म कांग्रेसको सभापतिमा लड्छुः सुजाता कोइराला

  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले १४ औं महाधिवेशनमा आफूले पनि सभापतिमा उम्मेदवारी दिने बताएकी छन्।

महाधिवेशन फागुनमै गर्ने कि सार्ने भन्ने बहस चलिरहेका बेला कोइरालाले आफू अब सभापतिमा उठ्ने बताएकी हुन्।

अहिलेको नेतृत्व विधि विधानअनुसार नचलेको बताउँदै कोइरालाले कांग्रेस सुधारका लागि आफूले सभापतिमा उम्मेदवारी दिने बताएकी हुन्।

उनले यो कुरा आइतबार राति गिरिजाप्रसाद कोइराला फाउण्डेसन अमेरिकाले जिल्ला सभापतिहरूसँग गरेको भर्चुअल संवादमा गरेकी हुन्।

‘म पनि अब सभापतिमा लड्छु,’ उनले भनिन्, ‘अहिले पार्टीमा लिडरसीप छैन। व्यक्तिगत प्रचार र काम गर्ने? कुनै विधि पद्धतिमा पार्टी चलेको छैन।’

उनले पार्टी विधानअनुसार चल्न नसकेको आरोप लगाइन्।

‘कांग्रेस लथालिंग छ अब सुधार्नुपर्छ,’ कोइरालाले भनिन्, ‘नेविसंघ, तरूण दललगायत पार्टीका पिलरहरूको चुनाव भएको छैन। शिथिल छ। उत्साह गुमाएको छ।’

उनले नेतैपिच्छेका गुट अन्त्य गर्नुपर्ने बताइन्। नेविसंघमा नेतैपिच्छे गरी पाँच गुट रहेको कोइरालाको भनाइ छ।

गुटले पार्टी र प्रजातन्त्रलाई समेत कमजोर बनाउने भएकोले एकतावद्ध भई अगाडि बढ्नुपर्ने उनले बताइन्।

‘कांग्रेस कमजोर भए प्रजातन्त्र कमजोर हुन्छ। प्रजा परिषदजस्तो हुने बाटोमा कांग्रेस गइरहेको छ,’ उनले भनिन्।

पार्टीको महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने उनको अडान छ।

कोरोनाको बाहनामा महाधिवेशन धकेल्न नहुने तर्क उनले राखेकी छन्।

‘अमेरिका र भारतमा चुनाव भइरहेको छ। हाम्रो पार्टीमा इच्छा शक्ति हुनुपर्‍यो, चुनाव गर्न नसक्ने होइन,’ उनले भनिन्, ‘पदको लोभ गर्न पनि भएन।’

उनले कार्यकर्तालाई नेताका पछाडि नलाग्न आग्रह गरेकी छन्।

‘गुटबन्दीलाई समाप्त पारौं। युवालाई नेताको पछि होइन, आफ्नै नेतृत्व क्षमता विकास गर्नुपर्ने सन्देश दिऔं,’ उनले भनिन्, ‘युवाहरू कोही पनि नेताको नोकर नहौं।’

सुजाता कांग्रेसका पूर्वसभापति गिरिजाप्रसादकी छोरी हुन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्