बाराही मावि पोखराका पूर्वविद्यार्थीले गरे शिक्षकहरुको सम्मान

सर्वज्योति
  • ख-
  • ख+

पोखरा, १७ फागुन । पोखरा मालेपाटनमा रहेको श्री बाराही माविका पूर्वविद्यार्थीले शिक्षकहरुको सम्मान गरेका छन् । वि.सं. २०३६ सालमा एसएलसी दिएका पूर्वविद्यार्थीको समूह (एसएलसी समूह २०३६) ले आफूलाई अध्यापन गराउने शिक्षकहरुको सम्मानमा सो कार्यक्रम आयोजना गरेका हुन् ।

विद्यालय परिसरमा आइतबार आयोजित सम्मान कार्यक्रमको उद्घाटन पूर्वविद्यार्थी समूहका अगुवा कपिलनाथ कोइरालाले गरेका थिए । सो अवसरमा बोल्दै पूर्वविद्यार्थी कोइरालाले वैदिक संस्कृतिको अनुयायी भएको नाताले शिक्षकहरुको सम्मान गर्नु आफ्नो कर्तव्य भएको बताए । शिक्षकहरुले दिएको शिक्षाका कारणले जीवनमा अगाडि बढ्न प्रेरणा मिलेको उनको भनाइ थियो ।

कार्यक्रममा सम्मानितहरुको तर्फबाट मन्तव्य राख्दै पूर्वशिक्षक हेरम्बप्रसाद कोइरालाले तत्कालिन समयमा बाराही माविले यस क्षेत्रको शिक्षाको विकासमा गरेको योगदानको चर्चा गरेका थिए । उनले समाजको विभिन्न क्षेत्रमा क्रियाशील रहेका पूर्वविद्यार्थीहरुले आफ्ना शिक्षकहरुलाई सम्झेर सम्मान गर्दा भावुक बनेको बताए ।

कार्यक्रममा बाराही माविका पूर्वशिक्षकहरु हेरम्वप्रसाद कोइराला, बालकृष्ण अधिकारी, शिवप्रसाद अधिकारी, लक्ष्मीप्रसाद बराल, शोभा प्रधान र टिका हमाललाई सम्मान गरिएको थियो । एसएलसी समूह २०३६ का पूर्वविद्यार्थीहरुले टिका, माला र दोसल्ला ओढाएर शिक्षकहरुको सम्मान गरेका थिए ।

सो अवसरमा शिक्षकहरुलाई मायाको चिनो र प्रशंसा पत्र प्रदान गरिएको थियो । हाल बुटवलमा रहेका पूर्वशिक्षक हमाल भने पारिवारिक कारणले कार्यक्रममा उपस्थित हुन नसकेकाे बताइएकाे थियाे ।

कार्यक्रममा पूर्वविद्यार्थीहरु कृष्णकुमारी पहारी, राजेन्द्र लिगल, प्रेम गिरी, बाराही माविका प्रधानाध्यापक शिवप्रसाद भण्डारीले पनि मन्तव्य राखेका थिए । सम्मान कार्यक्रमका संयोजक पूर्वविद्यार्थी पुष्पराज बरालको सभापतित्वमा भएको कार्यक्रमको संचालन पूर्वविद्यार्थी केदारनाथ बरालले गरेका थिए ।

सो कार्यक्रममा एसएलसी समूह २०३६ का पूर्वविद्यार्थीहरु तथा बाराही माविमा हाल अध्ययनरत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?