तनहुँ । तनहुँको बन्नादीपुर -१ नाहालाको नाहाला आमा समूहले यस वर्षको तीजको दर कार्यक्रम स्थगित गर्दै भोटेकोशी बाढीपीडितका लागि रु. २३ हजार ५ रुपैयाँ सहयोग गरेको छ।
समूहले उत्सवका लागि छुट्याएको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्दै विपद्मा परेका नागरिकप्रति ऐक्यबद्धता जनाएको हो।
समूहकी अध्यक्ष भगवती नैनावस्तीले चाडपर्व हरेक वर्ष आउने भए पनि विपद्मा परेका नागरिकको पीडा तत्काल सम्बोधन गर्नुपर्ने भएकाले यसपटक उत्सवभन्दा मानवीयतालाई प्राथमिकता दिएको बताउनुभयो।
उहाँले भन्नुभयो, “चाडपर्व हरेक वर्ष आउँछन्, तर विपद्मा परेका नागरिकको पीडा तत्काल सम्बोधन गर्नुपर्छ। त्यसैले यसपटक उत्सवभन्दा मानवीयतालाई प्राथमिकता दिएका हौँ।”
आमा समूहको यो निर्णयले विपद्का बेला सामाजिक उत्तरदायित्व र मानवीय सहयोगको महत्त्वलाई थप उजागर गरेको छ।