इन्धन पाइपलाइनमा ठूलो साइबर आक्रमणपछि अमेरिकामा आपत्काल घोषणा

  • ख-
  • ख+

न्युयोर्क — मुलुकको सबैभन्दा ठूलो इन्धन पाइपलाइनको आपूर्ति प्रणालीमा साइबर आक्रमण भएपछि अमेरिकामा आपत्काल घोषणा गरिएको छ । अमेरिकाको कोलोनियन पाइपलाइनमा साइबर आक्रमणकारीले आक्रमण गरेपछि अमेरिकी सरकारले आपत्काल घोषणा गरेको हो ।
कोलोनियन पाइपलाइनबाट प्रतिदिन २५ लाख ब्यारेल तेल आपूर्ति हुन्छ । अमेरिकाको पूर्वी तटीय राज्यहरुमा यसै पाइपलाइनबाट डिजेल, ग्यास र जेट इन्धनको करिब ४५ प्रतिशत हिस्सा आपूर्ति हुन्छ । शुक्रबार साइबर आक्रमणकारीको एउटा समूहले आक्रमण गरेपछि पाइपलाइनको मर्मत सम्भार भइरहेको छ ।
आपत्काल घोषणापछि पाइपलाइनको साटो सडक मार्ग हुँदै इन्धनको आपूर्ति गरिने बताइएको छ । बीबीसीका अनुसार यसैका कारण सोमबार इन्धनको मूल्य २–३ प्रतिशत बढ्न सक्नेछ । यदि यसलाई छिटै मर्मत नगरिए यसको व्यापक असर निम्त्याउने पनि बताइएको छ ।

पाइपलाइनमा र्‍यान्समवेयर डार्कसाइड नामक एक साइबर अपराधीहरुको गिरोहले आक्रमण गरेको अमेरिकी सञ्चारमाध्यमले बताएका छन् । उक्त समूहले बिहीबार कोलोनियल नेटवर्कमा आक्रमण गरी करिब १०० जिबी डेटा आफ्नो कब्जामा लिएको थियो । त्यसपछि ह्याकरहरुले केही कम्प्युटर तथा सर्भरमा डेटालाई लक गरेका थिए ।

उनीहरुले शुक्रबार अमेरिकी सरकारसँग फिरौती रकमसमेत मागेका थिए । पैसा नदिए आफूहरुको कब्जामा रहेको डेटा लिक गर्ने धम्की पनि उनीहरुले दिएका थिए । कम्पनीका अनुसार सेवा पुनः सञ्चालन गर्नका लागि प्रहरी, साइबर सुरक्षा विशेषज्ञ र ऊर्जा विभागको सहयोग लिइएको छ । कम्पनीले आइतबार आफ्नो मुख्य चार लाइन बन्द भएको र टर्मिनलबाट डेलिभरी प्वाइन्टसम्म जाने केही साना लाइनले भने काम गरेको बताएको थियो ।
लन्डनस्थित एक साइबर सुरक्षा कम्पनी डिजिटल स्याडोजले कोलोनियन पाइपलाइनमा आक्रमणको ठूलो कारण कोरोना महामारी हुन सक्ने बताएको छ । कोरोना महामारीका कारण कम्पनीका अधिकांश इन्जिनियरले घरको कम्प्युटरबाट काम गरेकाले पनि साइबर आक्रमण गर्न सहज भएको हुनसक्ने कम्पनीको आकलन छ ।

डिजिटल स्याडोजका सहसंस्थापक तथा चिफ इन्नोभेसन अफिसर जेम्स च्यापलले डार्कसाइडले टिमभ्युअर र माइक्रोसफ्ट रिमोट डेस्कटप सफ्टवेयरसँग जोडिएका एकाउन्ट लगिन डिटेल किनेको छ । उनका अनुसार जोसुकैले पनि शोडानजस्ता सर्च इन्जिनमा इन्टरनेटसँग जोडिएका कम्प्युटर लगिन पोर्टलका बारेमा जानकारी हासिल गर्न सक्नेछन् । त्यसपछि ह्याकरले युजरनेम र पासवर्डका माध्यमबाट लगिन गर्न प्रयास गर्नेछन् । च्यापलले हरेक दिन यस्ता नयाँ नयाँ समस्या साइबर सुरक्षामा देखिइरहेको र यो वैश्विक अर्थव्यवस्थाका लागि ठूलो समस्या बन्दै गएको बताए । (कान्तिपुर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्