डुम्रे । बन्दीपुर गाउँपालिका–१, डुम्रे बजारस्थित मनास्लु बोर्डिङ इङ्ग्लिस स्कुलले बाढीपहिरो पीडितको राहत तथा उद्धारका लागि ६० हजार ७४५ रुपैयाँ सहयोग गरेको छ।

विद्यालयका सम्पूर्ण विद्यार्थी, शिक्षक–कर्मचारी तथा विद्यालयको तर्फबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको विद्यालयले जनाएको छ।

प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको पीडामा साथ दिने उद्देश्यले विद्यार्थी तथा शिक्षकहरूको सहभागितामा रकम संकलन गरिएको विद्यालयका प्रिन्सिपल हरि चन्द्र अधिकारीले बताए।

विपद्को कठिन समयमा गरिएको सहयोगले राहत तथा उद्धार कार्यमा केही भए पनि योगदान पुग्ने विश्वास विद्यालयले व्यक्त गरेको छ। साथै सहयोग अभियानमा सहभागी सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक तथा सहयोगी मनहरूप्रति विद्यालयले आभार व्यक्त गरेको छ।