एउटा घरमा एउटा बिरालो पालिएको थियो । बिरालोको डरले त्यस घरमा भएका मुसाहरुले त त्यस घरमा भएको भकारीबाट हत्तपत्त धान चोरेर खान पाउँदैनथे नै साथै बिरालोको डरले छिमेकमा भएका मुसा पनि त्यस घरमा पस्न सक्दैनथें । छिमेकीलाई बिरालोले त्यसरी आफ्नो घरबाट छिर्न खोज्ने मुसालाई रोकेको मन पर्दैनथ्यो । अनि एकदिन त्यस घरका मानिसलाई छिमेकीले उचाले र भने मुसाहरुले बरु अलिअलि धान खान्छन् तर बिरालोलाई दूध ख्वाउँदा ठूलो खर्च लाग्छ । घरका केही मानिसलाई पनि हो भन्ने लाग्यो अनि त्यस घरका मानिसले बिरालो लखेटे । बिरालो लखेटिने बित्तिकै मुसाहरुलाई हाइसन्चो भो र उनीहरुले निस्फिक्री भकारीको धान चोरेर खान थाले ।
भकारीको धान अप्रत्याशित रुपमा घटन थालेको र त्यो हुनुको कारण भकारीमा पसेका मुसा हुन् भन्ने यकिन भएपछि त्यस घरका मानिसहरु चिन्तित भए । यो क्रम रोकिएन भने त आफूहरू भोकै मर्नुपर्छ भन्ने बुझेर उनीहरुले फेरि बिरालो ल्याउने निर्णय गरे । फेरि बिरालो ल्याउन लागिएको कुराले पहिला त मुसाहरु आत्तिए । भकारीबाट भाग्न पनि खोजे तर उनीहरुले देखे सुने कि बिरालो ल्याउने कुरामा त्यस घरका मानिसहरूमा विवाद हुँदैछ । कोही उत्तरबाट बिरालो ल्याउँ भन्दैछन् त कोही दक्षिणबाट अनि कोही चारै दिशाको सहमतिमा बिरालो ल्याउँ भन्दैछन् ।
यो सुनेर मुसाहरु ढुक्क भए र फेरि भकारीमा पसेर कसरी कताबाट बिरालो ल्याउने भन्ने घरका मान्छेको विवाद रमाइलो मानेर सुन्दै आनन्दले धान चोरेर खान थाले । अनि,अन्त्यमा एउटा मुसाले भन्यो “ चिन्ता नगर साथि हो , अब बिरालो ल्याउने कि नल्याउने भन्ने झगडा मा यिनिहरू बिच कुटाकुट हुनेवाला छ , उस्तै परे झगडामा कोही मर्न पनि सक्छन, यिनिहरूको झगडा चलिरहन्छ,त्यसैले हामी निश्चिन्त भएर ढुकुटीको धान खान थालौ ‘।
(अस्वीकरणः यो काल्पनिक कथा हो । कुनै घटना वा प्रवृतिसंग यसको मेल केवल संयोग मात्रै हुनेछ।०
कथाकारः सुशिल देवकोटा कलाकार, चलचित्र लेखक तथा पत्रकार हुनुहुन्छ ।)