पोखरा, ९ फागुन । पोखरा कलेज अफ म्यानेजमेन्टले स्नातक तहमा दीक्षित विद्यार्थीहरुको ग्राजुएसन समारोह सम्पन्न गरेको छ । शनिवार पोखरामा आयोजित समारोहमा बिबिए र बिसिएसआइटी विषयका ६५ जना दिक्षीत विद्यार्थीलाई कलेजले सम्मान गरेको हो ।
समारोहमा स्नातक तहमा दिक्षित विद्यार्थीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । त्यस अवसरमा पोखरा विश्वविद्यालयको डिन लिष्टमा पर्न सफल ९ जना उत्कृष्ट अंक प्राप्त गरेका विद्यार्थीलाई विशेष सम्मान गरिएको थियो । डिन लिस्टका विद्यार्थीहरू बीबीएका अञ्जली पौडेल, आयुषा श्रेष्ठ, नम्रता दाहाल, अस्मिता नेपाली, सचिन कुमार राम, प्रतीक श्रेष्ठ, सम्राट गुरुङ, दिया भारी र बिसिएसआइटीका निश्चिता श्रेष्ठलाई विशेष सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. ज्ञानेश्वर शर्माले विद्यार्थीले प्रतिष्पर्धात्मक अहिलेको समयमा आफूलाई अब्बल रुपमा प्रस्तुत गर्नुपर्ने दायित्व रहेको बताए । व्यवसायिक र सामाजिक रुपमा आफूलाई समर्पित गर्न उनले विद्यार्थीहरुलाई आग्रह गरे । पोखरा कलेज अफ म्यानेजमेन्ट यस क्षेत्रको महत्वपूर्ण शैक्षिक संस्थाको रुपमा अगाडि बढेको भन्दै उनले गुणस्तरीय शिक्षाको निरन्तरतामा योगदान दिने विश्वास व्यक्त गरे ।
कलेज संचालक समितिका अध्यक्ष तथा ग्राजुएसन समारोहका सभाध्यक्ष विनोद कायस्थले स्थापनाकालदेखि नै संस्थाले गुणस्तरीय र नैतिक शिक्षामा जोड दिएको बताए । उनले दिक्षित विद्यार्थीहरुलाई आगामी दिनमा आत्मविश्वासका साथ अगाडि बढ्न र ठूला सपना देख्नका लागि शुभकामना दिए ।
कलेजकी प्रिन्सिपल लिना नेगी श्रेष्ठले गुणस्तरीय शिक्षा, नैतिकमूल्य, व्यवहारिक ज्ञान र नेतृत्व विकासलाई कलेज स्थापनाकालदेखि नै प्राथमिकता दिँदै आएको बताइन् । व्यवहारिक शिक्षा दिने प्रतिवद्धताका कारण कलेजले हरेक वर्ष उल्लेखनीय शैक्षिक नतिजा हासिल गरेको उनको भनाइ थियो ।
कलेज संचालक समितिका सदस्य समिर शर्माले जटिल बन्दै गइरहेको अहिलेको बदलिँदो संसारमा विद्यार्थीहरुले सिकाइलाई निरन्तरता दिइरहन पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा कलेजका बिसिएसआइटी कार्यक्रम संयोजक इ.हरिप्रसाद बराल, प्राध्यापक शशीधर बराल, दिक्षित विद्यार्थीको तर्फबाट अञ्जली पौडेलले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन उपप्राध्यापक दीपेन्द्र पहारीले गरेका थिए । कलेज संचालक समितिका निर्वतमान अध्यक्ष तथा सल्लाहकार प्रा. डा. टंकनाथ शर्मा तिमिल्सिना र संचालक समितिका सदस्य शुरेश प्रकाश चटौतको विशेष उपस्थिति रहेको समारोहमा प्राध्यापक, कर्मचारी र दिक्षीत विद्यार्थीका अभिभावकको सहभागिता रहेको थियो ।
विगत पच्चीस वर्षदेखि पोखरा विश्वविद्यालयको सम्बन्धनमा व्यवस्थापनमा स्नातक (बीबीए), वित्तमा स्नातक (बीबीए–फाइनान्स) र सूचना प्रविधिमा स्नातक (बिसिएसआइटी) कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
पोखरा नदीपुरमा रहेको कलेजमा बिहानी र दिवा सत्रमा गरी हाल ५ सय ५० विद्यार्थीहरु अध्ययनरत छन् । कलेजले वार्षिक कार्यक्रम अन्तर्गत पीसीएम फेष्ट, आइडिया पिच प्रतियोगिता, जब फेयर, पत्रकार सम्मेलन अभ्यास र शैक्षिक भ्रमण लगायतका कार्यक्रमहरु गर्दै आइरहेको जनाएको छ ।








