जनतासग संवाद गर्दै सांसद न्यौपाने: जनताको मतको सधै सम्मान गर्ने विचार व्यक्त

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । उतनहुँ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य ईन्जिनियर श्रीराम न्यौपानेले जनतासँग प्रत्यक्ष संवाद गर्दै विकासका प्राथमिकता पहिचान गर्ने उद्देश्यले सञ्चालन गर्नुभएको सांसद–जनसंवाद कार्यक्रम व्यास नगरपालिका वडा नं. ५ र ६ तथा म्याग्दे गाउँपालिकामा सम्पन्न भएको छ।

जनताको समस्या प्रत्यक्ष रूपमा सुन्ने र स्थानीय आवश्यकताका आधारमा योजना निर्माण गर्ने अवधारणासहित आयोजित कार्यक्रममा स्थानीय नागरिक, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवालाको सक्रिय सहभागिता देखिएको थियो।

कार्यक्रममा सहभागीहरूले सडक स्तरोन्नति, पुल निर्माण, खानेपानी व्यवस्थापन, शिक्षा तथा स्वास्थ्य सेवा सुधार, कृषि आधुनिकीकरण र रोजगारी सिर्जनालाई प्राथमिक विकास एजेन्डाका रूपमा अघि सारेका थिए। सहभागीहरूले विकास योजनाहरू कागजमा सीमित नभई कार्यान्वयनमुखी हुनुपर्नेमा जोड दिएका थिए।

संवादका क्रममा सांसद न्यौपानेले जनताको सुझाव र अपेक्षा नै विकास योजनाको आधार बन्नुपर्ने बताउनुभयो। जनप्रतिनिधि जनताबाट टाढा नभई उनीहरूमाझ पुगेर समस्या बुझ्नु लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण पक्ष भएको उहाँको भनाइ थियो।

उहाँले कार्यक्रममा उठेका माग तथा सुझावहरूलाई प्राथमिकताका आधारमा सम्बन्धित निकायसँग समन्वय गरी कार्यान्वयन प्रक्रियामा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीय जनप्रतिनिधिहरूले समेत यस्ता प्रत्यक्ष संवाद कार्यक्रमले जनभावना समेटेर योजना निर्माण गर्ने संस्कार विकास हुँदै गएको उल्लेख गर्दै यसले स्थानीय विकासलाई थप गतिशील बनाउने विश्वास व्यक्त गरेका थिए।

सांसद र नागरिकबीचको निरन्तर संवादले विकासप्रति साझा जिम्मेवारी र विश्वासको वातावरण निर्माण गर्ने अपेक्षा सहभागीहरूले व्यक्त गरेका छन्।

उक्त सांसद जनसंवाद कार्यक्रम व्यास ५ मा वडा अध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमाल र म्याग्दे गाउँपालिकामा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठको सभापतित्वमा भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?