तनहुँ। तनहुँ प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक जना पुरुषलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार भदौ २३ गते अस्थायी प्रहरी पोष्ट पुलजिपबाट खटिएको प्रहरी टोलीले आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वी राजमार्गमा चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेको हो।
मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको माइक्रोबसमा सवार पोखरा महानगरपालिका–२७ रिठेपानी बस्ने ३२ वर्षीय पुरुषको पछाडि भिरेको कालो झोलाभित्र लुकाइछिपाई ल्याएको अवस्थामा प्रतिबन्धित लागूऔषध ट्यापेन्टाडोल ११७ ट्याब्लेट र १०० ग्राम गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले लागूऔषधसहित पक्राउ परेका उनलाई नियन्त्रणमा लिई सम्मानित तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ।













