तनहुँ । तनहुँ क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य इ. श्रीराम न्यौपानेले घिरिङ गाउँपालिकामा ‘सांसद जनसंवाद कार्यक्रम–३’ आयोजना गर्ने भएका छन्।
नागरिकसँग प्रत्यक्ष भेटघाट गरी स्थानीय समस्या, विकास निर्माण तथा जनचासोका विषयमा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रम भदौ ३१ गते बुधबार घिरिङ गाउँपालिकाका विभिन्न स्थानमा सञ्चालन हुने जनाइएको छ।
कार्यक्रमअन्तर्गत बिहान ८ बजे घिरिङ–४, नयाँटार, बिहान ९ बजे घिरिङ–४, गड्यौलीटार, बिहान १० बजे घिरिङ–१, वनटार र बिहान ११ बजे घिरिङ–१, पुट्टारमा जनसंवाद कार्यक्रम हुने छ।
त्यसैगरी दिउँसो १२ः१५ बजे घिरिङ–१, अत्रौलीमा अत्रौली युवा क्लबको कार्यक्रममा सांसद न्यौपाने सहभागी हुने कार्यक्रम पनि तय गरिएको छ।
सांसद न्यौपानेले जनप्रतिनिधि र नागरिकबीचको प्रत्यक्ष संवादलाई प्राथमिकता दिँदै स्थानीय तहमा रहेका समस्या तथा आवश्यकताबारे जानकारी लिने र सम्भावित समाधानका विषयमा छलफल गर्दै आएका छन्। सांसद जनसंवाद कार्यक्रममार्फत स्थानीयवासीका सुझाव, गुनासा तथा विकासका प्राथमिकता संकलन गर्ने उद्देश्य रहेको बताइएको छ।














