पंचकर्म उपचार विधी शुरु भयो, क्षारसुत्र विधिबाट उपचार शुरु गरेर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रलाई नमुना बनाउने लक्ष्य छः डा. मण्डल

  • ख-
  • ख+

कोभिड १९ ले धेरै मानिसहरुको जीवनलाई तहशनहश बनाएको छ । शहरमुखी भएका मानिसहरु पनि बाच्ने आशमा गाउँतिर आउनेक्रम चलेको छ भने पछिल्लो समयमा आयुर्वेदिक चिकित्सा पद्धतिको माग ह्वात्तै बढेको छ । नेपालमा मात्र संसारभरका मानिसहरुलाई मानिसलाई स्वस्थ, तन्दुरस्त राख्ने त आयुर्वेदले रहेछ भन्ने भावना पुर्नजागृत गराईरहेको छ ।
अघिल्ला बर्षहरुको तुलनामा पछिल्ला बर्षहरुमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँ सक्रियरुपमा अगाडि बढिरहेको छ । तनहूँले यस्तो विषम परिस्थितिमा सेनिटाईजर उत्पादन गर्नेदेखि लिएर आयुर्वेदिक औषधीहरुको पहुच जताततै पुर्याउने अभियान संचालन गरिरहेको छ । यस कार्यालयले गरिरहेका काम कारवाहीको बारेमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर रामप्रवोध मण्डल (आर. पि. मण्डल) सग गरिएको कुराकानी:


प्रश्नः जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँले गर्ने कामहरु यस कार्यालयबाट सर्वसाधारणले पाउने सेवा सुविधाहरुको बारेमा बताईदिनु् न ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँबाट सर्वसाधारणहरुले धेरै नै स्वास्थ्य उपचार तथा औषधीहरु पाउने गर्नुहुन्छ तै पनि मुख्य सेवा र सुविधाहरुको कुरा गर्नुपर्दा बिशेषत ५, ७ वटा कार्यहरु हामीले गर्ने गरेका छौ । पहिलो त दैनिक बिरामीहरुको चेकजाँच गर्ने ओपिडि सेवा नै हो अनि हामी कहाँ जेष्ठ नागरिकहरुको लागि औषधी उपचार पनि बिशेष प्राथमिकताका साथ गर्ने गर्छौ । पंचकर्म सम्बन्धि ढाँडहरु दुख्ने, नशा च्यापिने, मसल पेनहरु, हड्डी खिईएको सम्बन्धि उपचार पनि गर्ने गरेका छौ । यहाँबाट बाहिर बिद्यालय तथा अन्य स्थानहरुमा स्वास्थ्य जीवनशैलीको लागि योगका कार्यक्रमहरु पनि गर्ने गरेका छौ । कोरोनाको बेलामा हामीले होम आईशोलेशन तथा आईशोलेशनमा बस्नेहरुलाई बिशेषत हामीले योग तथा ध्यानहरु सिकाउने गरेका छौ ।


प्रश्नः जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँका जिल्लामा कति शाखाहरु छन् र ति शाखाहरुले के कस्तो सेवा दिन सक्छन् ?
यहाँभन्दा बाहिर आयुर्वेद औषधालय भनेर ११ वटा शाखाहरु छन् भने ४ वटा नागरिक आयुर्वेद केन्द्र भन्ने छन् । ११ वटा आयुर्वेद औषधालय स्थानिय तहलाई हस्तान्तरण भईसकेको हुनाले ति स्थानिय तहबाट नै संचालित छन् र त्यहाँबाट पनि दैनिक बिरामी चेक जाँच गर्ने र अन्य कामहरु पनि भईरहेका छन् । नागरिक आयुर्वेद केन्द्रमा मुख्य गरेर २ वटा कामहरु भईरहेका छन् एउटा योग तथा मनोपरामर्श सेवा दिने काम भने अर्को पंचकर्म सम्बन्धि सेवा दिनुका साथै सामान्य औषधी उपचार गर्ने कार्य पनि भईरहेका छन् ।

प्रश्नः यहाँलाई पुनः प्रश्न गरौ कोरोना महामारीको समयमा निकै काम गरेका छौ भनिसक्नुभएको छ तै पनि अहिलेको बिषम परिस्थितिमा कत्तिको सेवा प्रदान गर्नुभएको छ र लाभ कत्तिको लिनुभएको छ सर्वसाधारणहरुले ?
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट अहिलेसम्म ३ सयभन्दा बढि बिरामीहरुलाई औषधी वितरण गरिसकेका छौ । हाम्रो आफ्नो कोषमा यसको लागि कुनै रकमको व्यवस्था नभएको हुनाले हामीले चाहेको जस्तो गर्न त सकिरहेको छैनौ तै पनि यहाँ भएको बजेटबाट मिलाएर सक्दो सेवा दिने प्रयाश गरिरहेका छौ र रिजल्ट एकदमै सन्तोषजनक रहेको छ ।


प्रश्नः जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँमा आयुर्वेदिक धेरैजसा औषधी उपचारहरु त निःशुल्क हुने गर्दछ तैपनि मानिसहरुमा जानकारी नभएर हो कि विश्वास नभएर हो वा तपाईहरुको प्रचारप्रसार नपुगेर हो यस कार्यालयबाट सेवा लिन संख्या त्यति उल्लेख्य नभएको पाईन्छ नि किन ?
खासै त्यस्तो पनि छैन सर लकडाउनले गर्दा बिरामीहरुको भिड लाग्ने गरेको थियो, लकडाउन नभएको भए त प्रत्येक दिन ७०/८० जना बिरामीहरुको हामी उपचार गरिरहेका हुने थियौ अनि अर्को कुरा सर तपाईले प्रचारप्रचार नपुगेर हो कि किन हो मानिसहरु कम सेवा लिन आउने भन्नुभयो यहाँ आयुर्वेद औषधी लिन आउनेमा जानेबुझेका , पढेलेखेका मानिसहरुको संख्या एकदमै राम्रो छ उहाँहरुलाई आयुर्वेदको ज्ञान भएर पनि होला खुबै आउनुहुन्छ । गाउँघरतिरका मानिसहरु यहाँ अलिकम आउने कुरालाई म पनि स्विकार गर्दछु शायद उहाँहरुले आयुर्वेदको फाईदा बेफाईदाको बारेमा नबुझेर पो हो कि वा त हामीले हाम्रो प्रोग्रामको बारेमा बुझाउन नसकेर पो हो कि किन हो गाउँघरतिरका मानिसहरुको संख्या अलि कम नै छ तैपनि बिस्तारै बढिरहेको पाएका छौ ? तर पनि दैनिक ७०/ ८० को संख्यालाई त्यति कम भन्न मिल्दैन कि ?


प्रश्नः तपाई त विभिन्न जिल्लाहरुमा कार्यालय प्रमुख भएर काम गरिसक्नुभएको मान्छे यस कार्यालय आएपछि मानिसहरुले सम्झने तपाईले पनि काम गरेको देखिने के कस्ता योजनाहरु बनाउनु भएको छ ?
सरकारले लागु गरेका कार्यक्रम त भई नै हाल्यो , हाम्रो आयुर्वेद स्वास्थ्य केन्द्रबाट पनि ३/४ बटा बिशेष कार्यक्रमहरु बनाएका थियो जस्तै हामीले कोरोना महामारीको समयमा शुद्ध जडिबुडिको सेनिटाईजर बनाएर वितरण गरेका थियौ । अहिले पनि प्रदेशबाट कोरोनाको महामारमा केहि निर्देशन र कार्यक्रम नआँउदा पनि सबै कर्मचारीहरु मिलेर कोरोना उपचार तथा नियन्त्रणमा विभिन्न कामहरु गरिरहेका छौ । हामीले ईम्युनिटी बढाउने चिया बनाएर वितरण गरिरहेका छौ । हाम्रो चुर्ण बनाउने मेसिन बिग्रेको कारणले अलिकता समस्या भएको छ नत्र यहि जिल्लाबाट चुर्ण उत्पादन गरेर नेपालभर नि शुल्क वितरण गर्ने लक्ष्यमा अलि वाधा पुगिरहेको छ त्यो पनि हामी पुरा गर्ने प्रयाशमा छौ । अर्को यहाँ पायल्स् र फिस्टुलाको लागि रामवाण उपचार क्षारसुत्र विधि चाडै शुरु गर्दैछौ । यो सेवा शुरु गर्न सक्यौ भने हामीले धेरै सेवा दिन सक्छौ भन्ने हामीले सोचिरहेका छौ । पंचकर्मको सेवा यसभन्दा अगाडि त्यति सन्तोषजनक थिएन अहिले हामीले पंचकर्मका पाँच वटै उपचार विधिबाट शुरु गरेपछि मानिसहरुको चाप पनि बढेको छ र सबैले सेवा पनि पाईरहनुभएको छ । समग्रमा नबुझ्नेहरुले मात्र हो जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहूँले के काम गर्छ र भन्ने बुझ्ने र यहाँ आउने सेवा लिनेको लागि हामीले एकदमै राम्रो सेवा प्रदान गरिरहेका छौ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्