बैकुण्ठ न्यौपाने जिल्ला सभापति चलाउन योग्य हुनुहुन्न भन्ने कुरा उहाँको कृयाकलापले प्रमाणित गरिसकेको छः ब्रम्हदत्त तिमल्सेना

  • ख-
  • ख+

आदिकवि भानुभक्त क्याम्पस र त्यससग जोडिएका तमाम कुराहरुका बारेमा उक्त क्याम्पसका व्यावस्थापन समितिका अध्यक्ष ब्रम्हदत्त तिमल्सेनासगको कुराकानीः

प्रश्नः २०४४ सालमा स्थापना भएको आदिकवि भानुभक्त क्याम्पस कस्तो सोचका साथ संचालनमा ल्याईएको हो भन्ने यहाँलाई लाग्दछ ?
२०४४ सालमा यहाँका बुद्धिजिवीहरु, शिक्षाप्रेमीहरु, तत्कालिन प्रशासकहरु, दराई समुदायका मानिसहरु, बजारवासीहरुको सहयोगमा कलेज स्थापना भयो । कलेज स्थापना गर्ने सवालमा कुशल नेतृत्व अगुवाई गर्ने सवालमा पुर्व शिक्षामन्त्री गोविन्दराज जोशी र पुर्व सांसद रामनाथ भट्टराइको बिषेश योगदान रहेको छ र यस क्याम्पस स्थापनाको लागि वरपरका विद्यालयका शिक्षकहरुले पनि निकै योगदान पुर्याएका छौ । म निर्मल मा.वि.मा प्रधानाध्यपकको रुपमा कार्यरत भएपनि तनहूँको उत्तरीक्षेत्र र लम्जुगंका बिद्यार्थी ल्याउन मैले बिशेष पहल गरेको थिए । त्यसपछि यसक्षेत्रका दरै बन्धुहरुले जग्गादानको सवालमा ज्यादै ठुलो सहयोग गर्नुभयो । क्याम्पसको भौतिक संरचना दरै बन्धुहरुले दान गरेको जग्गा व्यास १ विज्ञानचौरमा निर्माण गर्न थालियो र आज यहाँसम्म आईपुगेको छ ।


प्रश्नः जुन मनसाय र भावनाका साथ क्याम्पस स्थापना गरिएको थियो क्याम्पस त्यतातर्फ अगाडि बढेको छ कि छैन ?
केहि कुराहरु सुधारमुखी हुदै गईरहेकाछन् । बिद्यार्थीहरुले स्तरिय शिक्षाप्राप्त गरेका छन् । प्राध्यापकहरु एकदमै योग्य र अनुभवी भएको कारणले बिद्यार्थीहरु सन्तुष्ट भएको मैले अनुभव पनि गरेको छु । क्याम्पसमा नयाँ बिषयहरु पनि थपिदै गएका छन् जस्तै बि.एड्.साईन्स छ, ११, १२ मा साईन्स छ, बिआईसिटी छ, डिग्री तहमा पनि बिभिन्न संकायहरु छन्, बिबिए पनि संचालनमा ल्याईएको छ । म आफु संचालक समितिको अध्यक्ष भएपछि पनि ११ मा ल संकाय संचालन गरियो, यो बर्ष होटल म्यानेजमेन्ट संचालन गरिएको छ, देशको आवश्यकता अनुसार रोजगारी श्रृजना गर्ने बिषयमा अध्ययन अध्यापन गराउने बारेमा काम पनि भईरहेका छन् । यद्यपी यत्तिकैमा हामीले सन्तोष लिएर बस्न हुदैन, यहाँ एम्.बि.ए.का कक्षाहरु चलाउनुछ । बि.एस्.सि. साईन्सका कक्षाहरु चलाउनुछ । अन्य प्राविधिक बिषयका कक्षाहरु संचालन गर्दै कलेजको प्रगतिलाई उचाईमा पुर्याउनु बाँकि छ । यहाँ सबै शिक्षाप्रेमीहरुको सद्भाव र अपेक्षा बमोजिम कलेजलाई अगाडि लैजाने हाम्रा कार्यक्रमहरु अगाडि बढिसकेका छन् ।
प्रश्नः एउटा साधारण मानिसले नबुझेको कुरा तिमल्सेना सर यस क्याम्पसलाई सरकारी क्याम्पस बनाउन तत्कालिन शिक्षामन्त्री गोविन्दराज जोशीले पनि पहल गर्नुभएको थियो , तपाई पनि सरकारी बनाउनुपर्छ भन्दै लागिरहनुभएको छ तर सरकारी बनाउन सकिएको छैन किन होला ?
मैले बुझेसम्म नेकपा एमालेको प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारपछिको नेपाली कांग्रेसको सरकारको शिक्षामन्त्री गोविन्दराज जोशीसग तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले ”डडेलधुराको क्याम्पसलाई सरकारी बनाईदिनुपर्यो ” भन्दै गर्दा मन्त्री जोशीले पनि ”दमौलीको आदिकवि क्याम्पसलाई पनि सरकारी बनाउने” कुरा भएछ तत्पश्चात क्याम्पसबाट सिफारिस दिने कुरामा यहाँबाट गम्भिर त्रुटि गरिएछ अर्थात सिफारिस दिईएनछ । गोविन्दराज जोशीले ३,४ पटकसम्म अनुरोध गर्दा गर्दै सिफारिस नदिईएको कारण सामुदायिक क्याम्पस नै रहन पुग्यो यसले तनहूँवासीलाई ठुलो क्षति पुगेको छ । सरकारी बनाउन पाएको भए सरकारबाट थुप्रै भौतिक संरचनाहरु निर्माण हुने थिए , आर्थिक अवस्था कमजोर भएका बिद्यार्थीहरुले सस्तो शुल्कमा अध्ययन गर्न पाउथे । तत्कालिन क्याम्पस प्रमुखको सोच नपुगेको हुनाले क्याम्पसलाई ठुलो घाटा पुगेको छ ।
प्रश्नः सर म गलत छु भने सच्याउनुहोला तर सुनिन्छ नि आदिकवि भानुभक्त क्याम्पसलाई सरकारी बनाउन कुनै स्वार्थ समुहले रोकेको छ के यो कुरा साँचो हो ?
बजारमा विभिन्न धारणाहरु आईरहेका छन् , गोविन्दराज जोशीको भनाई अनुसार यसलाई सरकारी बनाएपछि त्रि.वि.वि. सेवा आयोगबाट स्थायी प्राध्यापकहरु आउने भएको र यहाँ नेतृत्व गरेकाहरु विस्थापित हुने भएर सरकारी बनाउन नदिएका हुन् भनेर बजारवासीले अनुमान गरेका थिए । विस्थापित हुने कुरामा पनि तत्कालिन प्राध्यापक संघका अध्यक्ष कमलामोहन वाग्लेको नेतृत्वले क्याम्पसलाई सरकारी बनाउन पहल गर्ने भनेर निर्णय गर्दा पनि तत्कालिन क्याम्पस प्रमुखबाट सिफारिस नपठाईएको कुरा स्पष्ट छ, त्यो पुष्टि भईसकेको छ । यसले कुन प्रकारको ईतिहास बोक्ने हो भन्ने कुरा यसक्षेत्रका समाजसेवी, बुद्धिजिवि, भावि पिढीले मुल्यांकन गर्नेछन् ।


प्रश्नः सामुदायिक क्याम्पस भएर पनि होला आदिकवि भानुभक्त क्याम्पस आर्थिकरुपमा सवल नभएको जगजाहेर नै छ तपाई अध्यक्ष भएर आएको २ बर्ष भयो आर्थिक अवस्था सुध्रिएको छ कि त्यसरी नै हिडाईरहनुभएको छ ?
अहिलेचाँहि क्याम्पस घाटामा छैन सबैको तलब भुक्तानी गरिएको छ । करिब ३०, ३५ लाख बैक ब्यालेन्स छ तै पनि यो पर्याप्त छैन पहिलाभन्दा अहिले क्याम्पसको आर्थिक अवस्था सुध्रदो अवस्थामा छ । बिद्यार्थीहरु बढाउनको लागि प्राध्यापक, समितिका पदाधिकारी र शुभेच्छुकहरु दत्तचित्त भएर लाग्नुभएको छ ।
प्रश्नः यो कोरोना महामारीको समयमा पनि बिद्यार्थी संख्या बढ्दो छ ?
बिद्यार्थी संख्या बढ्दै आईरहेको छ र अलिकति समस्या ड्रप आउट संख्या पनि हुदै आईरहेको छ यो समस्या हल गर्नको लागि अभियान चलाउन पर्नेछ । ड्रप आउट संख्या कम गर्न सकियो भने प्राध्यापक तथा कर्मचारीको तलब दिन कुनै समस्या पर्ने छैन ।
प्रश्नः ब्रम्हदत्त तिमल्सेनालाई मानिसहरु आर्थिक अनुशासन भएको मानिस, प्रष्ट विचार राख्ने मानिसको रुपमा चिन्छन् तपाईको यो स्वभावले क्याम्पसको अध्यक्ष भएर संचालन गर्न कत्तिको गारो भएको छ ?
अहिलेसम्म त्यस्तो गारो भएको अनुभव लिएको छैन । संचालक समितिमा सबै निर्णयहरु सर्वसम्मत भएका छन् । निर्माण कार्यको लागि आर्थिक पक्ष जुटाउन धेरै मेहनत गर्नुपरेको छ । हामीले प्रदेश सरकारसग पनि केहि महिना अगाडि हामीलाई साढे ५ करोड आवश्यक छ भनेर माग गरेको छौ । हामीले प्रधानमन्त्री , शिक्षामन्त्री , सहरी बिकास मन्त्रालय समक्ष निवेदन पेश गरेका छौ । शिक्षा मन्त्रालयले हाम्रो निवेदनलाई त्रि.वि. अनुदान आयोगमा पठाएको छ भन्ने खबर आएको छ । त्रि.वि. अनुदान आयोगले पनि निर्माणसग सम्बन्धित सूचना निकाल्ने छ , हामी त्यो फाराम आवेदन खुल्ने दिनको प्रतिक्षामा छौ । हेर्दै जाउ कहाँ कताबाट जुट्छ हामी श्रोत खोजिरहेका छौ । निर्माणको सन्दर्भमा यसै क्याम्पसमा लामो समयसम्म क्याम्पस प्रमुख अहिले व्यास नगरपालिकाको प्रमुख हुदा पनि व्यास नगरपालिकाले चहिने जत्ति रकम प्रदान गर्नुपर्नेमा त्यो प्रदान गर्न सकिरहेको छैन ।
प्रश्न: यहाँले हाम्रो समितिले राम्रो काम गरिराछौ भन्नुभयो, यसबर्ष दशैंमा दशै खर्च र तलब दिन सक्यौ भनिरहदा असोज २० गते भर्खरै यहाँले भन्नुभएका पूर्व क्याम्पस प्रमुखले गर्नुभएको गुनासो म क्याम्पसमा आउदा व्यावस्थापन समितिको अध्यक्ष नआउनु , क्याम्पसका प्राध्यापकहरुले मसग आँखा नजुधाउनु भन्नुलाई तपाईहरुले उहाँलाई वाईकट गरेको कारणले आएको शब्द हो भन्दा हुन्छ त्यस्तो हो सर ?

उहाँ क्याम्पसको संचालक समितिको पदेन सदस्य हुनुहुन्छ । हामीले उहाँलाई बाईकट गरेका छैनौ । हरेक मिटिगंमा उहाँहरुलाई निम्त्याएका छौ केहि मिटिगंमा आउनुहुन्छ केहिमा आउनुहुन्न । बिद्यार्थीले आयोजना गरेको कार्यक्रममा जहाँ एउटा बिद्यार्थीले मलाई सामान्य सूचना दिनुभाथ्यो र त्यो समय मेरा लागि अनुकुल छैन भनेको थिए र क्याम्पस प्रशासनले खबर गरेको थिएन, क्याम्पस जानेक्रम आवश्यकता, औचित्य र परिस्थितिलाई ध्यानमा राखेर हो , म बाराम्बार क्याम्पस जाने काम भएकै छ ,प्रमाणको रुपमा भन्नुपर्छ भने हामीले समय समयमा मिटिगं गरेका छौ, बाह्य परिक्षाको समयमा सुपरिवेक्षण गर्न आउनुभएका प्राध्यापक आउदा जस्तै प्रा. तिर्थ अर्यालजस्तैसग पनि हामीले भलाकुसारी गरेकै छौ । म क्याम्पसमा आवश्यकता अनुसार जाने गरेकै छु र १९ गते पनि म क्याम्पसमा गएको थिए त्यहि नै आत्मारामसर जो प्राध्यापक र बिद्यार्थीहरुको लोकप्रिय प्राध्यापक हुनुहुन्छ उहाँले ५,७ जना प्राध्यापकहरुको बिचमा अहिलेसम्मका अध्यक्षमा सबैभन्दा बढि क्याम्पस भिजिट गर्ने अध्यक्ष भनेर मलाई भन्नुभएको थियो ।
प्रश्नः अनि सर तपाईको भनाई र व्यास नगरपालिकाका मेयर तथा उक्त कलेजका पुर्व क्याम्पस प्रमुख हालका पदेन सदस्यको भनाई किन त्यस्तो आएको हो त ?
अब भनाई चाँहि अलि आपत्तिजनक भनाई नै हो । उहाँले क्याम्पसको संचालक समितिको नेतृत्वलाई आक्षेप लगाएको पाईयो त्यस्तै प्राध्यापकहरुलाई पनि आक्षेप लगाएको पाईयो त्यो अलि बुझ्दै नबुझिकन भनिएको छ, जुन कार्यक्रममा उहाँले आक्षेप लगाउनुभयो उक्त कार्यक्रमको प्राध्यापकहरुलाई पनि जानकारी रहेनछ । मेरो अनिवार्य आवश्यकता थियो भने क्याम्पस प्रशासनले पनि मलाई अवगत गराउनुपर्थ्यो त्यो खबर आएको थिएन । २० गते बिहान उहाँले त्यो दुराषयपूर्ण बिचार व्यक्त गर्नुभएको थियो । त्यहि दिन बडा दशैको शुभकामना व्यक्त गर्नको लागि हामीले क्याम्पसमा दिनको ३ बजेशुभकामना कार्यक्रम राखेका थियौ । सबै कुराको विवरण नै नबुझिकन त्यसै पुर्वाग्रही रुपमा दिएको अभिव्यक्तिलाई मैले उहाँले अबुझ भएर व्यक्त गर्नुभएको अभिव्यक्तिको रुपमा बुझेको छु साथै उहाँले ४ बर्षे कार्यकालमा कतै डम्पिगं साईट बनाउन नसकेर व्यास नगरपालिकाको फोहोरलाई क्याम्पसको जग्गामा डम्पिगं गर्न खोज्दा त्यसले बिद्यार्थी, त्यसक्षेत्रका बासिन्दालाई असर पुग्छ भनेर हामीले विरोध गरेको कारण पनि ए ! आज मैले जे भन्यो त्यहि नमान्ने ? भन्ने मनसाय राखेर उक्त भनाई व्यक्त गर्नुभएको होला ? र कता कता यो अभिव्यक्तिलाई नेपाली कांग्रेसको वडा र नगरको अधिवेशन र निकट भविष्यमा हुन लागेको क्षेत्रिय, जिल्ला, प्रदेश, र केन्द्रको अधिवेशन हुदैछ त्यसमा उहाँ अगाडि जाने कुरामा बढि सशंकित भएको, बढि आत्तिएको पिडाको अभिव्यक्ति कहाँ व्यक्त गर्ने महसुस नै नगरिकन जहाँ कार्यक्रम पाउनुभयो त्यहि व्यक्त गरेको मैले पाएको छु र वहाँ पार्टी सभापति हुन सक्षम हुनुहुन्न , उहाँ जिल्ला सभापति भएको अवस्थामा प्रदेश र जिल्लाभरिका ६ सिट नै हारियो उहाँले त्यो कमजोरी महसुस गर्नुभएको छ कि छैन ? अर्को कुरा उहाँले मैले अब पार्टी सभापति चलाउन सकिन, फुर्सद भएन, म व्यास नगरपालिकाको मेयर भयाँ भनेर जितप्रकाश आलेलाई कार्यवाहक सभापति दिनुभयो र अहिले मेयरकै पदमा हुदाँहुदै उहाँ फेरि पार्टी सभापतिमा उठ्ने चर्चा चलिरहेकै छ । उहाँकै सुपुत्रले पनि क्यामिन र म्याग्देमा मत माग्दै हिडेको कुरा पनि आईरहेको छ। । पिताको लागि छोराले मत माग्नु नराम्रो हैन तर आलोपालो हुनुपर्छ ।

प्रश्नः तपाई आदिकवि भानुभक्त क्याम्पसका पुर्व क्याम्पस प्रमुख, हाल व्यासका मेयर र नेपाली कांग्रेसका जिल्ला सभापति बैकुण्ठ न्यौपाने पुनः जिल्ला सभापति हुन अयोग्य हुनुहुन्छ भन्नुहुन्छ , न्यौपाने चाँहि हामीले अलिकति अयोग्य मान्छेलाई अध्यक्ष बनायौ कि ? हामी कसरी बुझ्ने तपाईहरुको भनाईलाई ?
यो मेरो व्यक्तिगत विचार हो त्यसैले अलि बस्तुपरक तरिकाले जानुपर्यो। उहाँ पार्टी सभापति चलाउन योग्य हुनुहुन्न भन्ने कुरा उहाँको कृयाकलापले प्रमाणित गरिसकेको छ । म पनि पार्टीको चुनावमा लडिन तैपनि नेपाली कांग्रेसको क्रियाशिल सदस्य हुँ । प्रतिनिधिमा आएकालाई मन नजितिकन पार्टीका कुरालाई लिएर क्याम्पसमा तथामनाम तल्लो स्तरका शब्दहरुमा उत्रेर प्राध्यापकहरुलाई गाली गर्ने,होच्याउने कुराहरु, संचालक समितिको नेतृत्व अयोग्य भन्ने कुरा बिलकुल निराधार छ । म पनि लामो समयसम्म दमौलीमा बसेको छु , धेरैले मलाई राम्रोसग चिन्नुहुन्छ मैले निर्मल मा.वि. मा नेतृत्व गर्दा होस् , मानव अधिकार संगठनमा नेतृत्व गर्दा होस् चाहे प्रजातान्त्रिक विचार समाजमा नेतृत्व गर्दा पनि सफल नेतृत्व गरेको छु ।
प्रश्नः यहाँहरु सबैले निकै मेहनेत गरेर २०४४ सालमा स्थापना भएको आदिकवि भानुभक्त क्याम्पसलाई आगामी दिनमा शैक्षिक तथा आर्थिक रुपमा कस्तो रुपमा देख्न पाईएला ? सरकारी क्याम्पस बनाउन सकिएला कि नसकिएला ?
क्याम्पसलाई सबै पक्षको निरन्तर योगदान भईरहन आवश्यक छ निरन्तर योगदान भएन भने व्यावधान आउन सक्छ र ति व्यावधानहरुलाई कसरी हल गर्ने भन्ने सवालमा पनि चनाखो हुनुपर्नेछ । सामुदायिक क्याम्पसहरु अधिराज्यभर जहाँ जहाँ संचालनमा छन् सबै आर्थिक संकटमा छन् । विगतमा यस क्याम्पसमा पनि प्राध्यापकहरुले ८, ९ महिनासम्म समयमा तलब नपाएको सबैको जानकारीमा छ । अस्ति भर्खर वर्तमान प्राध्यापक संघका अध्यक्षले २७ बर्षको अवधि यसबर्ष मात्र दशै खर्च र तलब लिन पाईएकोमा हर्ष व्यक्त गर्नुभएको छ ।
क्याम्पसलाई सरकारी बनाउनका निम्ति प्रयत्नशिल रहनेछौ यसको दायित्व सरकारले पुरा लिवोस् भनेर तर सरकारी नबन्दासम्म पनि हामीले कलेजको गतिलाई अगाडि बढाउनुपर्छ थप बृद्धि गर्नुपर्छ किनकी यस यस क्याम्पसमा तनहूँ जिल्लाका त भई नै हाले गोर्खा र लम्जुगंका विद्यार्थीहरु पनि पढ्ने गर्छन् । हामीले यसलाई प्रतिष्पर्धामा लग्नुपर्छ र विश्व बजारमा पनि बिक्ने खालको जनशक्ति हामीले तयार गर्नुछ । यसरी सफा चिन्तन लिएर क्याम्पसको श्रृवृद्धि लागि लाग्नुपर्छ र हामी सबै लागिरहेका छौ, लाग्नेछौ भन्ने प्रतिवद्धता जाहेर गर्दछु ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्