बेसीशहरमा आयोजित विज्ञान प्रदर्शनीमा सुन्दरबजारको विद्याज्योती मा.वि. खहरे प्रथम

सर्वज्योति
  • ख-
  • ख+

२९ माघ । बेशीशहर । लमजुङमा आयोजित जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा सुन्दरबजारस्थित विद्याज्योती माविले प्रथम स्थान हासिल गरेको छ । विज्ञान शिक्षक समाज नेपाल र निवृत्त शिक्षक समाज दोर्दीले संयुक्त रुपमा बेसीशहर–२ बालकल्यण माविमा प्रतियोगितात्मक विज्ञान प्रदर्शनी आयोजना गरेको हो ।

कूल २१ वटा विद्यालयको सहभागीता रहेको विज्ञान प्रदर्शनीमा सुन्दरबजारकै आदर्श बाल माध्यमिक विद्यालय दोश्रो भएको छ । प्रतियोगितामा बेसीशहरको ल्याण्डस्टार बोर्डिङ स्कूल तेश्रो र बालकल्यण मावि भकुण्डेले सान्त्वना पुरस्कार प्राप्त गरेको विज्ञान शिक्षक समाज नेपाल लमजुङका अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिनुभयो ।

विज्ञान प्रदर्शनीमा प्रथम हुनेलाई नगद पुरस्कार १५ हजार, द्वितीय पुरस्कार १३ हजार, तृतीय पुरस्कार ११ हजार, सान्त्वना पुरस्कार पाँच हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

बेसीशहर नगरपालिका प्रमुख गुमानसिँह अर्यालको प्रमुख आतिथ्यतामा औपचारिक कार्यक्रम गरी प्रतियोगितात्मक प्रदर्शनी उद्घाटन भएको हो । कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख अर्यालले समय सापेक्ष गरिने विज्ञान प्रदर्शनीले विद्यार्थीमा हौसला र प्रेरणा दिने बताउनुभयो । नगरप्रमुख अर्यालले अहिलेको युग विज्ञान र सूचनाको युग भएकोले यस क्षेत्रमा दक्षता हासिल गरेमा हरेक विद्यार्थीको जिवनमा परिवर्तन आउने बताउनुभयो ।

विज्ञान शिक्षक समाज नेपाल लमजुङका अध्यक्ष विष्णु प्रसाद बरालको अध्यक्षतामा भएको कार्यक्रममा निवृत्त शिक्षक समाज केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष तोयनाथ बराल, केन्द्रीय सदस्य अंगराज घिमिरे, बेसीशहर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मदन राना, निवृत्त शिक्षक समाज दोर्दीका अध्यक्ष मानबहादुर विक लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

साभारः मर्स्याङदी समाचार

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्