मौसमी कामदार विदेश पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत, निःशुल्क जान पाइने

  • ख-
  • ख+

वैदेशिक रोजगारमा मौसमी कामदार (सिजनल वर्कर) पठाउनेसम्बन्धी कार्यविधि स्वीकृत भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त कार्यविधि स्वीकृत गरेको हो । कार्यविधि स्वीकृत भएसँगै नेपाली कामदारलाई सिजनल वर्करको रूपमा वैदेशिक रोजगारीमा पठाउने बाटो खुलेको छ ।

यसअघि व्यक्तिगत रूपमा विभिन्न देशमा सिजनल वर्करको रूपमा नेपालीहरू जाने गरेका थिए । कार्यविधि नहुँदा सरकार त्यो विषयमा मौन बसेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बनाएको कार्यविधि मन्त्रिपरिषद् बैठकले पारित गरेसँगै नेपालबाट वैधानिक रूपमा नै सिजनल वर्कर जान पाउने भएका छन् ।

मन्त्रालयका सहसचिव राजिव पोखरेलले कार्यविधि स्वीकृति भएसँगै सिजनल वर्करको रूपमा नेपाली कामदारलाई पठाउन बाटो खुलेको बताए । बेलायत, दक्षिण कोरिया, क्यानडा लगायतका देशबाट सिजनल वर्करको माग आइरहेको छ । कार्यविधि नहुँदा माग अनुसार नेपाली कामदार पठाउन समस्या भइरहेको थियो ।

कसरी अगाडि बढ्छ प्रक्रिया ?

सबैभन्दा पहिला नेपालका स्थानीय पालिका र सम्बन्धित देशका स्थानीय पालिकाबीच भगिनी सम्बन्ध कायम हुन्छ । त्यही आधारमा उनीहरू उक्त पालिकाबाट नेपाली कामदार लिन चाहन्छन् । सोही आधारमा उनीहरूले कामदारको डिमाण्ड गर्छन् । उनीहरूले डिमाण्ड दूतावासमार्फत आउने भयो । त्यसपछि उक्त डिमाण्ड दूतावासले प्रमाणीकरण गर्छ । प्रमाणीकरण गरेपछि दूतावासले वैदेशिक रोजगार विभागमा पठाउँछ ।

विभागले डिमाण्डबारे एकमुष्ट सूचना प्रकाशित गर्नेछ । र पालिकाको नाममा पठाउनेछ । त्यसरी डिमाण्ड पठाएको आधारमा स्थानीय पालिकाले कामदार छनौट गर्नेछन् । कामदार छनौट गर्दा अपनाउनुपर्ने मापदण्ड मन्त्रालयले तोके अनुसार हुनेछ ।

पालिकाले उक्त मापदण्डमा टेकेर छनौट गरेका कामदारहरूलाई भिसा उपलब्ध गराउन सहिजकरण गरिदिन भन्दै विभागलाई पठाउनेछन् ।​ पालिकाबाट आएको कामदारको विवरण अनुसार भिसाका लागि भनेर विभागले दूतावासमा पठाउनेछ । र त्यसपछि दूतावासले तीन महिनादेखि ६ महिनासम्मको लागि कामदारलाई कामदार भिसा जारी गर्नेछ ।

यसअघि पनि विभिन्न मुलुकमा नेपाली कामदार मौसमी कामदारको रूपमा जाने गरेका थिए । पछिल्लो समय विशेषगरी बेलायतमा धेरै नेपाली सिजनल वर्करको रूपमा जाने गरेका छन् । त्यस्तै दक्षिण कोरियाले समेत सिजनल वर्करको डिमाण्ड गर्दै आएको छ । ईपीएस मार्फत ५ वर्षका लागि कामदार लगिरहेको कोरियाले सिजनल भिसा मार्फत पनि छोटो अवधिका नेपाली कामदार माग गर्दै आएको छ । कार्यविधि नहुँदा सरकारले पठाउन सकेको थिएन ।

भगिनी सम्बन्धन कायम भएका केही पालिकाले भने आफ्नै पहलमा सिजनल वर्कर कोरिया पठाउदै आएका थिए । संघीय सरकारले हस्तक्षेप गरेपछि स्थानीय पालिकाले सिजनल वर्कर पठाउन बन्द गरेका थिए । तर अझै पनि पालिकाको सहभागिताबीनै नेपाली कामदारहरू व्यक्तिगत श्रम स्वीकृति लिएर सिजलन वर्करको रूपमा कोरिया, यूके लगायतका देश गइरहेका छन् ।

जसका लागि श्रम मन्त्रालयले भने स्वीकृति दिएको थिएन् । अबदेखि भने श्रम स्वीकृत लिएरै वैधानिक रूपमा सर्ट टाइमको लागि कामदार जान पाउने पोखरेलले बताए । त्यसरी जाने कामदारले एक पैसा पनि तिर्नुपर्दैन । बेलायतमा सिजनल वर्करको माग बढ्दो छ । कोरोना महामारीपछि धेरै देशहरूमा श्रमिकको अभाव देखिन थालेको छ । त्यसलाई परिपुर्ति गर्नको लागि सिजनल वर्कर माग गर्दै आएका छन् । यूकेले फलफुल गोडमेल गर्ने, टिप्ने लगायतका कामका लागि विश्वभरबाट सिजनल वर्कर माग गर्दै आएको छ ।

नेपालबाट पनि धेरै कामदार गएका छन् । जुन क्रम निरन्तर चलिरहेको छ । हालसम्म २ हजार भन्दा बढी नेपाली यूके पुगिसकेका छन् । उनीहरू कुनै दलाल तथा एजेण्टलाई लाखौं रूपैयाँ तिरेर जान बाध्य भइरहेका छन् ।

सरकारले कार्यविधि स्वीकृत गरेसँगै त्यसरी ठगिने क्रम समेत रोकिने मन्त्रालयले विश्वास लिएको छ । छोटो अवधिमा राम्रो आम्दानी गर्न सकिने र लामो समय वैदेशिक रोजगारीमा रहँदा देखिने विभिन्न खालका समस्या समेत कम गर्न सकिने मन्त्रालयले विश्वास लिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्