तनहुँ । “विगतको समीक्षा, वर्तमानको लेखाजोखा, भविष्यको कार्यदिशा, अग्रजलाई सम्मान, युवालाई सीपमूलक तालिमको लागि आव्हान” भन्ने मूल नाराका साथ नेपाली काँग्रेस म्याग्दे गाउँ कार्यसमितिको आयोजनामा “चौथो नेपाली काँग्रेस म्याग्दे सम्मेलन” हुने भएको छ।
यही २०८३ भाद्र ३१ गते बुधबार दिनको ११:३० बजे म्याग्दे-४, थर्पुस्थित रत्न गुठी भवनमा सम्मेलन आयोजना गर्न लागिएको हो। राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्शलाई अङ्गीकार गर्दै आयोजना हुन लागेको यस सम्मेलनमा म्याग्दे गाउँपालिका भित्रका पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई गरिमामय उपस्थितिका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।
गाउँ कार्यसमितिका अनुसार सम्मेलनमा म्याग्दे गाउँपालिकाभित्रका केन्द्रीय तथा पूर्व केन्द्रीय सदस्यहरू, गण्डकी प्रदेश समिति सदस्यहरू, जिल्ला तथा क्षेत्रीय समितिका पदाधिकारी र प्रतिनिधिहरू, महासमिति तथा महाधिवेशन प्रतिनिधिहरू, सातै वडाका वडा कार्यसमिति, भातृ तथा शुभेच्छुक संघ-संस्थाका प्रतिनिधिहरू र साधारण सदस्यहरूको सहभागिता रहनेछ।
गाउँपालिका बाहिरकालाई उपस्थित नहुन विशेष अनुरोध
यसैबीच आयोजक नेपाली काँग्रेस म्याग्दे गाउँ कार्यसमितिले सम्मेलनका सम्बन्धमा एक विशेष अनुरोध जारी गरेको छ। यो सम्मेलन नितान्त म्याग्दे गाउँपालिका स्तरको आन्तरिक भेला तथा संगठन सुदृढीकरण सम्बन्धी छलफल कार्यक्रम भएकाले म्याग्दे गाउँपालिका बाहिरका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई कार्यक्रममा उपस्थित नभइदिनुहुन विनम्रतापूर्वक अनुरोध गरिएको छ।














