भानु । तनहुँको भानु नगरपालिका–१३, चन्द्रावतीस्थित नारी विकास आमा समूहले बाढी तथा विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि रु. २१ हजार १ सय २१ सहयोग गरेको छ।

समूहले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। विपद्का कारण प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले समूहले आफ्नो तर्फबाट सहयोग गरेको जनाएको छ।

प्राकृतिक विपद्को कठिन समयमा पीडितको दुःखमा साथ दिँदै राहत तथा उद्धार अभियानमा सहयोग गर्नु सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उदाहरण भएको स्थानीयले बताएका छन्।

सानो–ठूलोभन्दा पनि विपद्को समयमा गरिने सहयोगले पीडितलाई राहत र समाजमा मानवीय भावनालाई बलियो बनाउने भएकाले नारी विकास आमा समूहको योगदानको प्रशंसा गरिएको छ।