बलात्कार पछि हत्या भएको भनिएकी युवतीले १० दिनपछि भनिन्– म जिउँदै छु

  • ख-
  • ख+

पटना । एउटा युवतीको बलात्कार पछि हत्या गरिएको प्रकरणमा प्रहरीले घटनामा संलग्नहरुको खोजी गरिरहेको थियो ।

घटनाको दशैं दिनसम्म प्रहरीलाई घटनामा संलग्न व्यक्ति त मिलेनन्, बरु बलात्कार पछि हत्या गरिएकी युवती जिउँदै रहेको ‘प्रमाण’ फेला पर्‍यो ।

प्रहरीले जुन युवतीको बलात्कार पछि हत्या भएको भनेर उनका हत्याराको खोजी गरिरहेको थियो, घटनाको दशौं दिनमा युवतीले ‘म जिउँदै छु’ भनेको भिडियो प्रहरीको हातमा पर्‍यो ।

घटना नेपालसँग सीमा जोडिएको भारतीय राज्य बिहार अन्तर्गतको वैशाली जिल्लाको हो ।

वैशाली जिल्लाको रहिमापुर प्रहरी थानामा मा गत २२ अगस्टमा बाकरपुर घर भएका एउटा पुरुषले मेनका नाम गरेकी आफ्नी छोरीको अपहरण भएको भन्दै उजुरी दिएका थिए । उजुरी दर्ता भएकै दिन प्रहरीले एक युवतीको शव फेला पार्‍यो ।

उक्त शव बलात्कार पछि हत्या गरिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । हत्या गरिएका व्यक्तिको पहिचान मेटाउनका लागि शवलाई एसिड हालेर चलाइएको थियो ।

प्रहरीले फेला परेको शव मेनका कै हुने आाशंकामा उजुरी दिने व्यक्ति (उनका बुवा)लाई सम्पर्क गर्‍यो । एसिडले जलाइएको हुनाले परिवारका सदस्यले शव चिन्ने अवस्था थिएन ।

उनीहरुले छोरीको अन्तिम संस्कार गरे भने प्रहरीले घटनामा संलग्नहरुको खोजी थाल्यो ।

तर, घटना भएको दशौं दिन प्रहरीले एउटा भिडियो फेला पार्‍यो । उक्त भिडियोमा मेनका आफू जिउँदै रहेका बताइरहेकी थिइन् ।

मेनकाले भिडियोमा भनेकी छन् कि उनी आफ्नो इच्छाअनुसार घरबाट आफ्ना प्रेमीसँग भागेकी हुन् । आफूले विवाह पनि गरिसकेको भिडियोमा बताएकी छन् ।

तर, परिवारका सदस्यहरुले आफ्नो हत्या भएको भनेर झुटो उजुरी दिएको उनको भनाइ छ । भिडियोमा मेनकाले भनेकी छन् कि उनले आफ्नो परिवारका सदस्यलाई फोन गरेर पनि आफू जिउँदै रहेको र प्रेमीसँग विवाह गरेको जानकारी दिएकी थिइन् ।

तर, परिवारका सदस्यहरुले आफ्नो बारेमा गलत उजुरी दिएको र आफ्नो मृत्यु (हत्या) भएको भनेर अन्तिम संस्कार गरेको उनको भनाइ छ ।

प्रहरीले अपहरणको उजुरी दर्ता गरेर अपहरण पछि बलात्कार र हत्या गरिएको केसमा अभियुक्तको खोजी गरिरहेको थियो । तर, अपहरणमा परेर बलात्कार पछि हत्या भएकी भनिएकी युवतीले भिडियोमा आफू जिउँदै रहेको र प्रेमीसँग विवाह गरेको बताएपछि प्रहरी नयाँ उल्झनमा फसेको छ ।

बलात्कार पछि हत्या गरिएको अवस्थामा शव समेत फेला परेको र शवको अन्तिम संस्कार समेत भइसकेपछि प्रहरीले अनुसन्धानलाई नयाँँ शिराबाट अगाडि बढाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्