अभिनेता राजेश हमालको नृत्य रहेको लोकदोहोरी गीत ‘मञ्जरी’को म्यूजिक भिडियोलाई दर्शक÷स्रोताले रुचाएका छन्।
युट्युबमा सार्वजनिक भएको चार दिनमै गीतको भ्यूज आठ लाख नाघेको छ।
गीतको भिडियोमा अभिनेता हमालसँगै अभिनेत्री वर्षा सिवाकोटी र गायक÷मोडल प्रकाश सपूतको नृत्य÷अभिनय छ।
गायक प्रकाश पराजुली र गायिका देवी घर्तीको स्वर रहेको गीत सोमबार युट्युबमार्फत सार्वजनिक भएको थियो।
गीतमा सर्जक नवराज पन्तको शब्द र गायक पराजुलीकै सङ्गीत रहेको छ।
बागलुङ घर भई हाल अमेरिकामा रहेका सर्जक पन्तले रचेको लोकदोहोरी गीत ‘सालको पातको टपरी’ पनि सर्वाधिक चर्चित बनेको थियो ।
“मञ्जरीको पनि राम्रो प्रतिक्रिया आएको छ, युट्युबको भ्यूज, कमेन्ट, लाइक हेर्दा हामी उत्साहित छौँ”, सर्जक पन्तले भने।
गीतको भिडियो निर्देशन देबेन्द्र बब्लुले गरेका छन। निर्देशक बब्लु गायक÷मोडल प्रकाश सपूतका भाइ हुनुहुन्छ ।
गीतको उत्पादक बागलुङकै प्रकाश जिसी हुन। उनी पनि अहिले अमेरिकामा बस्छन्।
गीतमा पाँच लाखबढी लगानी भएको जनाइएको छ। गायिका घर्ती, मोडल सपूत र निर्देशक बब्लुको पनि जन्मथलो बागलुङ हो। गायक पराजुली भने स्याङ्जाका हुन।
गीतले माया÷प्रेमको विषय उठान गरेको छ । केटा र केटी पक्षको रमाइलो सवालजवाफ छ।
साँस्कृतिक कार्यक्रममा विशेष अतिथिका रुपमा आमन्त्रित अभिनेता हमाल छमछमी नाचेको दृश्य भिडियोमा हेर्दा रोचक लाग्छ।








