भानु । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि भानु नगरपालिका–१, साजबोटेस्थित डुम्रे मुस्लिम समाजले ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ।

समाजले आफ्नो क्षेत्रबाट स्वतःस्फूर्त रूपमा राहत रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो।

राहत संकलन अभियानमा स्थानीय आमाबुवा, युवा तथा अग्रजहरूको सक्रिय सहभागिता रहेको समाजले जनाएको छ। प्राकृतिक विपत्तिको कठिन घडीमा पीडित परिवारलाई सानो भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले रकम संकलन गरिएको समाजका प्रतिनिधिहरूले बताएका छन् ।

विपद्का बेला समुदायस्तरबाट गरिएको यस्तो सहयोगले पीडितको राहत तथा उद्धार अभियानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास समाजले व्यक्त गरेको छ। साथै सहयोग अभियानमा सहभागी सम्पूर्ण सहयोगी मनहरूप्रति डुम्रे मुस्लिम समाजले आभार व्यक्त गरेको छ।