तनहुँ । शुक्लागण्डकी नगरपालिका–५, बेलचौताराका सुभानी तिमल्सिना र शुभारम्भ तिमल्सिनाले खुत्रुके फोडेर बाढीपीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग गरेका छन्।
उनीहरूले खुत्रुकेमा जम्मा गरेको रु. ५ हजार १६७ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका हुन्।
सानै उमेरदेखि बचत गर्दै आएको रकम विपद्मा परेका नागरिकको सहयोगमा प्रयोग गर्ने निर्णय गरेका उनीहरूको कार्यले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेको छ।
छोराछोरीले आफ्नो खुत्रुकेमा जम्मा गरेको रकमसमेत विपद्पीडितको सहयोगका लागि प्रदान गरेकोमा बुबा दिनेशचन्द्र तिमल्सिना खुशी भएका छन्। उनले बालबालिकामा सानैदेखि सहयोगी भावना र सामाजिक जिम्मेवारीको विकास हुनु सकारात्मक भएको बताए।
बाढी तथा विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले सुभानी र शुभारम्भले आफ्नो बचत रकम सहयोग गरेका हुन्।
साभार: शुक्लागण्डकी ९७.६ एफ एम्















