जनमत संग्रह आजको आवश्यकता : राजावादी आन्दोलनका अगुवा विनोद घर्ति

  • ख-
  • ख+

रमेश पौडेल । काठमाण्डौ । राणाशासन, पंचायत र ज्ञानेन्द्रको शासनकालमा जनतामाथि ज्यादति भयो दलका प्रतिनिधिहरु बर्षौदेखि सत्तामा छन् तर जनताले खासै परिवर्तनको महसुस गर्न पाएका छैनन् , जनताबाट चुनिएका जनप्रतिनिधिहरुको जीवनशैली अस्वभाविक बढिरहेको छ तर जनता ऋणको भारि बोक्न बाध्य छन् । आफुलाई गणतन्त्रका हिमायति भन्नेहरु सुकिला मुकिला भईरहदा किसानहरु केरोना महामारीको प्रभाव नगरिकन सरकारले गरेको बाचा पुरा गर्नु भन्नको लागि नुन र चिउराका बोकेर तराईदेखि काठमाण्डौ पुगेका छन् । सरसर्ती हेर्दा डाँडाकाडामा बाटोघाटो पुगेका होलान् नेता तथा कार्यकर्ताका डोजर, ट्याक्टर, टिप्परले काम पाएका होलान् , राज्यको सम्पत्ति दोहन गर्न पाउदा आजसम्म सत्तामा पुगेका दलका नेता तथा कार्यकर्ता खुशी होलान् तर जनता भित्रभित्र पिडित भईरहेका छन् तिनैको पिडा आजकल सडकमा देखिएको भान हुन्छ । ति अनुहार मध्ये कोहि आफुले सत्ताको उपभोग गर्न नपाएका होलान्, कोहि आफ्नो राजनितिक अभिष्ट पुरा गर्न खोज्ने होलान् , कोहि लोकतन्त्रको विरोधी होलान् तर बढि जसो नेतागणहरुको कार्यशैलीबाट असन्तुष्ट भएका प्रतिनिधिहरु छन् । वहाँहरुको माग छ गणतन्त्रका धेरै राजाहरुभन्दा त जस्तो भए पनि एउटै राजा ठिक । टोल टोलमा खुलेका जनप्रतिनिधिहरुका नयाँ राजसंस्था भन्दा त पुरानै राजसंस्था ठिक । त्यस्तो भन्ने व्यक्तिहरुमा बढि युवाहरु देखिनु भएको छ । तिनै युवाहरु मध्ये एउटा युवा हुनहुन्छ बिनोद घर्ति । हुन त वहाँ राप्रपा तनहूँको जिल्ला अध्यक्ष हुनहुन्छ तर हामीले अनौपचारिक कुराकानी गर्दा वहाँ आफु कुनै पार्टीको नेता भएर होईन कि देशलाई माया गर्ने मान्छे भएर वर्तमान् व्यवस्थामा भएको बेथिति विरुद्ध लागेको बताउनुहुन्छ र आफुलाई राजतन्त्र र हिन्दुराष्ट्र फर्काउने आन्दोलनको अगुवा बताउनुहुन्छ साथै वहाँ भन्नुहुन्छ पार्टी छोड्न सकिएला देशको माया मार्न सकिदैन यस्तो बेलामा एय यो त मेरो पार्टीको होईन राष्ट्रवादी युवाहरुको आन्दोलन हो भनेर म कसरी चुप लागेर बस्नसक्छु जस्ले देशको भलो चाहन्छ उस्लाई सर्पोट गर्नु प्रत्येक नेपालीको कर्तव्य हो । उनै बिनोद घर्तिसग हाम्रा काठमाण्डौ सम्वाददाता रमेश पौडेलले गरेको कुराकानी

प्रश्न: बिनोदजी तपाईहरुले संविधान कार्यान्वयनमा गईरहेको बेला संसारभर कोरोना महामारी फैलिरहेको बेला गणतन्त्र विरुद्ध आन्दोलन गर्नु भएको छ किन र के का लागि ?

उत्तरः संविधान कार्यान्वयन संविधान कार्यान्वयन भन्दा भन्दै जुनि बित्यो त कति कुर्ने जनताले ? नेताहरुको जीवनस्तर उकासिएको उकासियै छ जनता झन् झन् गरिब भईरहेका छन् , पंचायतले ३० बर्ष शासन गर्यो २०४६ सालमा प्रजातन्त्र आएको के के भयो त यो देशमा ? राजा महेन्द्रको पालामा जति कलकारखाना खुले ? उन्का पालामा जस्ता पूर्व पश्चिम राजमार्गहरु बने ? अलिकति बिचार गर्नुस् त नेपाल बिदेशीको लागि क्रिडास्थल भएको छ , वैदेशिक हस्तक्षेप बढिरहेको छ राष्ट्रिय स्वाधीनता नै समाप्त हुन लाग्यो त्यसको रक्षाको निमित्त नेपाली नेपाली बीचको एकता र सद्भाव खल्बलिनेअवस्था आयो यसको रक्षाको निमित्त देशमा सामाजिक र जातीय भेदभाव बढ्दै गयो त्यसको अन्त्यको निमित्त देशमा व्यापक रूपमा धर्म परिवर्तन बढ्दै गएकोले देशमा व्यापक भ्रष्टाचार, लुटतन्त्र र मनपरीतन्त्र भयो त्यसको विरुद्धमा देशमा भएको एउटा राजालाई फालेर हजारौं छोटे राजाहरू भए त्यसको विरुद्धमा यो आन्दोलन गरेका हौं। वहाँहरुले राम्रो काम गरेको भए जनतामा असन्तुष्टि नै जन्मने थिएन यो आन्दोलनको प्रार्दुभाव नै हुने थिएन ।

प्रश्न: तपाईहरुके जुलुसले उठाईरहेको सदिऔंदेखि नेपाली जनतालाई शोषण गरेको थिचोमिचो गरेको राजतन्त्र फर्काउने कुरा त प्रतिगमनकारी कुरा भएन र गणतन्त्रको विकल्प कसरि राजतन्त्र हुन सक्छ ?

उत्तरः नेताहरु पृथ्वीनारायण शाहले लडाईमा मान्छे मारे थिचोमिचो गरे भन्छन् अनि आफु शिक्षकको, पुलिसको , आर्मीको, सर्वसाधारणको टाउको काटेर यो उपलब्धी आएको हो भनेर गर्वसाथ भन्छन् । अरुले गरेको संघर्ष चाहि केहि होईन मैले गरेको अन्याय अत्याचार पनि सहि हो भने जस्तो भएन र ? अनि अर्को कुरा हामीले राजसंस्थाको कुरा गरेका हौं राजतन्त्रको होइन । राजसंस्था कहिले प्रतिगमन थिएन र हुँदैन पनि जुन संस्थाभित्र रहेका व्यक्तिले विभिन्न राज्यमा टुक्रिएर बसेको राज्यलाई एकीकरण गरी एउटा सिंगो नेपाल निर्माण गरी अहिले हामी नेपाली भएर बाँच्न पाएका छौ जुन संस्थाले सारा नेपालीलाई एउटै मालामा उनेर राखेको थियो र अहिले हामी कुन अवस्थामा छौं राजसंस्था हुँदा हामी एउटा स्वाभिमानी नेपाली भएर बाँच्न पाएका थियौं त्यो सबै नेपालीले बुझेर नै राजसंस्था मागको कुरा गरेका हौं यस्ता धेरै कुराहरु छन् जसको कारण गणतन्त्रको विकल्प राजसंस्था हो अब जनताले बुझिसके र सडकमा आइसके अब धेरै दिन छैन राजसंस्था अवस्य आउँछ हामी जनताले नै ल्याउने हो।

प्रश्न: जनताको छोराछोरी देशको सर्वोच्च पदमा पुग्न पाउने, जनतालाई असिमित अधिकार दिएको गणतन्त्रमा भएका कमिकमजोरि सुधार गर्नुको साटो व्यवस्था माथि नै धावा वोल्नु कति उपर्युक्त हो ?


उत्तरः जनताको छोराछोरी देशको सर्वोच्च पदमा पुगेको राम्रो हो यसमा हाम्रो विमति छैन तर नेपाली जनतामा त्यो पदको संरक्षण वा जिम्मेवारी गर्ने हैसियत कसैमा देखिएन हामीले भोगी सक्यौं देखि सक्यौं। किनकि राष्ट्रपति भनेको कुनै दल विशेष वा व्यक्ति विशेषको हुन सक्दैन राष्ट्रप्रमुख भनेको सारा नेपालीको प्रतिनिधित्व गर्ने हुनुपर्छ तर हाम्रो देशमा एउटा पार्टीको त्यो पनि एउटा गुटको अनि कसरी राष्ट्रप्रमुख हुन्छ। मैले त्यसो भनेको अन्यथा ठहर्दैन किनकी पछिल्ला घटनाक्रमले त्यो देखाईरहेका छन् । त्यसैले हामीले सारा नेपालीको साझा प्रतिनिधित्व गर्ने निष्पक्ष संस्था राजसंस्था खोजेको हो, त्यो सर्वोच्च पदको संरक्षण वा जिम्मेवार बहन गर्छ त सिर्फ राजसंस्थाले र तपाईंले भन्नु भयो कमीकमजोरी सुधारको साटो व्यवस्था माथि नै धावा बोल्नु कति उपयुक्त हो ? हामीले पनि भनेको त्यही हो कमीकमजोरी भनेको नै अहिलेकै व्यवस्था हो जुन नेपालको लागि सारा नेपालीको लागि घाँडो भएको छ भन्न नसकेका मात्र हुन नेपालका ठूला भनौदा पार्टी र पार्टीका नेताहरुले समेत यो व्यवस्था घाँडो भएको छ। हामीले व्यवस्था परिवर्तन भनेको अभिभावकको रूपमा राजसंस्था, प्रत्यक्ष जनताबाट चुनिएको कार्यकारी प्रधानमन्त्री ,सबै धर्मलाई सम्मान गर्दै नेपालको पहिचानको निम्ति विश्वमै एकमात्र वैदिक सनातन हिन्दुराष्ट्र र संघीयताको खारेज फेरि राजा महेन्द्रले बनाउनु भएको पाँच विकासक्षेत्र नै नेपालको लागि उपयुक्त छ र स्थानीय तहलाई केन्द्रको मातहतमा रहने गरी अझै अधिकार सम्पन्न बनाउने जनताको अधिकार जनतालाई नै दिने हो। अनि अर्को कुरा धेरै नेताहरु जनताले बेहोरिसक्नुभयो मैले प्लिज धैर्य गनुस् हाम्रा नेताहरु सुध्रिनुहुन्छ भन्छु भने नेपाली जनताले मलाई कालोमोसो दल्छन् अब त अति भईसक्यो क्या हजुर जनताको धैर्यता सिमा नाघिसक्यो त्यसैले त हेर्नुस् त बजारमा युवाहरु खाई नखाई राष्ट्रको झण्डा बोकेर दोडेका छन् । अति भएपछि यस्तो अवस्था आएको हो र यस्को सबै श्रेय हाम्रा नेतागणहरुलाई जान्छ ।

प्रश्नः तपाईहरुको आन्दोलनले देशलाई झनै वर्वादि तर्फ थकेलेकिरहेको आरोप एकथरिले लगाईरहेका छन् भने एकथरिले प्रतिगमनकारीले राजतन्त्रको भुत फर्काउन खोजे भनिरहेका छन् आखिर यो आन्दोलनको उपलब्धी के होला त ? झन् राजनितिक अस्थिरता , देशको वर्वादी ?

उत्तरः देशलाई बर्बादी तर्फ कसले लगेको छ त्यो तपाईंलाई पनि थाहा छ र सारा नेपालीलाई थाहा छ । कति भयो लोकतन्त्र आएको हामीले कहिल्यै साररुपमा लोकतन्त्रको विरोध गर्यौ र ? भोट हालेकैछन् , जति कमाए पनि जता भष्ट्राचार गरेपनि नेपाली जनता केहि बोल्दैनन् भन्ने सोचेर मात्र हुन्छ ? जनताले मन मनमा हिसाब राखिरहेका हुन्छन् त्यहि मन मनमा हिसाव राखेको भएर त अहिले अब त अति भयो अब त जाग्नुपर्छ भनेर सडकमा आएका हुन् , फेरि हेनुस् त मैले धेरै कुराहरू माथि नै भनिसकेको छु पहिले अवस्था कस्तो थियो र अहिले कस्तो छ ? अहिलेकै अवस्था वा व्यवस्था रहिरहे देश बर्बादी मात्र होइन देश नै नरहने हो कि भन्ने चिन्ता बढ्दै गएको छ त्यसैले यो अवस्थाबाट देश बचाउन हामीले आन्दोलन गरेका हौं र राजतन्त्रलाई जसले भूत देखेका छन् म स्मरण गराउन चाहन्छु यस्ता भूत फर्केका इतिहास धेरै देशमा छ। जस्तै बेलायत, क्यानाडा, जापान लगायत विभिन्न देशमा राजसंस्था फर्केका इतिहास छ र अहिले विश्वकै विकसित देशमा गनिएका छन् अब हामीले पनि त्यही चाहेको हो। नेपालमा हामीले हरेक तन्त्र हेरियो त्यसैले नेपालको लागि नेपाली माटोको लागि सबै भन्दा राम्रो उत्कृस्ट तन्त्र भनेकै राजसंस्था सहितको लोकतन्त्र वा प्रजातन्त्र हो। देशको झण्डा बोक्नेहरुले हिम्मत भए गरुन् न जनमत संग्रह अनि जनताले के चाहेका रहेछन् दुधको दुध पानीको पानी हुन्छ । जनतालाई थाहै नदिईकन विदेशी भुमीमा गएर विदेशीको स्वार्थ अनुसार अनेक सम्झौता गरेर आउने अनि सबै कुरा नेपाली जनताको माग हो भन्ने ? म तपाई मार्फत नै च्यालेन्ज गर्न चाहन्छु किन सधैको किच्किच् गरौ जनमत संग्रह अनि को रहेछ देशको आवश्यकता थाहा भईहाल्छ नि ? आफ्नो पार्टीको झण्डा नबोक्ने जति सबैलाई प्रतिगमनकारी भन्दै गर्दा भोली एक्लैले बोक्नुपर्ला त्यो पनि हेक्का राख्नु होला किनकी जनता सुतेको जस्तोमात्र गरेका थिए अब बिस्तारै जाग्दैछन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्