अफ्रिकन स्वाइन फिभरले गण्डकी प्रदेशमा ५० करोडभन्दा बढीको क्षति

सर्वज्योति
  • ख-
  • ख+

पोखरा । अफ्रिकन स्वाइन फिभर गण्डकीमा फेरि फैलिएको छ । अघिल्लो वर्ष केही महिना देखिएर नियन्त्रणमा आएको यो रोग फेरि फैलिन थालेको हो ।

कास्की, तनहुँ, लमजुङ, नवलपुर र गोरखा लगायतका जिल्लामा यो रोग देखिन थालेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । गण्डकी प्रदेशमा हालसम्म झण्डै १७ हजार बङ्गुर स्वाइन फिभरकै कारण मरेको तथ्याङ्क छ । तर तथ्याङ्कमा उल्लेखित संख्याभन्दा बढी नै मरेको हुन सक्ने अनुमान गरिएको छ ।

२०७९ साउन अन्तिमदेखि हालसम्म १६ हजार ५ सय ४५ बङ्गुर मरेको निर्देशनालयले जनाएको छ । त्यसमध्ये कास्कीमा मात्रै १५ हजार ३ सय ३८ वटा मरेका छन् ।

केही फार्म बाहेक सबैतिर रोग फैलिएको निर्देशक प्रेरणा सेढाईंले जानकारी दिइन् । शरीरमा निलो धब्बा देखिने, छेर्ने, बान्ता गर्ने, झुम्मिएर एकै ठाउँमा बस्ने, तुहिने जस्ता समस्या देखिएपछि परीक्षण गर्दा पुनः फिभर पुष्टि भएको उनको भनाइ छ ।

रोग लागेका बङ्गुरजन्य वस्तुहरु र होटलबाट जम्मा गरिएका जुठो खानाका कारण रोग बढी फैलिएको उनले सुनाइन् । ‘रोगी सुँगुर, बङ्गुर, जङ्गली बँदेलसँगको सम्पर्कबाट रोग सरेका छन् । होटल र भोजभतेरबाट ल्याइएका जुठो खानाले पनि सङ्क्रमण तीव्र भएको छ,’ उनले भनिन्, ‘गण्डकीमा निकै ठूलो क्षति भयो । क्षति हुने क्रम रोकिएको छैन ।’

फिभरका कारण किसानको ५० करोडभन्दा बढी क्षति भएको अनुमान गरिएको छ । ‘यो रकम बङ्गुरको मात्रै हो । कतिपय फार्म नै रित्तो भएका छन् । बाँकी रहेका पनि अहिले मर्ने क्रम सुरु भएको छ,’ सेढाईं अघि भन्छिन् ।

दोस्रो ‘आउटब्रेक’पछि कास्कीमा ५५, तनहुँमा ३०, लमजुङमा १४, गोरखामा १३ वटा गरी १ सय १२ वटा बङ्गुर मरेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख शम्भुराज पाण्डेले अहिले किसानका फार्ममा बङ्गुर नै नरहेको बताए ।

‘यसपालि हेर्दा क्षति कम छ । रोग नभएर होइन, बङ्गुर नै नभएर हो,’ उनले भने, ‘रोग फैलिनुअघि कास्कीमा मात्रै ५० हजार हाराहारी बङ्गुर थिए । अहिले ५ हजार पनि छैनन् ।’

यो रोग नियन्त्रणको कुनै उपाय नभएको विज्ञहरु बताउँछन् । ‘खोप बाहेक यसको अरु उपचार छैन । रोग लागेपछि मर्ने नै हो,’ पाण्डेले भने, ‘अहिले किसानको मनोबल गिरेको छ । उनीहरूलाई पुनः स्थापना गराउन कम्मर कसेर लागेका छौँ । तर नियन्त्रणमा नआउँदासम्म लगानी गर्न सकिएन ।’

वरिष्ठ पशु विकास अधिकृत बालकुमार श्रेष्ठले बङ्गुर मरेका किसानलाई पुनःस्थापनाका लागि प्रति पाठा ४ हजार दिने गरी कार्यक्रम बनाइएको बताए । खासगरी कास्की, तनहुँ, गोरखा, नवलपुर लगायत जिल्लामा बङ्गुर पालन बढी छ । ‘रोग लागेपछि बङ्गुर मर्ने दर शत प्रतिशत छ । भ्याक्सिनले पनि काम गरेन,’ उनी भन्छन्, ‘बिउ बाहेक सबै सिध्याउनुपर्ने अवस्था छ । अब त बिउ पनि नपाइने हो कि भन्ने डर भइसक्यो ।’

आजभोलि बङ्गुर पालन र उपभोग बढ्दो छ । राम्रोसँग पकाएर मासु खाँदा मान्छेमा भने स्वाइन फिभर नसर्ने विज्ञहरुले बताएका छन् ।

कृषि तथा भूमि व्यवस्था मन्त्रालयका सचिव टेकप्रसाद प्रसाईंले रोगका कारण मरेका बङ्गुरको क्षतिपूर्ति दिएर किसानलाई पुनः व्यवसायमा फर्काउने प्रतिबद्धता जनाए । ‘किसानलाई बङ्गुरपालनमा फर्काउन हामी लागिरहेका छौँ । बिउ पुँजी पनि राखिएको छ,’ उनले भने, ‘तर लगानी गर्ने उपयुक्त समय मिलेको छैन ।’

पशु प्राविधिक सुरेशकुमार श्रेष्ठले क्षति कम गर्न फार्मको नियमित अनुगमन गर्ने र किसानलाई सचेत बनाइएको बताए । बङ्गुरको संख्या घटाउन आग्रह गर्ने र डिस्पोजको उपाय सिकाइएको उनको भनाइ छ ।

साभारः रातोपाटी

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्