तनहुँ । व्यास नगरपालिका–१३, कटन टोलस्थित जामुने आमा समूहले तीजमा दर खाने कार्यक्रमका लागि छुट्याइएको रकम विपद् प्रभावितको सहयोगमा जुटाएको छ।
समूहले तीजमा दर खाने खर्च कटाएर रु. २० हजार ५ सय प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरेको हो।
विपद्को समयमा पीडितको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले दर खाने रकमलाई सामाजिक सेवामा लगाउने निर्णय गरिएको समूहले जनाएको छ।
समूहले विपद्को घडीमा सबैले आ–आफ्नो तर्फबाट सकेको सहयोग गर्नुपर्नेमा जोड दिँदै आफ्नो सानो प्रयासले पीडित परिवारलाई राहत पुग्ने विश्वास व्यक्त गरेको छ।












