तनहुँ । रसुवाको भोटेकोसी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित शुक्लागण्डकी युवा क्लबले राहत सामग्री सङ्कलन गरेको छ।
शुक्लागण्डकी बजार क्षेत्रका विभिन्न व्यक्ति तथा व्यवसायीबाट सङ्कलित राहत सामग्री लिएर क्लबको टोली प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो।
विपद्को कठिन समयमा बाढी प्रभावित नागरिक तथा पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले आवश्यक राहत सामग्री सङ्कलन गरी प्रभावित क्षेत्रसम्म पुर्याउन लागिएको क्लबले जनाएको छ।
क्लबले राहत अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, व्यवसायी तथा शुभेच्छुकप्रति धन्यवाद व्यक्त गर्दै विपद्को समयमा मानवीय सहयोगका लागि सबैलाई एकजुट हुन आग्रह गरेको छ।












