काठमाण्डौ । लमजुङका प्रख्यात छन्दवादी कवि श्रीकृष्ण न्यौपानेलाई दैवज्ञ साहित्य पुरस्कार अर्पण गरिएको छ ।
राजधानी काठमाडौंको नयाँ बानेश्वरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानबाट आयोजित विशेष साहित्यिक समारोहका बीच नगद ३३ हजार ३ सय ३३ रुपैयाँ र सम्मानपत्रसहित कवि न्यौपानेलाई दैवज्ञ साहित्य पुरस्कार २०८१ अर्पण गरिएको हो ।
कार्यक्रममा मन्तव्य राख्दै प्रतिष्ठानका सदस्य कोषराज न्यौपानेले श्रीकृष्ण न्यौपानेको कवितामा अद्भुत कवित्व पाइने र उनका कृतिहरू संख्यात्मक दृष्टिले मात्रै नभएर गुणात्मक दृष्टिले पनि महत्वपूर्ण र परिस्कृत रहेको बताए ।
पुरस्कृत व्यक्तित्व कवि श्रीकृष्ण न्यौपानेले हृदयमा झंकार नदिने, मान्छेलाई जागृत नबनाउने र सिर्जनात्मक आनन्द छर्न नसक्ने साथै छन्दको नाममा भाषा र भाषाको नाममा छन्द भाँचिएका, लय, विम्ब र अलङ्कारवीहिन तथा भाव सिर्जनामा सफल नभएका लेखौटहरू साहित्यिक मान्न नसकिने बताए । उनले नेपाली साहित्यको पछिल्लो प्रहरमा उल्लिखित अनुसारका लेखौटहरूले आफूलाई साहित्यिक सिर्जनाका रूपमा पेस गर्नु दूर्भाग्यपूर्ण विषय बन्दै आएकोले यसबाट नेपाली भाषा साहित्यलाई जोगाएर अगाडि बढाउनु अहिलेको प्रमुख जिम्मेवारी भएको बताए ।
दैवज्ञराज न्यौपाने स्मृति प्रतिष्ठानका अध्यक्ष केदार न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव एवम् वरिष्ठ छन्द कवि प्रह्लाद पोख्रेलले गरेका थिए ।
उक्त अवसरमा वरिष्ठ कवि एवं सुप्रसिद्ध गीतकार कालीप्रसाद रिजाललाई दैवज्ञ विशिष्ट स्रष्टा सम्मान, कवयित्री एवं बालसाहित्य स्रष्टा प्रभा भट्टराईलाई दैवज्ञ बालसाहित्य पुरस्कार र परोपकार अभियान समूह, विराटनगर–३ लाई दैवज्ञ समाजसेवा पुरस्कार प्रदान गरिएको थियो ।
तस्विरः लमजु खबर








