धेरै राजाहरु भन्दा एउटै राजा ठिक भन्ने जनताले सोचिरहेका छन्: राप्रपा नेता राजेन्द्र अधिकारी

  • ख-
  • ख+

कांग्रेसको सरकारले पंचायतको पालामा विभिन्न देशहरुले सहयोग स्वरुप स्थापना गरेका उद्योग तथा कलकारखानाहरु कौडीको भाउमा बिक्री गरे पछि देशमा बेरोजगारीको बृध्दि र परनिर्भर अर्थतन्त्रको कारण देशको आर्थिक अवस्था ओह्रालो लाग्न शुरु भएको कुरालाई कसैले ईन्कार गर्न सक्दैन त्यसैले कम्युनिष्टहरुको त कुरै नगरौ यो देश बिगार्ने मुख्य शक्ति भनेकै कांग्रेस नै हो ।

प्रजातन्त्र प्राप्ति पश्चात नेपालको मुहार नै फेरिन्छ भन्ने पार्टीका नेताहरुले करिब ३० बर्षसम्म शासन गरे आज पर्यन्त गरिरहेका छन् , नेताहरुकोे ईच्छा पुरा भएपनि देश र नागरिकको चाहनामा खासै
उपलब्धी भईरहेको छैन भन्ने जताततै सुनिन थालेको छ । पंचायतकालमा निर्माण भएका कलकारखाना बिक्री वितरण गरेर खण्डहर बनाउदै युवालाई विदेश पठाउनु , नेपालीको टाउकोमा बर्षैपिच्छे विदेशी ऋण थपिनु , अलि अलि बर्षामा बाढी पहिरोको लागि सजिलो हुने गरि बाटो बनाउनु र लामो शाहवंशिय राजतन्त्रको अन्त्य बाहेक खासै यो देशमा बिकासको नाममा मानिसहरुले बोल्न पाउने स्वतन्त्रता प्राप्त भएको छ । यसरी प्रजातन्त्र पश्चात देशको मुहार नै फेर्छु भनेर लाग्ने शक्तिहरु सत्ताको लुछाचुडिमा लागिरहदा पुराना पंचायतका अनुयायीहरुको पार्टी भनिने रापूपा पनि जुट्ने, फुट्ने फेरि जुट्ने गर्दै संबैधानिक राजतन्त्र सहितको प्रजातन्त्र भन्दै मैदानमा डटिरहेको छ । उक्त पार्टीका केन्द्रिय सदस्य राजेन्द्र अधिकारीसग समसामयिक बिषयमा बारेमा कुराकानी:

प्रश्नः लामो समयको टुट्ने फुट्ने क्रम चलिरहेसगै राप्रपा एकिकरण भयो र महाधिवेशन हुन लागेको छ, महाधिवेशनलाई रातपाईले कसरी लिनुभएको छ ?

पार्टीको सांगठनिक जीवनमा महाधिवेशन एउटा जीवन्त र सांगठानिक प्रक्रिया हो तापनि पार्टीको सिपाहीको दृष्टिले मैले यसलाई एउटा उत्सबको रुपमा लिएको छु, जहाँबाट पार्टीको मात्र नभई मुलुक र जनताको भावी दिशा निर्देश हुनुका साथै पार्टीले लिएको एजेन्डालाइ थप धारिलो बन्न मद्दत पुर्याउने । अर्को तिर पार्टी भित्रको आन्तरिक मूल्यांकन पनि हो यो । किन कि, हरेक आवधिक वा बिशेष महाधिवेशनमा हरेक जिल्लाको वडा तह देखि जिल्ला तह हुँदै प्रदेश र केन्द्रीय तह सम्मको सदस्यता संख्याको नवीकरण र अवस्था, संगठन सुद्दृढिकरण, मौजादा कार्य समितिको कार्य क्षमता र दक्षता अनि पार्टी भित्र र बाहिर उसको लोकप्रियता आदि बिषयहरुमा कसी लगाउने वा मापन गर्ने माध्यम महाधिवेशन भएकोले सम्बन्धित पार्टीका सदस्यहरुलाई यो उत्सब, अवसर र चुनौती सबै हो। रह्यो, पार्टी टुट्ने फुट्ने कुरा, राप्रपा टुटफुट हुनु राप्रपाका सदस्यहरुका लागि मात्र होइन समग्र मुलुक र मुलुक वासीकै दुर्भाग्य हो, म राप्रपालाई प्रजातन्त्रको पर्यावाचीको रुपमा त लिन्न तर यो पार्टी कम्जोर भएकै कारण नेपालमा प्रजातन्त्र कम्जोर र राजनीतिक अस्थिरता भएको चाहिं भन्न सक्छु।

प्रश्नः तीनजना अध्यक्ष हुनुहुन्छ उहाँहरुको कुरा सुन्दा नेतृत्वमा बस्ने उहाँहरुको रहर मेटिएको छैन जस्तो लाग्छ, के उहाँहरुबाट नेतृत्व पुस्तान्तरण होला ?

नेतृत्व वा सक्रीय भूमिकामा बस्न रहर न गर्ने सायदै होलान, सबै राजा ज्ञानेन्द्र जस्ता त कहाँ हुन्छन र ? फेरी नेतृत्वमा बस्ने भनेको रहर मात्र न भै आवस्यकता र परिस्थितिको मागले पनि बाध्यता बनाउछ। मलाइ लाग्छ राप्रपाका अध्यक्षहरुको नेतृत्वको लागि फेरी यो पार्टीलाइ बन्धक बनाउने र नाङ्गले पसल थाप्ने काम पक्कै गर्नु हुन्न। र, आम कार्यकर्ताले पनि यस कुरामा सचेत गराएका छन् र गरिरहने छन् । जहाँसम्म पुस्तान्तरणको सवाल छ, पुस्तान्तरण र हस्तान्तरणभन्दा महत्वपूर्ण कुरा रुपान्तरण हो। यदि नेतृत्व रुपान्तरण भयो भने सबै कुरा सम्भव हुन्छ। नीति, बिचार, सिध्दान्त र आस्थाका आधारमा मात्र नेतृत्व स्थापित हुने भएकोले नेतृत्व परिवर्तनका लागि परिवर्तन, भावानात्मक, उत्तेजना जगाउने र ठट्यौली पाराले चल्दैन र जनताको भोक पनि मेटिन्न। त्यसैले नेतृत्वमा होडबाजी भन्दा पार्टीको सांगठनिक खाका, जनजीविकाको बारे स्पष्ट अवधारणा, पार्टीले लिएको एजेन्डा स्थापित गर्ने रणनीतिक कार्य योजनाका भर पर्दा आधारहरु र सामाजिक राजनैतिक उत्तरादायित्वको बारेमा आफुलाई स्पष्ट पर्नु जरुरी छ। समय, परिस्थिति अनुकुल भए, त्रय अध्यक्षको सहमति भए र कार्यकर्ताको परिवर्तनको चाहना भयो भने यो असम्भव छैन। यसका लागि बिक्रम पाण्डे, धवल शमशेर राणा र निवर्तमान माननीय राजेन्द्र लिंग्देन जस्ता दोश्रो पुस्ताका नेताहरु पार्टी हाँक्न सक्षम हुनुहुन्छ।

प्रश्नः सत्तामोहका कारण, पार्टी विभाजन हुनका कारण र आफुले उठाएका मुद्धाबाट विचलित हुनुका कारण चाडै नै सानो पार्टी बन्न पुगेको पार्टीलाई कसरी उकास्ने योजना ल्याएको छ राप्रपाले ?

तपाइंले उठान गरेका बिषयहरु सत्य हुन् तर पार्टीले आफ्नो मुद्दा छोड्यो यसबाट विचलित भयो भन्नु चाइ अलि अतियोशक्ति जस्तो लाग्छ। राप्रपा कुनै लहड, दलका लागि दल र पंचायतका अवशेषहरुको क्लब न भै यो मुलुकको आवश्यकता र माग बमोजिम स्थापना गरिएको राजनीतिक दल हो। आफुलाई महान प्रजातान्त्रिक शक्ति भनेर न थाक्ने कांग्रेसको बिकल्पमा देश, जनता र परिवर्तनलाइ आत्मासात गरि आफुलाई प्रजातान्त्रिक शक्तिमा रुपान्तरण गर्दै परिवर्तित अबस्थामा देश र जनताको बिकास र सम्बृध्दिको लागि राप्रपा मार्फत जनता समक्ष जाने बैकल्पिक प्रजातान्त्रिक शक्तिको रुपमा स्थापना भएको हो। तर यो समय, काल र परिस्थितिले एक आपसमा लड, फुट र फुटाउको स्कुलिंङ्गको अवशेष राप्रपामा पनि आएकोले यसको परिणाम स्वरुप पार्टीले आफ्नो गति लिन सकेन जसको नतिजा अहिले मुलुकले भोगी रहेको छ।

प्रश्नः देशको वर्तमान परिस्थितिलाई राप्रपाले कसरी नियालिरहेको छ ?

मलाइ लाग्छ नेपालको राजनीतिक इतिहास केलाउदा एउटा स्थापित शक्तिको रुपमा रहेको राजसंस्था दिल्लीमा गरिएको अबैधानिक १२ बुंदे सम्झौताको आधारमा आन्दोलानको मर्म, जनताको भावाना विपरित र राजासंग गरिएको सहमति बिपरित हठात मध्यरातमा गणतन्त्र र धर्मनिरपेक्ष राष्ट्रको रुपमा नेपाललाई घोषणा गरियो त्यहीं देखि देशमा अराजता, कुशासन र नीतिगत भ्रष्टाचार आदिले बैधानिकता पायो जुन नेपाल र नेपालीको लागि हानिकारक मात्रै होइन घातकसिद्ध हुदै आएको वर्तमान परिघटनाहरुबाट घाम जस्तै प्रष्टिदै आएकै छ नि। यसमा मुख्य कमजोरी नेपाली कांग्रेसको छ जस्तो लाग्छ मलाइ, परिवर्तन र प्रजातन्त्रको लागि अथक संघर्ष गर्ने तर परिवर्तनलाइ संस्थागत गर्दै देशको बिकासमा आफुलाई समाहित गर्न नसक्ने कांग्रेसको कमजोरीको कारण नै आजको प्रतिकूल परिस्थितिको बिजारोपण भयो । प्रजातन्त्र पुनर्स्थापना पश्चात कांग्रेस देशको अभिभावकीय रुपमा रही आफ्ना नेता बिपी कोइरालाको पदचापलाइ अनुशरण गर्नु पर्थ्यो तर त्यसो भएन, कांग्रेस लिक बाहिर जाँदा नेपालको राजनीतिमा कम्युनिस्ट हावी भए, प्रजातन्त्र कम्जोर भयो, कम्युनिस्टको एजेन्डामा कांग्रेस हिड्दा परम्परागत शक्तिको रुपमा रहेको राजसंस्थालाइ समेत अन्ययापूर्वक हठात् हटाईयो भने देशमा धर्म निरपेक्षतालादियो । राजनीतिमा स्थायी शत्रु हुन्न भन्ने सिध्दान्त कंग्रेसले राप्रपा नेतृत्वमा नलिदा, बिपी कोइरालाको मेलमिलाप नीति केवल सिध्दान्त र बर्षको एक पटक दिवसका रुपमा मनाउने तर ब्यबहारमा रुपान्तरण नगर्दा र माओवादीको षड्यन्त्रपूर्वकको राष्ट्रपतीय ललिपपको आशमा परि आफ्नो एजेन्डा र सिध्दान्त छोडेर कम्युनिस्टको छायाँ बने पछि कांग्रेसको ओह्रालो लाग्ने दिन शुरु भएको हो। त्यसकै परिणाम स्वरुप तेत्रो बिशाल कंग्रेस ऐले निरिह बनेको छ, सत्ताको लागि आफैले टाउकोको मूल्य तोकेको व्यक्तिलाइ हारगुहार गर्दैछ। कांग्रेसले के बुझ्नु जरुरी छ भने, सहकार्यको ३० वर्ष सम्म न देशलाइ बिकास र सम्बृध्दि दिन सक्यो न त पार्टीको साख जोगाउन सक्यो। यसबीचमा उसले सक्यो त केवल मिलेर खाना र आलोपालो सत्तारोहण गर्न, यही हो त कांग्रेसको गन्तब्य ? विश्व राजनीतिमा दुई ध्रुबको रुपमा रहेको प्रजातान्त्रिक शक्ति र वाम शक्ति नेपालमा केवल स्वार्थको लागि अंकमाल गर्नु हास्यास्पद मात्र होइन बिडम्वना पनि हो। त्यसैले कंग्रेसले आफ्नो पहिचान र साख जोगाउने हो भने व्यक्तिको स्वार्थ होइन देशको स्वार्थको लागि मार्ग परिवर्तन गर्नु पर्छ र प्रजातान्त्रिक शक्तिहरुको छाता संगठन बन्ने उदारता देखाउनु पर्छ। हिजो टाउकोको मूल्य तोक्ने र तोकिने व्यक्तिहरु व्यक्तिगत स्वार्थको लागि घांटी जोड्न सक्छन भने बीपीको पदचाप अनुशरण गर्दै देश बिकास र प्रणालीको बिकासको लागि समान विचारका बीच कार्यगत एकता गर्न सक्दैन ?
अर्को तर्फ ४५/०४६ सम्म आन्तरिक शक्ति संघर्षमा सिमित भएका दलहरु त्यस पछिका दिनहरुमा आफ्नो देशको स्थापित मौलिक, मूल्य, मान्यता र परम्परागत शक्तिको रुपमा रहेको संस्थाको विरुध्द केही दलहरु भद्दा र अमर्यादित रुपमा प्रस्तुत हुन थाले। र, बिदेशी शक्तिको चरण परि हारगुहार मागी आफ्नै सार्वभौमसत्ता र स्वतन्त्रता माथि धावा बाल्न थाले र देशकै संरचनागत अस्तित्व समाप्त पार्ने ध्वंसात्मक बाटो तिर उन्मुख भए, यसका लागि देशमा भएको साधन श्रोतको समेत दुरुपयोग गरि सम्झौता गर्न पछि परेनन्। जसको उदाहरण टनकपुर, सुस्ता, नागरिकता र चुरेसम्म आइपुगेको छ।

देशमा भएका यी एकपछि अर्को चरम देशद्रोही कार्यको बारे सबै नेपाली नागरिक अनभिज्ञ छैनन्, यसको अगुवाइको पर्खाइमा मात्र छन् । यो कार्यको लागि राप्रपा चुक्नु हुन्न जस्तो लाग्छ मलाइ। यसको विरुध्दमा सबै पार्टी भित्र रहेका राष्ट्रवादीहरु उठ्नुपर्छ अब उठिएन भने भावी पुस्ताको लागि नेपाल देश मानचित्रमा सिमित हुने छ।

प्रश्नः २०४७ सालदेखि अहिलेसम्म आउदाको परिवर्तन र बिकास निर्माणलाई कसरी हेर्नुभएको छ ?

बिकासका कुरा गर्दा प्रजातन्त्र पुनर्स्थापना पश्चात उदार आर्थिक नीतिको नाममा तत्कालीन कांग्रेसको सरकारले पंचायतको पालामा विभिन्न देशहरुले सहयोग स्वरुप स्थापना गरेका उद्योग तथा कलकारखानाहरु कौडीको भाउमा बिक्री गरे पछि देशमा बेरोजगारीको बृध्दि र परनिर्भर अर्थतन्त्रको कारण देशको आर्थिक अवस्था ओह्रालो लाग्न शुरु भयो । र, हरेक चिजको लागि परनिर्भर बन्न बाध्य हुनु पर्यो जुन यध्यवधि छ। तुलानात्मक रुपमा तत्कालीन नेपाली कांग्रेसको सरकारले धानेर राखेको अर्थतन्त्र आफुलाई कम्युनिस्ट भन्ने एमालेको सरकार गठन पछि भोटको नाममा देशको ढुकुटी रित्तिने गरि पैसा बाँड्ने चलनको शुरुवात भयो।

राजनीतिक अस्थिरता, संस्थागत भ्रष्टाचार, कम्जोर सरकार, माओवादी द्वन्द र संसद बिघटन र मध्यावधि निर्वाचन आदिको कारण देशमा राजनीतिक र प्रशासनिक अस्थिरता उत्पन्न भयो र यसै बीचमा कांग्रेस र कम्युनिस्टबीचमा सत्ता र पैसा बाँडेर खाने प्रचलन शुरु भयो। जब ६३ मा माओवादी सरकारमा सहभागी भए, उनीहरु राज्य सत्तामा आए पछि सत्तामा जो जान्छ उसले लुटेर खाने प्रवित्तिको बिकास भयो। किन कि, माओवादीको १२ वर्ष जङ्गलको स्कुलिङ्ग नै लुटेर खाने थियो, त्यो उनीहरुले अरुलाई सिकाए अरुले त्यही सिके । न कि, अरुले माओवादीलाई राज्यसत्ता लुट्नबाट रोक्न सके उल्टो उनीहरुबाट लुट्न सिके। लूटको यो शृंखला पार्टी हुदै सिमित गूट र व्यक्तिसम्म आइपुग्दाको परिणाम हो, यो दुई तिहाइ नजिक रहेको कम्युनिस्टको हविगत।

प्रश्नः अन्तिम प्रश्न तपाइँ एउटा राजावादी एजेण्डा बोकेको पार्टीको नेता तर कांग्रेसले नेतृत्व गरेको व्यास नगरपालिकामा सल्लाहकार हुनुहुन्छ, सल्लाहकारको रुपमा रहंदा तपाइको भूमिका कसरी निभाईरहनुभएको छ ?

पहिलो कुरा नगर प्रमुखज्यू र म बीच औपचारिक भेटघाट र चिनजान भएको म नगरपालिकामा नियुक्ति हुन अघि मात्र हो, मैले उहाँको बारेमा धेरै सुनेको तर भेटेको र चिनेको चाँही थिईन। संयोगबस भेट्ने, चिन्ने र काम गर्ने अवसर मिल्यो यसको लागि म उहाँ प्रति कृतज्ञ छु। राजनीतिक दृष्टिले हेरेको भए सायद बैकुण्ठजीले मलाई नियुक्ति गर्नु हुने थिएन र म पनि बस्ने थिईन होला। र, यो नियुक्ति मेरो लागि कुनै फाइदा र स्वार्थको लागि छैन, भलै एउटा विद्वान र फरक राजनीतिक धारको व्यक्तिसंग काम गर्ने अवसर पाएं यही नै मेरो लागि एउटा अवसर पनि हो । अर्को मुख्य कुरा यो मेरो आफ्नो नगरपालिका भएको र म यहींको स्थानीयवासी भएको कारण मैले आफ़ुले सकेको सहयोग गर्न राजनीतिक रङ्ग दिनु हुन्न भन्ने लाग्छ। अर्कोतिर मैले उहाँ (बैकुण्ठजी) को कुनै प्रसंशा गरेको होइन तर मैले उहाँको बारे जे सुनेको थिए त्योभन्दा नितान्त फरक पाए, उहाँ राजनीतिक प्राणी मात्र नभै एउटा राम्रो कूटनीतिक मान्छे पनि हुनुहुदोरहेछ । नगरपालिकाको बिकास निर्माण र अन्य काममा उहाँले राजनीतिक दृष्टिकोण भन्दा एउटा अभिभावकीय रुपमा सन्तुलित भूमिका निर्वाह गरेको पाएको छु। मेरो बिचारमा पनि राजनीतिक प्रतिस्पर्धा गर्ने चुनावको बेलामात्र हो, त्यसपछि सबै बिचार र सिध्दान्तको समिश्रण गरि आफ्नो क्षेत्रको बिकास र स्थानीयबासीको समृध्दीको लागि आफ्नो विज्ञताको प्रयोग गर्नु हाम्रो नैतिक दायित्व हो। किन कि, हामी यही माटोमा खेल्यौं, हुर्क्यों र यहींका खोला कुवाको पानी खाएर आज जो जुन ठाँउमा छौं त्यो सबै देन यही ठाउँको हो र यही ठाउँका मानिसको प्रेरणा र हौसला पनि हो। यस उसले आफुले सकिन्छ भने आफ्नो ठाउँको मुहार फेर्न सकेको सहयोग गर्नु आफ्नो नैतिक धर्म ठान्नु पर्छ जस्तो लागेर व्यास नगरको लागि पनि काम गरिरहेको छु ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्