कर्णालीमा अविश्वासको प्रस्ताव दर्ता गर्ने कँडेल समूह र प्रचण्डबीच भेटवार्ता

  • ख-
  • ख+

काठमाडौं । मुख्यमन्त्री महेन्द्र बहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने नेकपा कर्णालीका नेता एवम् प्रदेश सांसद यामलाल कँडेलले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेटवार्ता गरेका छन् ।

प्रचण्डलाई भेट्न नेता कँडेल शुक्रबार बिहान ९ बजे खुमलटार पुगेका थिए । प्रचण्डलाई भेट्न कँडेलका अतिरिक्त मायाप्रसाद शर्मा र गुलाबजंग शाह खुमलटार पुगेका थिए ।

अविश्वास प्रस्ताव दर्तापछि उत्पन्न परिस्थितिबारे छलफल गर्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डले दुवै पक्षलाई काठमाडौं बोलाएका थिए ।

कर्णालीका मुख्यमन्त्री शाहीसहितको टोलीले भने बिहीबार नै अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेको थियो ।

दुई अध्यक्षसहित कर्णालीबाट बोलाइएका नेताहरुबीच सामूहिक छलफल गर्ने भनिए पनि अर्का अध्यक्ष एवम् प्रधानमन्त्री ओलीको भने कार्यव्यवस्तताले भेट जुटेको छैन ।

प्रधानमन्त्री ओली बिहीबार दिनभरजसो व्यस्त भएका कारण शुक्रबार भेटवार्ता हुने नेकपाका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

नेता कँडेलको नेतृत्वमा गत आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीविरुद्ध सत्तारुढ दल नेकपाको संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।

कर्णालीमा दर्ता भएको अविश्वासको प्रस्तावले नेकपाको केन्द्रीय राजनीति नै तरंगित बनेको थियो । पछि केन्द्रबाट गरिएको ‘हस्तक्षेप’का कारण अविश्वास प्रस्ताव अगाडि बढ्न सकेको छैन ।

यद्यपि कँडेल पक्षले भने अविश्वासको प्रस्ता फिर्ता लिइनसकेको बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्