निकाय एवं  सुरक्षाकर्मी लक्षित  सचेतना कार्यक्रममा ध्यान दिनुपर्छ। साथै विभिन्न बिचार , पक्ष,  वाद,  लगायत  दलगत झगडालाई रोक्दै राष्ट्रिय एकता र मेलमिलापमा जोड दिने खालका संवाद , सम्मान, सहिष्णुता अभियान चलाउने ।
यी व्यवहारहरूले दलहरूलाई जनताको साँचो  प्रतिनिधि बनाउँछन्, बिस्वसनीय र निकट तुल्याउँछन्।

निष्कर्षमा भन्न सकिन्छ ,  जेन जी आन्दोलनले देशलाई नयाँ दिशा र नयाँ मार्गदर्शन दिएको छ, तर पुराना दलहरूले यस तथ्यलाई स्वीकार गर्न नसकेको देखिन्छ ।  यथास्थितिवादी , अहंकारवादी सोचाइमा परिवर्तन ल्याइ आफुलाइ सुधार नगरे फेरि पनि यस्तै विस्फोटक स्थिति दोहोरिन सक्ने तर्फ दलहरूले सचेत हुन जरुरी छ। फागुनमा  निर्वाचन गराउन र परिवर्तनलाई संस्थागत गर्न परिस्थितिको उपजको रुपमा आएको अन्तरिम सरकारले सुरु गरेको सुधारलाई दलहरूले स्वीकार र सम्मान गर्दै आगामी निर्वाचनमा नयाँ  शैली , नयाँ प्रतिबद्धता र नयाँ  उम्मेदवार साथ होमिनुको बिकल्प देखिँदैन  । राजनीतिको मुलधार र मियो संझनेहरुले जनतासामु आफुलाइ परिवर्तन र सुधारको पक्षमा रहेको बिस्वसनीय आधार देखाउनु  पर्छ।अन्यथा, नव  युवा पुस्ता  संगै परिवर्तनकामी जनताले  अहिलेसम्मको राजनीतिको धारलाइ नयाँ दिशामा  परिवर्तन गरिदिन  सक्छन्, पुराना र स्थापित ठानिएकाहरुलाइ किनारामा हुत्याइदिन सक्छन्, बगरमा उत्तानो पारिदिन सक्छन्  । अब दलहरूसंग थोरै समय र थोरै बिकल्प मात्र बाँकी छ  — समयसंग पाठ सिक्ने , आफुलाइ सुधार गर्ने र मुलुकलाई अझ उन्नत लोकतन्त्र तर्फ अग्रसर तुल्याउने ।
** इति **

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?