काठमाडौं । काठमाडौंमा बसेको बैठकले राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, देखिएका समस्या र समाधानका उपायबारे अध्ययन गर्न संसदीय उपसमिति गठन गरेको छ।
प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको मंगलबार सिंहदरबारमा सम्पन्न बैठकले सांसद श्रीराम न्यौपानेको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गर्ने निर्णय गरेको समिति सभापति आशिष गजुरेलले जानकारी दिए।
सभापति गजुरेलका अनुसार उपसमितिले तयार पार्ने प्रतिवेदनका आधारमा राष्ट्रिय गौरवका आयोजनाको प्रगति, समस्या र समाधानबारे सरोकारवाला निकायसँग प्रभावकारी छलफल गर्न सहज हुने अपेक्षा गरिएको छ।
बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य सचिव रविलाल पन्थले निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाहरूको भौतिक तथा वित्तीय प्रगतिबारे जानकारी गराएका थिए। उनले वित्तीय अभाव, निर्माण व्यवसायीको कार्यक्षमता तथा विद्यमान कानुनी जटिलताका कारण आयोजना समयमै सम्पन्न गर्न चुनौती देखिएको उल्लेख गरे।
समिति सदस्यहरूले समितिको कार्यक्षेत्रभित्र पर्ने विषयमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरूलाई समेत बोलाएर विस्तृत छलफल गर्नुपर्ने सुझाव दिएका थिए।
यसैबीच बैठकले सांसद राजेन्द्र राईको संयोजकत्वमा समितिको कार्यविधि मस्यौदा तयार पार्न अर्को उपसमिति पनि गठन गरेको छ। उक्त उपसमितिलाई सात दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा तोकिएको समितिले जनाएको छ।






